बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

जनमत पार्टी पुरानै कि नयाँ शक्ति ?

बुधबार, २७ मङ्सिर २०८०, १५ : १४
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । तराई मधेसमा नयाँ शक्तिको रुपमा उदाएको जनमत पार्टीले पुरानै परम्परा अँगालेको गुनासो बढ्न थालेको छ । मधेसलाई मुख्य आधार बनाएका जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायत अन्य तराई मधेस केन्द्रित दलभन्दा जनमत पार्टीले आफूलाई फरक ठान्ने गरे पनि जनताले यी सबै दल उस्तै रहेको टिप्पणी गर्न थालेका छन् ।

जनमत पार्टीले अन्य मधेस केन्द्रित दलको कार्यशैली र व्यवहारलाई मुख्य निशाना बनाएर नै चुनावमा जनतालाई आश्वासन दिएको थियो । तर अहिले पुराना दल र जनमतमा कुनै फरक नदेखिएको टिप्पणी मधेसमा हुन थालेको छ ।

राजनीतिक विश्लेषक विजयकान्त कर्ण भन्छन्, ‘कुनै पनि एङ्गलले जनमत पार्टी नयाँ पार्टी होइन, वैकल्पिक शक्ति होइन । अहिलेको पुराना पार्टी र सीके राउतको पार्टीमा कुनै अन्तर छैन ।’

जनतालाई दिने सेवा, कार्यक्रम, पार्टीको संरचनालगायत कुनै पनि कुरामा जनमत पार्टी अन्य दलभन्दा फरक नदेखिएको उनको भनाइ छ । ‘मधेसी जनताले जनमत पार्टी फरक पार्टी हो भन्ने अनुभूति गरेका छैनन् । मधेसमा जसपा, लोसपा लगायतका दलले जे गरिरहेका छन्, त्यही काम जनमतले पनि गरिरहेको छ भने फरक पार्टी कसरी हुन्छ ? वैकल्पिक पार्टी हुनका लागि वैकल्पिक सोच पनि हुनुपर्छ ।’

जनमत पार्टीले सत्ताभन्दा बाहिर रहेर जनताको कुरा गरेको भएमात्र उसलाई वैकल्पिक शक्तिका रुपमा मान्नुपर्ने अवस्था हुन्थ्यो भन्ने कर्णको तर्क छ । उनले भने, ‘तर जनमत पार्टी तीनै तहको सरकारमा सहभागी भएर राजनीति गरिरहेको छ । त्यसले गर्दा यसलाई फरक सोच, फरक विचारको पार्टी भन्न सकिँदैन ।’

परिवारवाद, नातावाद, कृपावाद, जातीवाद जनमत पार्टीका अध्यक्ष डा. सीके राउतमा पनि देखिएको कर्ण बताउँछन् । त्यसैले मधेसका लागि जनमत पार्टी नयाँ सोचको पार्टीका रुपमा स्थापित हुन नसक्ने उनको भनाइ छ ।

संसदमा बोल्दा पनि संघीयता, गणतन्त्र, समावेशीको कुरामा जनमत पार्टीले आजसम्म स्पष्ट धारणा नराखेको विश्लेषक कर्णले बताए ।

जनमत पार्टीले अहिले ‘मिसन ०८४’ सञ्चालन गरिरहेको छ । आगामी चुनावमा मधेस केन्द्रित अन्य दलभन्दा ठुलो दल बनेर आउने लक्ष्यका साथ जनमत पार्टीले अभियान चलाइरहे पनि त्यो अभियानसमेत अन्य दलभन्दा फरक छैन ।

जनमतले ‘मिसन ०८४’ नाम दिएर सञ्चालन गरेको अभियान अन्तर्गत अहिले पालिका, जिल्ला, प्रदेशको पार्टी अधिवेशन गराइरहेको छ । जबकि जसपाले पनि त्यस्तै अभियान चलाइरहेको छ । जसपाले तीन महिने अभियान भने पनि म्याद थपेर पुस मसान्तसम्म बढाएको छ । लोसपाले पनि हालै केन्द्रीय समितिको बैठक सकेर पार्टीलाई २०८४ का लागि केन्द्रित गर्ने भनिरहेको छ ।

जनमत पार्टीका अध्यक्ष राउतले स्वतन्त्र मधेसका लागि गरेकोे आन्दोलन अरुभन्दा फरक थियो । त्यतिबेला उनले गर्ने हरेक आन्दोलन अरुभन्दा फरक हुन्थ्यो । त्यतिबेलाको विचार, एजेण्डा, मुद्दा सबै फरक थियो । तर मूलधारमा आएर जनमत पार्टी गठन गरेसँगै राउतसंसदीय तथा सत्ताको राजनीतिमा सक्रिय छन् भने मधेसी जनताले नयाँ दलको अनुभूति गर्न सकेका छैनन् ।

धनुषा जिल्लाका पार्टी इन्चार्ज एवं केन्द्रीय सदस्य सुरेन्द्र मण्डलले जनतामा यस्तो अनुभूति हुनु स्वाभाविक रहेको बताए । उनले भने, ‘जनचाहना अनुसार हामीले संघ, प्रदेश तथा स्थानीय तहमा सिट पाएनौँ, अहिलेको प्रणालीमा सिट संख्या महत्त्वपूर्ण फ्याक्टर हो । जनताको चाहना अनुसार काम गर्न नपाएपछि गुनासो हुनु जायज हो ।’

अन्य पार्टीभन्दा आफूहरु फरक रहेको कुरा जनतालाई भनेको र काम पनि त्यही अनुसार गरेको दाबी गर्दै उनले काम गर्नका लागि शक्ति नपुगेको जिकिर गरे । ‘काम हुन नसकेपछि जनतामा निराशा आउनु स्वाभाविक हो,’ मण्डलले भने, ‘यस्तै रह्यो भने धरै दिन सरकारमा बस्दैनौँ ।’

अहिले पार्टीका अधिवेशनहरु भइरहेको र समीक्षासमेत गरिरहेको जानकारी दिँदै उनले सरकारमा रहेर काम गर्न सकिएन भने फिर्ता आउन सकिने बताए । 

तर सप्तरीका बलराम यादव भन्छन्, ‘उपेन्द्र यादव र सीके राउतमा कुनै फरक छैन भन्ने कुरा जनताले महसुस गर्न थालेका छन् ।’ उपेन्द्र यादवभन्दा सीके राउत केही फरक होला, जनताको समस्या समाधानमा लाग्लान् भनेर मत दिएर पठाएका पनि सत्ताको राजनीतिमा अल्झेका कारण जनमत पार्टी र अन्य पार्टीबिच खासै भिन्नता नदेखिएको उनको भनाइ छ ।

‘चुनावमा जनमत पार्टी नयाँ पार्टी भएका कारण जनतामा आश जागेको थियो, अन्य दलभन्दा यसले पक्कै पनि केही फरक गर्ला भन्ने भरोसा जनतामा थियो,’ उनले भने, ‘तर चुनावपछिको गतिविधि हेर्दा सबै दल उस्तै रहेको महसुस जनताले गरेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप