सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आहा ! जाडोमा तात्तातो भक्का

बिहीबार, १९ पुस २०८०, १३ : ०४
बिहीबार, १९ पुस २०८०

  जाडो याम सुरु भइसकेको छ । यस सिजनमा विशेष गरी पूर्वी क्षेत्रमा भक्काको क्रेज बढ्दै गएको छ । तराईतिर लोकप्रिय रहेको भक्का जाडो याममा बिहानको खाजाका रूपमा खाने प्रचलन पूर्वी तराईमा अलि बढी छ ।

भक्का पूर्वी नेपालमा पाइने सुलभ मूल्यको लोकप्रिय परिकार हो । मोरङ, झापा र सुनसरीका ग्रामीण बजार वरपर जाडोको समयमा बिहान बाहिर सडक छेउछाउ मध्यम उमेरका महिलाहरू सडकमा वाफ उडाउँदै केही पकाइरहेका देख्न सकिन्छ । त्यो चामलको पिठोलाई बाफमा पकाएर बनाइएको एक प्रकारको केक हो । सो भक्का नुन–खुर्सानी वा घरमा बनाएको चटनीको साथ उनीहरूले केराका पत्ता वा टपरीमा हालेर ग्राहहरूलाई दिने गर्छन् ।

पुसमाघको चिसोमा बिहान सबेरै उठ्न जोकोहीलाई जाँगर नचल्नु स्वाभाविक नै हो । एकाबिहानै सिरक छाड्न नसक्नेहरू मुख धुन पनि नपरोस् झैँ गर्छन् । तर त्यस्तो चिसोको परवाह नगरी मध्यम उमेरका महिला दिदीबहिनीहरू चुलो र केही भाँडाकुँडा लिएर चोकका सडक छेउमा पुगिसकेका हुन्छन् । उनीहरूले नै बिहान बिहानै विभिन्न सडक किनारमा भक्काको व्यापार सुरु गर्छन् । 

सांस्कृतिक हिसाबले हेर्दा थारू समुदायले खाजाका रूपमा पकाउने परिकार हो भक्का । तर अहिले के थारू, के राई, के बाहुन, क्षेत्री सबै समुदायका मानिसले भक्का खान मन पराउँछन् । कतिले घर लगेर परिवारलाई समेत खुवाउँछन् । यसको व्यापार आजभोलि निकै नै वृद्धि भएको छ । धेरैको घरको चुलो बाल्ने माध्यम बन्दै गएको छ । 

चामलको पिठोबाट बनाइने यो परिकार पानी उमाल्दै बाफमा पकाइन्छ । तराईको मुटु कम्ने जाडोमा बिहान कलेज जान्ने विद्यार्थीदेखि मर्निङ वाक जानेहरूसमेत भक्का पाक्दै गरेको ठाउँमा पुग्ने हुँदा सडक किनारमा गरिने सो व्यापार निक्कै फस्टाएको हो । 

पछिल्ला दुई दशकमा पूर्वी तराईमा भक्का अविश्वसनीय रूपमा लोकप्रिय हुँदै गएको छ । अहिले काठमाडौँवासीहरूमा पनि यसको आकर्षण बढिरहेको छ । बिहानको खाजाका लागि राम्रो हुने र चिल्लो नहुने भएकाले ग्यास्ट्रिक पीडितहरूका लागि राम्रो हुन्छ । तातै खाँदा स्वादिलो हुने तथा पचाउन सजिलो र शरीर न्यानो हुने भएकाले जाडोमा भक्का सबैले मनपराइएको हो । चिसो मौसम सुरु भएसँगै ग्रामीण क्षेत्रको बजार होस् वा पूर्व–पश्चिम राजमार्गसँग जोडिएका चोक र बजार, भक्का नपाउने ठाउँ नै छैन । 

भक्काको व्यापारमा अधिकांश महिला 
भक्का बनाउने र बेच्ने धेरैजसो महिलाहरू छन् । सामान्यतया अन्य दैनिक काममा घर फर्कनुअघि राजवंशी गृहिणीहरूले बिहान सबभन्दा पहिले सडकमा गएर भक्का पकाउने र बेच्ने काम गर्छन् । परम्परागत प्रविधि र अग्र्यानिक घरेलु कच्चा पदार्थबाट भक्का बनाइने हुँदा यस खानामा केमिकल तथा शरीरलाई हानि गर्ने कुनै तत्त्व हुँदैन । त्यसैले पनि यो स्थानीय खानाको व्यापार राम्रोसँग चलिरहेको हो । 

तर यो परिकार जाडो मौसममा मात्र बनाइने भएकाले यसको मौसमी व्यापार मात्र हुने गर्छ । पहाडी जिल्लाका गाउँमा अहिले पनि भक्का बनाउने र खाने चलन छैन । तर सहर बजारका गल्ली तथा चोकमा भक्काको व्यापार फस्टाउने गरेको छ । राजवंशी समुदायले घरघरमा खाजाको रूपमा चामलको पिठोबाट बनाउने भक्का पछिल्लो समय तराईका विभिन्न जिल्लामा फैलिँदै इलाम, पाँचथरलगायतका पहाडी जिल्लामा पुगेको छ । हाल यो खाजाको व्यापार काठमाडौँका केही ठाउँमा समेत फैलिइसकेको छ । जाडो मौसममा चोक तथा गल्लीमा बसेर भक्का बनाउँदा शरीरलाई न्यानोसमेत हुने र केही रकम पनि बच्ने भएपछि महिलाहरू भक्का बेचेर नै गुजारा चलाउने गरेका छन् । भक्का बालबालिका, युवायुवती र वृद्धवृद्धा सबैले रुचाएर खाने गरेका छन् ।

झापास्थित शिवसताक्षीको बेङ्डाँडामा भक्का बनाउँदै आएकी एक महिला भन्छिन्, ‘भक्का भनेको सडकको खाना हो । हामीले पहिलो पटक रेस्टुरेन्ट खोलेर यस्तो वातावरण सिर्जना गरेका हौँ ।’ भक्काले पूर्वका मानिसहरूका लागि पनि धेरै सम्झनाहरू बोकेको छ । उनी भन्छिन्, ‘म सानैदेखि भक्का खाइरहेको छु । मलाई भक्का कसरी बनाउने थाहा थिएन तर यो रेस्टुरेन्टको कन्सेप्ट मसँग भएकाले मैले यसलाई कसरी बनाउने भनेर सिकेको छु ।’ 

झापाका एक ग्राहक भन्छन्– ‘झापाली स्वाद.. सम्झना ती स्कुलका दिनहरू, १० वर्षपछि झापाको याद आयो, त्यो टिम्बुरको आचार याद आयो ।’ राम्रो ठाउँ र स्वादिष्ट भक्काबारेका यस्तै अरू धेरै कमेन्ट छन् ।
झापाली जनताले मात्रै हैन अरू धेरै जसले पहिलो पटक परिकार खाए भने यसको प्रशंसा गाउँछन् । यस्तो अचम्मको खाना पहिले कहिल्यै प्रयोग नगरेको  र अरू धेरैले समान भावना साझा गरेको देखिन्छ ।
तपार्इंलाई नयाँ खानेकुरा खान मनपर्छ र परम्परागत नेपाली व्यञ्जनहरू अन्वेषण गर्न चाहनुहुन्छ भने यो चिसो जाडो मौसममा कम्तीमा एक पटक भक्काको परिकार खान सुझाव दिन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गौरव चापागाईं
गौरव चापागाईं
लेखकबाट थप