आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तरिम सरकार गठन गरौँ, नत्र समानान्तर सरकार चलाउँछौँ : प्रभु साह

नेपाल सेनाको विकल्पमा आफ्नै आईटी आर्मी सेना बनाउने चेतावनी
शनिबार, १४ पुस २०८०, १९ : ४८
शनिबार, १४ पुस २०८०

रौतहट । पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले देशलाई सङ्कटबाट निकास दिन अन्तरिम सरकार गठनको विकल्प नभएको बताएका छन्।

गृह नगर रौतहटको मौलापुरमा आम जनता पार्टीको भ्रातृ संगठन आईटी आर्मीको तेस्रो  राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्वमन्त्री साहले सो कुरा बताएका हुन्।

‘वर्तमान संवैधानिक व्यवस्था असफल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानुको विकल्प छैन,’ उनले भने, ‘देशलाई ठोस निकास दिन वर्तमान सरकार असफल भएकाले तत्काल विघटन गरी अब अन्तरिम सरकार गठन गर्नुपर्छ ।’

अन्तरिम सरकार गठनमा कुनै तत्त्व बाधक भएमा देश र जनताको पक्षमा आईटी आर्मीले अर्ध सैन्य शक्तिको बलमा समानान्तर सरकार निर्माण गरेर अगाडि बढ्नुपर्ने बताए। उनले यस विषयमा सबै देशभक्त युवाहरूलाई गम्भीर हुन आग्रह गरेका थिए।

अध्यक्ष साहले नेपाल सेनाको विकल्पमा आफ्नै आईटी आर्मी सेना तयार गर्ने बताउँदै विदेश बस्दै आएको नेताका छोरा छोरीको सम्पत्ति, पुँजीपतिको सम्पत्ति माथि झन्डा गाड्ने योजना रहेको बताए।

आम जनता पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्र भूषण साहको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमले भ्रष्टाचारको विरुद्ध संघर्ष गर्ने प्रतिबद्धता सहित राजनीतिक दस्ताबेज समेत पारित गर्दै नयाँ नेतृत्वको चयन गर्ने छ। 

कार्यक्रममा पार्टी उपाध्यक्ष एवं सभासद् तिलक थापा, महासचिव उपेन्द्र साह, उपमहासचिव अरुण घिसिङ, सचिवद्वय पूर्वसांसद समिना हुसैन र ज्ञानेन्द्र तामाङ, स्थायी कमिटी सदस्य धर्मेन्द्र सापकोटा, प्रदेश इन्चार्ज सुधीर यादव लगायतका नेताहरूले  शुभकामना  मन्तव्य राखेका थिए । आईटी आर्मीको प्रशिक्षण कार्यक्रम आगामी ५ दिनसम्म चल्ने बताइएको छ। उद्घाटन सत्रमा हजारौँ मानिसको सहभागिता रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप