शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्न माग गर्दै भन्सार विभाग घेराउ

बुधबार, ११ पुस २०८०, १९ : ०९
बुधबार, ११ पुस २०८०

काठमाडौँ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीका कार्यकर्ताहरुले देशका सम्पूर्ण भन्सार कार्यालयबाट लिने ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्न माग गर्दै बुधबार भन्सार विभाग घेराउ गरेका छन् ।

विभिन्न माग गर्दै आम सम्पर्क मञ्चले सुरु गरेको दोस्रो चरणको आन्दोलन अन्तर्गत बुधबार पार्टी उपाध्यक्ष तिलक थापाको नेतृत्वमा ११ औँ दिन काठमाडौँको त्रिपुरेश्वरस्थित भन्सार विभागमा धर्ना तथा घेराउ गरिएको हो ।

आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएको छ ।

उपाध्यक्ष थापाले भन्सारबाट लिने गरेको ४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्नुपर्ने बताए । ‘पुरस्कारको रकम कति कसको नाममा कहिले गएको हो ? यो आम जनताले जान्न जरुरी छ । यो ४५ प्रतिशत पुरस्कारको व्यवस्था खुलेआम लुट हो किनकि यो पैसा गुपचुप सिधै मन्त्रीको खातामा पुग्छ । यसलाई रोक्न सर्वप्रथम हाम्रो माग सम्बोधन गर्नुपर्छ,’ उपाध्यक्ष थापाले भने ।

पार्टी केन्द्रीय सदस्य एवं भन्सार कानुन सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साहले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएकी छन् । आफूहरुको शान्तिपूर्ण आन्दोलन निरन्तर जारी रहने उनले बताइन् ।

कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरूपता ल्याउन भन्सार नियमावलीबाट व्यक्ति, सवारीसाधन एवं सम्पत्ति जफत गर्ने प्रावधान हटाउनुपर्ने माग आन्दोलनकारीको छ । गत भदौ ३१ गते भन्सार विभागको महानिर्देशकमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएर सुरुवात गरेको संघर्षको पहिलो चरण अन्तर्गत असोज ३ गते पत्रकार सम्मेलन, असोज १८ गते नियमावलीको गलत प्रावधान जलाइएको, असोज १९ गते तराई–मधेसका जिल्लाहरूको भन्सार कार्यालय घेराउ र असोज २१–२६ गतेसम्म भन्सार विभागमा धर्ना कार्यक्रम गरिएको थियो ।

तर नेपाल सरकारले कुनै सुनवाइ नगरेपछि बाध्य भएर पुनः थप संघर्षको कार्यक्रम अगाडि बढाइएको आम सम्पर्क मञ्चले जनाएको छ ।

सीमावर्ती क्षेत्रका मानिसले आफ्नो घरायसी प्रयोगका लागि तथा आफ्नो खेती किसानमा प्रयोग गर्न भारतीय बजारबाट सामान ल्याउँदा प्रहरीले तस्करीको भन्दै नियन्त्रणमा लिएर भन्सार बुझाउने गरेको भन्दै आमजनता पार्टीका कार्यकर्ताले त्यसको विरोध गरेका छन् ।

अवैध भनेर समातेको सामानबापत सुराकी तथा पुरस्कार भनेर राज्यले प्रहरी प्रशासनलाई दिने गरेको ४५ प्रतिशत पाउन प्रहरीले सर्वसाधारणको सामान बलपूर्वक पक्राउ गरी भन्सार बुझाउने गरेको आम जनता पार्टीको निष्कर्ष छ ।

भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८, र ४९ मा गरिएको व्यवस्थाअनुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप