सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली मूलका सेवानिवृत अमेरिकी सैनिक पोखरेलद्वारा भर्जिनियाको १० औँ निर्वाचन क्षेत्रबाट उम्मेदवारी घोषणा

सोमबार, ०२ पुस २०८०, १० : ०१
सोमबार, ०२ पुस २०८०

अमेरिका ।  नेपाली मूलका सेवानिवृत अमेरिकी सैनिक तथा राष्ट्रिय सुरक्षा सेवा लगायतमा अनुभव बटुलेका एड्रियन पोखरेलले भर्जिनियाको १० औँ निर्वाचन क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका छन् ।

उनको नेपाल मूल घर सुनसरी धरान विजयपुर हो । उनी अफगानिस्तानमा हुँदा युद्धमा घाइते भएका थिए । उनले डेमोक्र्याटिकको तर्फबाट अर्को वर्ष २०२४ को नोभेम्बरमा हुने अमेरिकी संसद पदको लागि डिसेम्बर १७ ,२०२३ आइतबारका दिन आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्  । 

अमेरिकी मूलधारको राजनीतिमा होमिँदै उनले अमेरिकी सांसदको लागि भर्जिनिया राज्यको १० औँ कंग्रेसनल जिल्लाको लागि उम्मेदवारी घोषणा गरेको बताए । उनको उम्मेदवारी भर्जिनिया राज्यको लागि राज्य जन प्रतिनिधि नभई सिधै अमेरिकी संसदका लागि उम्मेदवारी हो  ।

भर्जिनियाको गेन्सभिल बसोबास गर्दै आएका एड्रियन पोखरेल एक अनुभवी सार्वजनिक सेवक हुन् । पोखरेलले अमेरिकी राष्ट्रिय सुरक्षा र सामुदायिक सेवामा ३ दशकभन्दा बढीको अनुभव बोकेका छन्।

एक आधिकारिक वक्तव्य जारी गर्दै पोखरेलले भने, ‘काँग्रेसमा उम्मेदवारी दिने घोषणा गर्न पाउँदा म उत्साहित छु । मेरो जीवन वृति (क्यारियर) सेना, राष्ट्रिय सुरक्षा एजेन्सी, र केन्द्रीय गुप्तचर संस्थासँग समेत बिस्तार गर्ने अवसर पाएकोले १० औँ जिल्लाका जनताको लागि सेवा गर्न मलाई अनुभवले तयार पारेको छ। म एकतालाई बढवा दिन र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न प्रतिबद्ध छु।  

 उनको मुख्य कार्यसूची अनुसार जिल्लाको समृद्धिलाई अगाडि बढाउन र वाशिंगटनमा प्रभावकारी रूपमा यसका बासिन्दाहरूलाई प्रतिनिधित्व गर्न आफ्नो व्यापक पृष्ठभूमिको लाभ उठाउने लक्ष्य राखेको उल्लेख गरेका छन् ।

पोखरेलको चुनावी अभियानको केन्द्रबिन्दु "यु म्याटर" दर्शन हो अर्थात् जनता नै महत्त्व रहेको छ । सबै घटकहरूलाई फाइदा पुग्ने समावेशी समाधानहरूमा ध्यान केन्द्रित गर्दै उनले जिल्लाका विविध समुदायहरूलाई एकताबद्ध गर्ने योजना बनाएका छन् ।

 पोखरेलले १० औँ जिल्लामा निष्ठा र पारदर्शिताका साथ कार्य गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप