शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जीवनयात्राको बहाव

शनिबार, ३० मङ्सिर २०८०, १८ : ३७
शनिबार, ३० मङ्सिर २०८०

सूर्योदयका नाङ्गा किरणहरू
उदाङ्गिए जस्तै 
सम्बन्धहरू पनि 
उदाङ्गिँदै जान्छन्
अनि सुरुवात हुन्छ
एउटा सतही शत्रुताका रूपमा ।

दुई देशबीचको 
सीमामा कोरिएको
रेखा जस्तै
यसमा एउटा दायरा हुन्छ
पार गर्न नसकिने 
मर्यादा 
अनि 
विधि विधानको चपेटा ।


मरुभूमिमा पानी बिलाए जस्तै 
खुसीहरू बिलाउँदै जान्छन्
काला रातमा देखिएका 
टहटह जुन जस्तै 
दुःखहरू टुप्लुक्क 
देखा पर्दै जान्छन् 
अनि नारदमुनि जस्ता
कुरौटेहरू
जहीँ तहीँ सक्रिय रहन पुग्छन् ।
भरोसाहरू टुट्दै गएका हुन्छन् ।
विश्वासहरू फाँडिँदै जान्छन् ।

न लाज न सरम 
बेपरवाह हुन्छ
न त मर्यादा नै
विश्वव्यापीकरण जस्तै
सीमाविहीन
सम्बन्ध हो
मित्रता ।

यसको कुनै परिधि हँुदैन
न त दसगजा नै
हुन्छ त केवल 
मरियाना ट्रेन्चभन्दा गहिरो 
निष्कलङ्क गाढा सम्बन्ध 
जहाँ खुसीहरू
लापरवाह हुन्छन् ।
सूर्यास्तका गोधुलीहरू
बिलाए जस्तै
दुःखहरू बिलाउँदै गएका हुन्छन् ।
मर्यादाविहीन
अनन्तकालीन
मित्रता ।

–सुनसरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुबोध नेपाल
सुबोध नेपाल
लेखकबाट थप