शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि भन्सार विभाग घेराउ गर्दै आजपा, ४५ प्रतिशत कमिसन खारेजीको माग

शनिबार, ३० मङ्सिर २०८०, २१ : ०९
शनिबार, ३० मङ्सिर २०८०

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) फेरि भन्सारविरुद्ध आन्दोलनमा जान लागेको छ । भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै आजपाले आन्दोलन गर्न लागेको हो । 
जसअनुसार शनिबार बसेको आजपाको सम्पर्क मञ्चको राष्ट्रिय भेलाले आवश्यक निर्णय गर्दै आइतबारदेखि भन्सार विभाग घेराउ गर्ने निर्णय गरेको हो । 

‘मञ्चको राष्ट्रिय भेला भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजीको लागि पौष १ गते देखि भन्सार विभागमा धर्ना तथा घेराऊ गर्ने उद्घोषका साथ सुसम्पन्न भएको छ’,  बैठकपछि उनले जानकारी दिए । 
आजपाले  गत असोजमा पनि त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको थियो । तर, त्यतिबेला चाडपर्वका कारण आजपाले माग सम्बोधन नहुँदै अर्को निर्णय नहुँदासम्मका लागि संघर्षका कार्यक्रम स्थगित गरेको थियो । सरकारी वेतनभोगी कर्मचारीमार्फत राजस्वमा हुने ४५ प्रतिशतको कमिसन व्यवस्था गलत भएकाले खारेज हुनुपर्ने साहको धारणा छ ।  

देशको राजस्व सङ्कलन व्यवस्थित र प्रभावकारी हुनुपर्ने भए पनि राजस्व सङ्कलन भद्रगोल र लुटकारी भएको साहको भनाइ छ । सरकारी राजस्वलाई लुट्न गलत कानुनी प्रावधान निर्माण गरिएको साहले दाबी गरे । भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८, र ४९ मा गरिएको व्यवस्था अनुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ । अर्थात् भन्सार छलिको माल सामानबाट प्राप्त रकमको झन्डै आधा (४५ प्रतिशत) पैसा व्यक्तिको निजी हुने व्यवस्था छ ।

यसरी देशको संसदलाई छलेर नियमावलीमा पुरस्कारको गलत प्रावधानले देशको राजस्व सरकारी ढुकुटीमा जम्मा हुनुको सट्टा राजस्व संकलनमा संलग्न कर्मचारी र सुरक्षाकर्मीहरुको निजि खातामा गइरहेको उनको भनाइ छ । ‘यसर्थ, देशको राजस्व संकलनलाई प्रभावकारी बनाउन र गुणात्मक राजस्व वृद्धि गर्न सर्वप्रथम भन्सार नियमावलीबाट कथित पुरस्कारको व्यवस्था हटाउन जरुरी छ,’ आजपाको भनाइ छ ।  

यसैबीच सम्पर्क मञ्चको राष्ट्रिय भेलाले श्रीनारायण प्रसादको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति एवं मधेश प्रदेश कमिटीको पदाधिकारी समेत घोषणा गरेको छ । उक्त भेलामा नेकपा एमालेको धादिङ जिल्ला नेतृ देवी पण्डित र नेपाली कांग्रेस पार्टीको सिरहा नेता सत्यनारायण मण्डल लगायतका नेता कार्यकर्ताहरू आजपामा प्रवेश गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप