शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अपराधको राजनीतीकरणका नमुना कोइरी

मङ्गलबार, २६ मङ्सिर २०८०, १२ : ०२
मङ्गलबार, २६ मङ्सिर २०८०

सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई महोत्तरीमा जसरी मारियो, त्यसले देशको सुरक्षा र न्याय प्रणालीलाई गिज्याइरहेको छ । आफ्नो कर्तव्य निर्वाह गर्ने सिलसिलामा प्रहरीकै अधिकारी यसरी राजनीतिक रङमा मारिन्छन् भने सर्वसाधारणको हालत के होला ? 

भारतीय नाकाबन्दीका बेला महोत्तरीको जलेश्वरमा भएको मधेसवादी पार्टीको प्रदर्शनलाई त्यस क्षेत्रका हस्ती लक्ष्मी महतो कोइरीले नेतृत्व गरेका थिए । उक्त प्रदर्शनमा सुरक्षा व्यवस्थाका लागि सशस्त्र प्रहरीसमेत परिचालित हुनुपरेको थियो । 

२०७२ भदौ २५ को प्रदर्शनले अराजकताको हद नाघेपछि पनि प्रशासनले संयमता अपनाउन आग्रह गरेको थियो । तर संयम हुनुको सट्टा तिनले प्रहरी अधिकारी विककै हत्या गरिदिए । 

यस्ता आन्दोलनमा भैपरी आउने नमिठा घटना आन्दोलनका अकल्पनीय तीता पक्ष हुन् । सत्ता निरन्तरताका लागि सत्ताले थोपर्ने त्यस्तो परिस्थिति हामीले भोगिआएकै हौँ । माओवादी सशस्त्र युद्ध होस् वा ठुल्ठुला ऐतिहासिक जनआन्दोलन त्यसको जिम्मा त्यसपछिको परिवर्तित राजनीतिले लिएकै छ । लिन नमिल्ने जिम्मेवारीलाई आयोग बनाएर सुल्झाएको छ । सुल्झाउने चरणमा छ । 

तर थमन विक हत्याकाण्ड त्यस्तो होइन । भारतले नाकाबन्दी गर्दा र नेपाली जनताले त्यसलाई सामना गर्दा पनि मधेसीको आन्दोलन अधिकारलाई लोकतान्त्रिक नेपालले, लोकतान्त्रिक जनताले सहन गरेकै हुन् । सिमानामा औपचारिक थुप्रिएर ‘हामीले सामान रोक्यौँ’ भन्ने भ्रममा मधेसी नेताले उपयोग गरेका सोझासीधा जनता थिए, अरू थिएनन् । त्यो ऐतिहासिक सङ्घीय गणतान्त्रिक संविधानविरुद्ध भारत खुसी थिएन । जानेर वा नजानेर हाम्रा मधेसी नेता त्यसमा प्रयोग भए । 

दुःखद कुरा त्यही आन्दोलनमा भएको अपराधको राजनीतीकरणका गरियो । त्यसपछिका घटनामा पनि लक्ष्मी कोइरी प्रवृत्तिको विकास हुँदै गएको छ । त्यस प्रवृत्तिले स्वर्णिम भविष्य भएका एक प्रहरी अधिकारीको ज्यान लिएको मात्रै छैन, मधेस आन्दोलनको अपरिहार्यतालाई समेत भ्रष्टीकरण गरेको छ ।

तर कोइरीले नेतृत्व गरेको जलेश्वरको प्रदर्शनले भने सिङ्गो देश र सम्पूर्ण मधेसले कहिल्यै बिर्सन नसक्ने अपराध दिएर गयो । हो, मधेसको अधिकारका दृष्टिले २०७२ को संविधान पूर्ण थिएन । तत्कालीन राजनीतिक सन्तुलन त्यस पक्षमा हुन सकेन । कुनै पनि सङ्घीय गणतान्त्रिकहरू त्यसलाई पूर्ण गर्ने पक्षमा आज पनि छँदै छन् । संविधानले नै समाजवाद सन्निकट हुने भनेपछि त्यसमा हुने, हुनसक्ने संशोधन संविधान स्वयंले स्विकारेकै छ । संशोधनका लागि परिवर्तनकारी राजनीतिक सन्तुलन चाहिन्छ । हाम्रा मधेसी नेताहरू त्यो सन्तुलन निर्माणमा लाग्ने कि भारतको स्वार्थ– असन्तुष्टिको मोहोरा बन्ने ? सुखद कुरा, अर्थहीन नाकाबन्दी यत्तिकै तुहिएपछि मधेसी नेताले पनि त्यो महसुस गरेकै छन् । त्यसपछिका हरेक सत्ता सन्तुलनमा उनीहरूको हिस्सा एवं उपस्थितिले आम मधेसी समुदायलाई त्यो महसुस भएको छ । 

तर दुःखद कुरा त्यही आन्दोलनमा भएको अपराधको राजनीतीकरणका गरियो । त्यसपछिका घटनामा पनि लक्ष्मी कोइरी प्रवृत्तिको विकास हुँदै गएको छ । त्यस प्रवृत्तिले स्वर्णिम भविष्य भएका एक प्रहरी अधिकारीको ज्यान लिएको मात्रै छैन, मधेस आन्दोलनको अपरिहार्यतालाई समेत भ्रष्टीकरण गरेको छ । उपेन्द्र यादवले नेता बनाएका कोइरी उनलाई लात हानेर एमालेमा फड्किएका छन् । फड्किएका मात्र होइनन् महोत्तरी–१ बाट सांसदसमेत भए । 

सामन्त धरातलका कोइरीले जिल्ला अदालत महोत्तरीलाई प्रभावमा पारेका थिए भने पनि उच्च अदालत जनकपुरले उनलाई २०७७ सालमै थमन विक हत्यामा थुनामा राख्न आदेश दिएको थियो । मुद्दा जिल्ला अदालतमै अन्तिम सुनुवाइको क्रममा छ । तर अदालत र प्रशासनले त्यो कार्यान्वयन गर्न त सकेनन् नै, एमाले अध्यक्ष केपी ओलीले उनलाई सांसदको टिकट नै दिए । वारेसमार्फत टिकट लिने, वारेसमार्फत निर्वाचित प्रमाणपत्र लिने, सेटिङ मिलाएर फूलमाला थाप्ने, सेटिङ मिलाएर संसद्मा जाने काममा निर्वाचन आयोगले उनले टिकट पाउने बेलैमा तथा प्रशासनले ती सबै क्रममा रोक लगाउन सक्थे, गरेनन् । तर अहिले उनी फरार सूचीमा छन्, करिब एक वर्षदेखि सार्वजनिक कार्यक्रममा छैनन् । 

यतिबेला जिल्ला अदालत महोत्तरी कोइरीको अपराध साबित गर्ने वा नगर्ने चरणमा छ । कोइरीले प्रदर्शनकारीबाट मरणासन्न घाइते बनाइएका विकलाई एम्बुलेन्सबाट जनकपुर अस्पताल लैजाँदै गर्दा जङ्गलमा एम्बुलेन्स घेराबन्दी गर्न लगाएर, त्यहाँबाट थुती कुकुरलाई झैँ मारेको, मार्न लगाएको प्रमाणहरू छन् । 

यति नै बेला बाँकेको नेपालगन्ज स्थायी घर भएका थमन विकका छोरा सुबोध, श्रीमती शोभा र आफन्त न्यायका लागि काठमाडौँ आउनुभएको छ । गैरजातीय प्रेम गरेको भन्दै चुटीचुटी भेरीमा डुबाइएका रुकुमका नवराज विक, उहाँका साथीहरू र परिवारले न्याय पाएको सन्दर्भ छ । भरोसा गरौँ, थमन विक र परिवारलाई पनि यस्तै न्याय होस् । 

एमाले नेता रघुवीर महासेठले संसद्मा पोहोर नै भन्नुभएको थियो– “महोत्तरीका घरघरमा कोइरीको प्रत्येक दिन पूजा हुन्छ । त्यस्ता लोकप्रिय नेताको मुद्दा पुनरावेदनका क्रममा रहेको अवस्थामा अहिले नै अपराधी भन्न मिल्दैन ।” अपराधको राजनीतीकरण भनेको यही हो । प्रामाणिक अभियोगीले सांसद पद जितेर फूलमाला लगाएकोमा विक परिवारमा चरम निराशा छ । त्यस निर्वाचनमा सधैँ जनसम्बन्धमा रहेका, रहने माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई दृश्य, अदृश्य आर्थिक तागतमा योजनाबद्ध हराइएको थियो । आज थमनकी श्रीमती शोभालाई डिप्रेसन भएको छ । बुवाको स्पन्दन अनुभव गर्न नपाएका छोरा सुबोध, थमनकी आमा अनि सम्पूर्ण परिवार रोइरहेका छन् । 

एक महिने गृहमन्त्री रवि लामिछानेले उहाँहरूलाई आश्वासन मात्र दिनुभएछ । उहाँकै कारण कोइरी भाग्न पाए भन्ने पनि धेरै छन् । किनकि त्यसबेला अध्यक्ष ओली र रविको गहिरो हिमचिम थियो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पीडित परिवारलाई पक्कै भेट्नुहुने विश्वास छ । तर न्यायको हिसाबकिताब वा प्राथमिकता भने अदालतकै हातमा छ ।

‘सम्बन्ध स्थानीय ः सन्देश राष्ट्रिय’ लिएर मध्य पहाडी राजमार्गको झुलाघाट–चिवाभञ्ज्याङ हिँड्नुभएका एमाले अध्यक्ष ओलीले मधेस आन्दोलनका यी विकृतिमूलक कोइरीलाई अझै संरक्षण गरिरहनु दुःखद हो । 

हुन त कहिल्यै ठेक्का सम्पन्न गर्न नसक्ने भ्रष्ट ठेकेदार हरिनारायण रौनियारलाई पार्टीमा सहर्ष प्रवेश गराएर आफ्ना समृद्धि प्राथमिकता र व्यवहारको तादाम्यतामा उहाँले रातो बत्ती बालिसक्नुभएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवीदत्त शर्मा
देवीदत्त शर्मा
लेखकबाट थप