सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

भूकम्पले बस्तीमाथिको पहाडमा धाँजो

सरकारसँग छैन बस्ती स्थानान्तरणबारे योजना
मङ्गलबार, २६ मङ्सिर २०८०, १२ : ०७
मङ्गलबार, २६ मङ्सिर २०८०

सुर्खेत । नलगाड नगरपालिका–१, को कलपट निकै पुरानो गाउँ हो । भिरालो ठाउँ र अग्लो पहाडको खोँचमा रहेको उक्त बस्तीमा मगर, दलित र ठकुरी समुदायका करिब दुई सयभन्दा बढी घर छन् ।

ढुंगा, माटो र काठबाट बनेका परम्परागत घरसहितको उक्त बस्ती जाजरकोट भूकम्पले ध्वस्त बनाइदियो । बस्तीका ५० भन्दा बढी घर पूर्ण रुपमा ध्वस्त छन् भने बाँकी घर बाहिरबाट हेर्दा केही नभएजस्तो देखिए पनि भित्र पूरै चिरा परेको छ ।

अहिले यहाँका एक हजार जनसंख्या गाउँभन्दा अलि पर डाँडाको गहुँबारीमा त्रिपालमुनि छ । बस्तीको अग्लो पहाड नै चिरा परेकाले पुनः परकम्प आइ पहाड भत्किने हो कि भन्ने चिन्ता यहाँका नागरिकमा छ ।

स्थानीय जनक परियारका अनुसार बस्तीमाथिको पहाडमा ठुलो चिरा परेको छ । त्यसैले उक्त पहाड सिधै बस्तीमा खस्ने जोखिम छ । अर्कातिर अहिले पनि बस्तीको दायाँतर्फ (वरिपरि घरहरु छन्) भूकम्पले पहिरो आएर बाटो अबरुद्ध भइरहेको छ भने दिउँसै ढुङ्गामाटो खसिरहन्छ ।

‘मान्छेलाई आउ–जाउ गर्न निकै समस्या छ, हिँड्दा पनि कतै माथिबाट सिङ्गो पहाड नै खस्छ कि भन्ने त्रास छ,’ उनले रातोपाटीसँग भने, ‘बस्ती सार्नुको विकल्प छैन ।’

2

भूकम्पमा परी यो बस्तीका ७ जनाले ज्यान गुमाएका थिए भने दर्जनौँ व्यक्ति घाइते भएका थिए ।

अधिकांश स्थानीयको माग सुरक्षित स्थानमा बासको व्यवस्थापन होस् भन्ने छ । ८३ वर्षीय भोसबहादुर पुनका अनुसार बस्ती निकै पुरानो हो । ‘पहिला कहिलेकाहीँ पहिरोले पनि समस्या दिन्थ्यो,’ उनी भन्छन्, ‘अहिले भूकम्पले माथि पहाड नै फुटाइसक्यो भन्छन्, अब यहाँ बस्ती सुरक्षित छैन ।’

उनको दुई वटा घर भूकम्पले ध्वस्त बनाएको छ । उसो त अहिले त्यहाँ राजनीतिक दलका स्वयंसेवकहरुले जोखिममा परेको बस्तीलाई केही नचलाई अलि पर डाँडामा अस्थायी आवास निर्माण गरेका छन् । ४० भन्दा बढी आवास निर्माण गरिए पनि जस्तापाता लगायतका अभावमा ती आवास अपूर्ण छन् । नागरिक भने त्रिपालमुनि नै छन् ।

यद्यपि बर्खामा माथिबाट पहिरो आएको खण्डमा उक्त ठाउँ पनि सुरक्षित नरहेको उनी बताउँछन् । ‘यहाँका अधिकांश मान्छे रोजगारीका लागि कालापहाड जान्छन्, आर्थिक अवस्था घरखर्च टार्नेमात्रै थियो,’ उनी भन्छन् ।

आफैँ खर्च गरेर अन्त जमिन किनेर घर बनाउन सक्ने अवस्था नरहेको पनि उनले सुनाए । त्यसैले राज्यले नै बस्ती स्थानान्तरणका लागि पहल गरिदिनुपर्छ भन्ने आफूहरुको माग रहेको उनको भनाइ छ ।

कलपट मात्र होइन, सोही वडाको चिउरी, पाली लगायतका बस्ती पनि जोखिममा छन् । जमिन नै चिरा परेपछि बस्तीका बासिन्दा दोहोरो मारमा परेका छन् । चिउरी बस्तीमा भूकम्पमा सबैभन्दा बढी १३ जनाको मृत्यु भएको थियो भने केही घाइते भए । भूकम्पबाट सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको बस्ती हो चिउरी । यो बस्ती आफैँमा जोखिमयुक्त बस्ती हो ।

खोँचमा घरहरु, माथि अग्लो कच्ची पहाड । ०५१ र ०६८ सालमा बस्तीमाथिबाट आएको पहिरोका कारण बस्ती जोखिममा परेको थियो । दुई तिरबाट आएको पहिरोले बस्ती घे¥यो । ०६८ मा त जेठ महिनामै परेको पानीका कारण बस्तीमाथिबाट आएको पहिरोले पूरै बस्ती घेरेको थियो ।

3

६१ वर्षीय कालीवान विकका अनुसार त्यो बेला पहिरोले ठाउँठाउँमा चिरा पारेपछि बस्ती अन्यत्र सार्नुपर्ने अवस्था आयो । त्यो बेला प्रशासनले नै बस्ती अन्यत्र सार्नुपर्ने निर्णय नै गरेको थियो । जग्गाको खोजी गर्दा भनेअनुसारको जग्गा पाइएन । त्यसपछि नागरिकहरु त्यहीँ बसे । त्यो बेला पहिरोका कारण केही घरसमेत भत्किएको स्थानीय बताउँछन् ।

अहिले आएर सोही बस्ती भूकम्पले क्षतिविक्षत बनाइदियो । अहिले १८६ घरधुरी रहेको बस्तीमा साढे ९ सय जति जनसंख्या छ । पूरै दलित समुदाय रहेको बस्तीका नागरिकले बस्ती स्थानान्तरणको माग गरिरहेका छन् ।

‘भूकम्पले सबै तहसनहस बनाइदियो, आफन्त खोस्यो, सबैलाई घरबारविहीन बनाइदियो,’ स्थानीय हिउँकला विक भन्छिन्, ‘बस्ती नसारे फेरि कति क्षति व्यहोर्नु पर्ने हो ? राज्यले सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था मिलाइदिनुपर्छ ।’

चिउरीका सडकदेखि बारीका पाटा समेत चिराचिरा परेका छन् । माथि पहाड र तल भेरी नदी किनारको बिचमा रहेको यो बस्ती निकै भिरालो ठाउँमा छ ।

भूकम्पले गर्दा स्थानान्तरण नै गर्नुपर्ने अर्को बस्ती हो यही वडाको पाली । ३७५ घरधुरी रहेको यो बस्तीमाथिको जमिन चिराचिरा परेपछि अस्थायी आवास बनाएर बस्न सकिने अवस्था समेत छैन । नागरिकहरु त्रासमा छन् । वडाध्यक्ष धनबहादुर महर जोखिमयुक्त बस्ती स्थानान्तरण बाहेक अर्को कुनै विकल्प नरहेको बताउँछन् ।

‘अहिले चिसोको समस्या छ, त्रिपालमा रहेका नागरिकलाई कसरी टहरा निर्माण गरी सार्ने भन्ने चिन्ता छ, हामी त्यसमा लागिरहेका छौँ,’ उनले भने, ‘जोखिममा रहेका नागरिकहरु बस्ती स्थानान्तरण नै गर्नुपर्ने माग गरिरहेका छन्, हिजोबाट नै बस्ती नै जोखिममा भएकाले जनताको मागको पक्षमा उभिएर काम गर्छौँ ।’

महर आफैँ पनि भूकम्प पीडित हुन् । दोस्रो पटकको परकम्पले चिउरीमा रहेको उनको घर भत्किएको छ । 

उनका अनुसार पाली गाउँमा त अस्थायी आवास नै निर्माण गर्न समस्या छ । टहरा बनाए पनि पहिरोको जोखिम उत्तिकै रहेको उनले रातोपाटीलाई बताए । ‘अहिले नै दिनदहाडै पहिरो झरिरहेको छ, यो अवस्थामा टहरा बनाउन मुस्किल छ,’ उनी भन्छन्, ‘कलपटमा पहिलाको ठाउँभन्दा टाढा गएर त्रिपालमा बस्ती बसेको छ ।’

1

तत्काल ठाउँ बाहेक अन्यत्र टहरा बनाउन सुरक्षित जमिन पनि नरहेको उनको भनाइ छ । यो विषयमा केन्द्र र प्रदेश सरकारले सहयोग गर्नुपर्ने उनले बताए । उक्त वडामा ९८४ घर भूकम्पबाट ध्वस्त भएका छन् । जोखिमयुक्त बस्तीको अध्ययन गरिनुपर्ने माग स्थानीयको छ । नलगाडका मेयर डम्बरबहादुर रावत प्रदेश र संघीय सरकारसँग समन्वय गरेर जोखिम ठाउँको नागरिकको पुनर्वासका लागि व्यवस्थापन गरिने बताउँछन् ।

‘यहाँ गाउँको माथिल्लो पहाड चिरा परेको छ भने कलपटको गाउँको माथिको पूरै भूभाग चिरा परेको छ,’ उनले रातोपाटीसँग भने, ‘पालिकाभित्रका पीडितहरूलाई तत्कालका लागि त्यहाँभन्दा अलि सुरक्षित ठाउँमा गएर अस्थायी आवास निर्माण गरी बस्न सल्लाह पनि दिएका छौँ । तर, त्यसका लागि बाटो, विद्यालय चाहिन्छ । त्यो हामी पहल गरिरहेका छौँ ।’

रावतले जमिनको अध्ययन÷अनुसन्धानका लागि केन्द्रका नेताहरुलाई पहल गरिदिन आग्रह समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप