निकुञ्जभित्रका बस्तीमा जनावरको त्रास
तुलसीपुर । बाँके राष्ट्रिय निकुञ्जभित्रका दाङका बस्तीमा जङ्गली जनावरको सधैँ त्रास हुने गरेको छ । निकुञ्जको बीच भागमा बस्ती हुँदा आफूहरुले लगाएको अन्नबाली नष्ट गर्ने गरेको बबई गाउँपालिका–१ सिमलकुनाका टेकबहादुर बुढाले बताए ।
“निकुञ्जको वरिपरि बस्ती छ, हामीले लगाएको बालीनाली जनावरले सखाप पार्ने गरेका छन्”, उनले भने– “यसतर्फ सरकारको ध्यान जानुपर्छ ।” प्रभावित क्षेत्रमा जालीको व्यवस्थापन भए जनावरले सताउने समस्या न्यून हुने बुढाको भनाइ छ ।
बबई गाउँपालिका–१ बञ्चरे, क्युरेनी, गौजे, सिमलकुना, जिला, मलै, कप्तानेलगायतका बस्ती राष्ट्रिय निकुञ्जका बीचमा पर्छन् । यी बस्तीमा बर्सेनि जनावरले सताउने गरेको स्थानीय शोभा पुनले बताइन् । यी बस्ती दाङका विकटमध्येका बस्ती हुन् । जहाँ अहिलेसम्म बिजुली पुग्न सकेको छैन । बीचबीचमा पर्ने खोलामा पुल नहुँदा यातायातका साधन पनि सहजै आवतजावत गर्न सक्ने अवस्था छैन । खानेपानीको उस्तै समस्या छ । नजिकै बबई नदी बग्ने भए पनि बिजुली नहुँदा त्यहाँका नागरिकले सिँचाइको सुविधा पाउन सकेका छैनन् ।
नदी आसपासका बस्तीमा तटबन्ध नहुँदा स्थानीयमा त्रास छ । “टावर नहुँदा फोनले पनि राम्रोसँग काम गर्दैन । उपचारका लागि हापुरे बजार वा तुलसीपुर पुग्नुपर्छ”, पुनले भने ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले चालु आर्थिक वर्षमा ती बस्तीमा पुग्न बबई नदीमा पुल निर्माणको काम अघि बढाइएको बताए । पुरन्धारा झरना हुँदै सिमलकुना, जिलासम्म पुग्ने सडक स्तरोन्नतिका लागि रु एक करोड बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण