सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

‘मृत्युदण्डको सजाय सुनाएपछि घर फर्किने आशा मरिसकेको थियो’

बुधबार, ११ पुस २०८०, ११ : ४०
बुधबार, ११ पुस २०८०

काठमाडौँ । झापा कनकाई नगरपालिका–३, त्रिवेणी टोलका ३३ वर्षीय सुवास राउत सन् २०१७ मा वैदेशिक रोजगारीका लागि कतार गए । कतारमा उनी समुद्रमा पानी तान्ने पम्प चलाउने काम गर्थे । उनीसँगै १८ जना नेपाली थिए । सबै जना एउटै कम्पनीमा काम गर्दै आएका थिए । 

सन् २०२० को मार्चतिर एक दिन बिदाको समय थियो । उनी नुहाएर आउँदै थिए । त्यही बेला आफ्नै कोठामा एक जना साथी घाइते अवस्थामा छटपटाइरहेको देखे । साथीको छातीमा छुरा रोपिएको थियो । अलि अलि सास बाँकी थियो । सास बाँकी रहेको बेला ज्यान बचाउन उनले सक्दो प्रयास गरे । तर ज्यान जोगाउन सकेनन् । साथीको ज्यान त जोगाउन सकेनन् । उल्टै उनी आफैँ साथीको हत्यारा करार भए । अदालतले उनलाई मृत्युदण्डको सजाय सुनायो ।   

बिदाको दिन साथीहरू भेला भएर रमाइलो गरिरहेका थिए । त्यही बेला सुवास नुहाउन निस्किएका थिए । साथीहरू भने कुराकानी गरिरहेका थिए । अनि रमाइलो पनि गरिरहेका थिए । त्यही बेला साथीहरूबिच नै अनावश्यक विवाद सुरु भयो । अनावश्यक विवाद हुँदा साथीहरूबाट कसैले खोटाङ ऐसेलुखर्क–५ का लामाकाजी राईमाथि छुरा प्रहार गरे । सुवास नुहाएर आउँदा राई गम्भीर घाइते अवस्थामा थिए । उनलाई बचाउन गए । राईको छातीमा रोपिएको छुरा निकाले । लगत्तै राईको मृत्यु भयो । तर छुरा कसले प्रहार गरेको उनले केही पनि थाहा पाएनन् । कसैले पनि उनलाई घटनाबारे बताएनन् । 

उनको मृत्यु भएपछि प्रहरी आयो । सोधपुछको क्रममा उनलाई पक्राउ गरेर लग्यो । उनले आफू निर्दोष रहेको बताइरहे । तर प्रहरीले उनको कुरा सुनेन । किनकि छुरामा उनको फिङ्गरको छाप थियो । त्यही कुरालाई प्रहरीले प्रमाण मानेर मुद्दा चलायो । कतारको अदालतले उनलाई मृत्युदण्ड वा २ लाख ५० हजार कतारी रियाल ब्लडमनी तिर्नुपर्ने फैसला सुनायो । 

आफूलाई साथीहरूले नै फसाएको उनको दाबी छ । उनले सुरुदेखि नै उक्त घटनामा मेरो संलग्नता नरहेको बताइरहेका थिए । ‘मृतक र म कतारको कम्पनीमा पानीको मोटर चलाउने काम गर्थ्यौँ  । म नुहाएर आउँदा कोठामा छुरी लागेर उनी लडेको देखेँ । मैले छुरी तानेको थिएँ,’ उनले भने, ‘कसले छुरी हानेर भागे, मलाई थाहा भएन । तर छुरी मैले उनको शरीरबाट निकालेको भन्दै मलाई दोषी ठहर गरियो ।’  

उनलाई उता मृत्युदण्ड वा ब्लडमनी तिर्नुपर्ने सजाय सुनाएको थियो । यता नेपालमा श्रीमती कुमारी राउत, दुई छोरा छोरी, बुबा जितबहादुर राउत, आमा दुर्गामाया राउत तथा घरपरिवार साह्रै चिन्तामा थियो । चिन्तै चिन्ताका कारण आमा दुर्गामायाको निधन भयो ।

ब्लडमनी तिरेर उनलाई मृत्युदण्डको सजाय रोक्न पहल थालियो । मृतक राईका परिवारलाई सहमत गराउनसमेत पहल भयो ।  

उनलाई स्वदेश फर्काउन तत्कालीन वडाध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा समितिसमेत गठन गरियो । समितिले स्वदेश तथा विदेशबाट गरेर २० लाख २४ हजार रुपैयाँ सङ्कलन गरेको थियो । 

उक्त घटनामा उनी संलग्न भएका थिए भने सजाय भोग्न कुनै समस्या थिएन । तर आफ्नै साथीको हत्या गरेको झुटो आरोप उनका लागि निकै नै पीडादायी थियो ।

२ लाख ५० हजार कतारी रियाल अर्थात् ९० लाख नेपाली रुपैयाँ ब्लडमनी तिर्न सक्ने क्षमता नभएपछि उनी आफ्नो मृत्युलाई कुरेर बसिरहेका थिए । लामो समयको प्रयासपछि मृतक राईको परिवार १५ लाख रुपैयाँ ब्लडमनी लिन सहमत भयो । उनको रिहाइ भयो । तीन वर्षपछि उनी कतारको जेलबाट रिहा भए र केही दिनअगाडि मात्रै उनी स्वदेश फर्किन सफल भएका छन् । 

नेपाल फर्किएसँगै विदेशको सपना त्यागेका छन् । मृत्युको मुखबाट बाँचेर स्वदेश फर्किएका उनले अब कहिल्यै विदेश नजाने बताएका छन् । रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘अब कहिल्यै पनि विदेश नजाने । बाचेर आइयो । मरेको मान्छे बल्ल बाँचेर आइयो । म त फर्किँदिन होला भन्ने सोचेको थिएँ । खुसी लाग्यो मृत्युलाई कुरेर बसेको थिएँ तर भाग्य बलियो रहेछ । बाँचेर नेपाल आउन पाएँ ।’

उक्त घटनामा उनी संलग्न भएका थिए भने सजाय भोग्न कुनै समस्या थिएन । तर आफ्नै साथीको हत्या गरेको झुटो आरोप उनका लागि निकै नै पीडादायी थियो । हत्या जस्तो जघन्य अपराधका विषयमा सोच्नसमेत नसक्ने उनीमाथि त्यही आरोपमा मृत्युदण्डका सजाय सुनाइएको थियो । 

उनलाई सफाइको मौकासमेत दिइएन । किनभने प्रहार गरिएको छुरामा उनको फिङ्गर प्रिन्ट मिलेको थियो । जसले गर्दा अदालतले सजिलै उनलाई नै दोषी ठहर गरिदियो । 

अनुसन्धानका क्रममा प्रहरीले २–४ जनालाई बोलाएको थियो । उनीहरूले समेत हातमा छुरा बोकेको देखेको भन्दै उनीमाथि नै हत्या आरोपको दोष थुपारिदिए । यसले गर्दा अदालतलाई थप बलियो प्रमाण पुग्यो । 

घटनापछि प्रहरीले पक्राउ गरेर लगेको थियो । अब के हुने हो ? उनलाई केही थाहा थिएन । पछि अदालतबाट ‘तँलाई फाँसीको सजाय सुनाइको छ, या २ लाख ५० हजार कतारी रियाल ब्लडमनी पीडित परिवारलाई तिर्नुपर्छ’ भनेर कसैले उनलाई सुनाएका थिए । त्यसपछि उनलाई आफ्नो जीवन सकियो जस्तै लागेको थियो । कुन दिन मृत्युदण्ड दिइन्छ भनेर त्यसको प्रतीक्षामा थिए । 

ब्लडमनी तिरेर नेपाल फर्किएका उनी यतिबेला आफ्नै घरपरिवारसँग बसिरहेका छन् । परदेशमा आफ्नो गल्ती नहुँदा पनि धेरे साथीहरू फस्ने गरेको उनको भनाइ छ । यस्तो समस्याबाट बच्न सबै जना सचेत हुनुपर्ने उनको भनाइ छ । 

उनको परिवारमा १३ वर्षकी एक छोरी र छोरा ८ वर्षका छन् । मृत्युको दिन गनेर बसेका उनी सकुशल घर फर्किन पाउँदा घरपरिवार निकै हर्षित छन् । यसअघि उनी सन् २०१५ तिर वैदेशिक रोजगारीकै लागि मलेसियासमेत गएका थिए । त्यहाँ काम राम्रो नभएपछि एक वर्षमै नेपाल फर्किएका थिए । अनि २०१७ तिर कतार गएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप