सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
आजको वामपन्थ

‘हामीले हिजो राजालाई जस्तै घेरा हालेर राख्ने संस्था बनायौँ’

हामीले नेकपा बनायौँ, टिकाउन सकेनौँ, फेरि सँगै सहकार्य गर्न पनि बहस गरौँ
बिहीबार, १९ पुस २०८०, १३ : ५२
बिहीबार, १९ पुस २०८०

हामी आजको वामपन्थको कुरा गर्दैछौँ । आजको वामपन्थलाई कसको आँखाबाट हेर्ने, वृद्ध वा ज्येष्ठ कमरेडको आँखाबाट कि युवाहरूको आँखाबाट ? 

हामी मञ्चमा बस्नेहरूले उमेर समूहका हिसाबले झन्डै झन्डै प्रौढहरूको आँखाबाट आजको वामपन्थको कुरा गर्दै छौँ । एउटा यस्तो बहसको प्यानल युवाहरूका लागि आवश्यक रहेछ । मैले ती युवाहरूको कुरा गर्दैछु, जो राजनीतिक जेनेरेसनका हिसाबले ०६२/६३ को जनआन्दोलनपछि नै मुख्य रूपमा आन्दोलनमा जोडिएका छन्, जसको उमेर समूह २५ देखि ३० वर्ष होला, जसले अहिलेको परिस्थितिमा बढी प्रश्नहरू उठाइरहेका छन् । 

त्यसैगरी ०४६ पछि र ०६२/६३ को आन्दोलनमा मुख्य भूमिकामा रहेका कमरेडहरू, प्राज्ञिकहरू वा वाम बुद्धिजीवी जे भने पनि उनीहरूको एउटा कोण वा एक खालको अनुभूति छ । आखिर हाम्रो सोच मूल रूपमा आफ्नो परिवेशबाटै बन्ने हो ।

यसैगरी पञ्चायतको कालरात्रि देखेका बुद्धिजीवीहरू र नेताहरूमा एउटा खालको सोच वा आदर्श बनेको छ । उनीहरूमा पछिल्ला घटना क्रमले पनि निश्चित रूपमा प्रभाव पारेको छ । यसो हुँदा यी तीन राजनीतिक पुस्तालाई समेट्ने खालका प्यानल छलफल आवश्यक जस्तो लाग्यो मलाई । 

अघिल्ला सेसनका कुरा सुन्दा मलाई लाग्यो— अहिले संकट कुन एजेन्डामाथि देखिएको हो, अथवा प्रश्न कुन एजेन्डामाथि उठेको हो ? संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता र सामाजिक न्याय नै अहिलेको मूल धार हो । यी पाँचवटा राजनीतिक पिल्लर (स्तम्भ)माथि अहिले प्रश्न उठिरहेको छ । यसमा झिनो रूपमा लेफ्ट (वाम) कोणबाटै प्रश्न उठेको छ । बढी प्रश्नहरू राइट (दक्षिणपन्थी) कोणबाट, अल्ट्रा राइट कोणबाट उठिरहेको छ । यसको (अहिलेको व्यवस्थाको) विकल्पमा कसैले सामन्ती र निरंकुश राजतन्त्रको कुरा गरिरहेका छन् । कतिपयले नयाँ भनिरहेका छन्, नयाँ भनेको बुर्जुवा विकल्प, बुर्जुवा पनि कस्तो भने नवउदारवादी र एकाधिकारवादी खालको । जसले मेरिटोक्रेसीमार्फत जान्नेले गर्ने, जान्नेलाई सुन्ने, सक्नेले गर्ने, सक्षमले गर्ने भनिरहेका छन् । 

आज दलितहरू राज्यका विभिन्न निकायमा छन्, जो हिजो न्याय खोज्दै हिँड्थे, आज उनीहरू न्याय दिने ‘जुडिसियरी’मा छिरेका छन्, यो उनीहरूलाई मन परिरहेको छैन ।

पछिल्लो खासगरी ०६२/६३ पछिको परिवर्तन हामी वामपन्थीहरूको नेतृत्वमा भयो भनेका छौँ । नेपालका कम्युनिस्टहरू निर्णायक भएको ०६२/६३ को आन्दोलनको वरिपरि नै हो । सात सालको परिवर्तन मूल रूपमा कांग्रेसको नेतृत्वमा भयो, ०४६ को परिवर्तनमा हामी सबै सहभागी भयौँ तर मूल रूपमा कांग्रेसको नेतृत्व रह्यो । 

अहिले ०६२/६३ को परिवर्तनमा हामी मूल रूपमा सहभागी भयौँ । आज यो नेतृत्व र यसले उठाएका परिवर्तनमाथि अहिले प्रश्न उठिरहेका छन् । अहिले दुईवटा कोणबाट प्रश्न उठिरहेको छ । एउटा सकारात्मक कोण छ (लेफ्ट कोण), जसले भनिरहेका छन्, यो परिवर्तनले पुगेन, यसमा अझ परिमार्जन गर्नुपर्‍यो । यो हाम्रो कित्ताको प्रश्नलाई सकारात्मक आलोचना र ऊर्जाको रूपमा लिनुपर्छ, यसले हामीलाई प्रेरित गर्छ । 

अर्को, नकारात्मक कोणबाट प्रश्न उठिरहेको छ । अहिले २५ प्रतिशत महिलाहरू ब्युरोक्रेसीमा छिरे, इतिहासमा पहिलोपटक नौजना सचिव महिला भए, यो उनीहरूलाई मन परिरहेको छैन । आज दलितहरू राज्यका विभिन्न निकायमा छन्, जो हिजो न्याय खोज्दै हिँड्थे, आज उनीहरू न्याय दिने ‘जुडिसियरी’मा छिरेका छन्, यो उनीहरूलाई मन परिरहेको छैन । धर्मनिरपेक्षता र संघीयता मन परेको छैन । 

संघीयता कार्यान्वयन भएपछि कर्णालीमा जीडीपीको ग्रोथ हेर्दा सबै प्रदेशमा भन्दा राम्रो छ । किनभने त्यहाँ नेतृत्व पुग्यो, बजेट पुग्यो । पाँच–दश लाख माग्न उनीहरू काठमाडौँ आउनुपरेन । यो मन परिरहेको छैन मान्छेहरूलाई । 

म आफैँ अर्थमन्त्री हुँदा हुम्लाबाट ठूलो डेलिगेसन आयो, पाँच–सात लाख रुपैयाँ खर्च गरेर । उनीहरूको माग हेर्दा दुई–चार करोडको थियो । अहिले ४० करोड हाराहारी बजेट त हुम्लाकै चङ्खेली गाउँपालिकामा जान्छ, यो मन परिरहेको छैन उनीहरूलाई । उनीहरूलाई यहीँबाट अह्रनखटन गर्नुपरेको छ, तल गाउँपालिकाले बिगार्‍यो भनिरहेका छन् । बिगार्ने मान्छे यहीँ बसिरहेका छन् । यो नकारात्मक प्रश्न हाम्रो कित्ताको होइन । यसलाई खण्डन गरिनुपर्छ, यो बेठिक कुरा हो । 

तत्कालीन राष्ट्रपतिले बजेटको अध्यादेश रोकिराख्नुभएको थियो, बजेटको क्राइसिस थियो, कामचलाउ बजेटले काम चलाइएको थियो । त्यो अवस्थामा त्यहाँ सचिवालय बसेछ र राष्ट्रपति निवास विस्तार गरेर सुविधा थप्ने कुरा गरेछ । स्विमिङ पुल बनाउने, ज्याकुजी राख्ने, साउना राख्ने के के भनेर झन्डै २८–३० करोडको प्रस्ताव लिएर आए ।

गणतन्त्र आएपछि कति राजा भए, त्यही राजतन्त्र ठिक थियो, हामी दास हुन योग्य छौँ, रैती हुन योग्य छौँ भन्ने खालका कुरा आइरहेका छन् । यो बेठिक स्कुलिङ हो । 

हो, गणतन्त्र हामीले सोचेजस्तो भएन, यस कोणबाट पनि प्रश्न उठिरहेका छन् । हामीले जनताका छोराछोरी त्यहाँ (राष्ट्रपतिमा) पुर्‍यायौँ । एउटै मञ्चमा बस्ने आफ्नै नेता, आफ्नै कमरेड, लोकतान्त्रिक आन्दोलनमा हिँडेका समकालीनहरू राष्ट्रपति भएपछि दूरी बढ्यो । कुरा गर्दा पनि राष्ट्रपति सोफामा अर्को भुइँमा वा प्लास्टिकको कुर्सीमा बस्नुपर्ने भयो, यो मन परेन जनतालाई । म आफैँ अर्थमन्त्री हुँदा पनि एउटा विचित्रको घटना सामना गरेको छु । तत्कालीन राष्ट्रपतिले बजेटको अध्यादेश रोकिराख्नुभएको थियो, बजेटको क्राइसिस थियो, कामचलाउ बजेटले काम चलाइएको थियो । त्यो अवस्थामा त्यहाँ सचिवालय बसेछ र राष्ट्रपति निवास विस्तार गरेर सुविधा थप्ने कुरा गरेछ । स्विमिङ पुल बनाउने, ज्याकुजी राख्ने, साउना राख्ने के के भनेर झन्डै २८–३० करोडको प्रस्ताव लिएर आए । अप्ठेरो भयो, के गर्ने ? राष्ट्रपति कार्यालयलाई नो भन्न सकिएन । बजेट थिएन । बजेट भए पनि त्यसो गर्नु उचित थिएन । हामी बल्ल गणतन्त्रमा आएका छौँ । मैले बल्लबल्ल सचिवलाई गुहारेर भनेँ— तपाईंले कुरा मिलाउनू, मलाई राजनीतिक रूपमा अप्ठेरो भयो । त्यसपछि राष्ट्रपति कार्यालयको सहसचिवलाई बोलाएर भनियो — हामी कुन व्यवस्थामा छौँ ? गणतन्त्रमा । हाम्रो राष्ट्रपति को हुनुहुन्छ ? भैँसी गोठालो । अनि राष्ट्रपतिलाई बिगार्ने ? यसरी हकारेपछि गल्ती भयो भनी फर्के, बल्ल जोगियो । मैले यो किन भन्दै छु भने, यस्तो प्रवृत्ति हामीमै आयो । यसैलाई हो सच्याउन खोजेको । 

एकपटक राष्ट्रपति भेट्नलाई मोबाइल बन्द गरेर बाहिर राखेर जाने भनियो । मैले बरु भेट्दिनँ भनेर निस्केँ । भनाइको मतलब व्यक्तिको दोष होइन, हामीले हिजो राजालाई जस्तै घेरा हालेर राख्ने संस्था बनायौँ । सुरक्षा थ्रेट हुनेलाई घेरा पनि हाल्नुपर्छ, किनभने नेता त बचाउनुपर्‍यो । गर्दागर्दा नगरपालिकामा पनि नगरप्रहरीलाई पीएसओ लिएर हिँड्लान्जस्तो भयो । यसैलाई हो मन नपराएको । यो हाम्रो कित्ताको कुरा हो, यसलाई करेक्सन गर्नुपर्छ । 

हामी पोस्टमै बसेका मान्छेहरू बिग्रेका छौँ, हामीले निसर्त आत्मालोचना गर्नुपर्छ । गणतन्त्र यस्तो होइन । कमभन्दा कम खर्च, कमभन्दा कम मर्यादा, कमभन्दा कम औपचारिकता खोजिएको छ । हो, सम्मान गर्नुपर्छ तर सामन्ती र आडम्बरीपन आउनुभएन । किनभने हाम्रा संस्थालाई बलियो र विश्वासिलो बनाउनुपर्नेछ, यसमा बहस गरौँ । 

०६२/६३ को परिवर्तनपछि ३३ प्रतिशत महिलाको नाममा सम्पत्ति छ । महिलाले दाजुभाइसरह सम्पत्ति पाउँछन् । अब सामाजिक सम्बन्ध फेरियो, त्यहाँ हामीले बहस गरौँ । सम्पत्ति बराबर, चाडपर्वमा पाहुनालाई ऋण गरेर पनि खुवाउनुपर्ने, अलिकति उपहार पनि दिनुपर्ने, अब दिदीबहिनीले यो अपेक्षा गर्नुभएन । सम्पत्ति बराबर, बुवाआमा दाजुभाइले हेर्ने, यो त राम्रो भएन । सम्पत्ति सम्बन्ध फेरिएपछि संस्कार पनि फेरिनुपर्‍यो । दाजुभाइलाई पनि बोलाउनुपर्‍यो, खुवाउनुपर्‍यो, यो हो नि हामीले विकास नगरेको । यो परिवर्तन हामीले देखेका छैनौँ । पहिले पितृ सत्तात्मक समाज थियो, पुरुषको घरमा महिला जान्थे, आज सल्लाह गरेर महिलाको घरमा जानुस् या पुरुषको, या त सम्पत्ति बेचेर तेस्रो ठाउँमा घर बनाउनुस् । यहाँ बहस खोइ हाम्रो ? यसो हुँदै गर्दा नयाँ संस्कृति र परम्परा बस्थ्यो । यी कुरा हाम्रा कित्ताका हुन् । 

अहिलेको संकटको कुरा गर्दा— हिजो हामीले पुष्पलाल कमरेडको नेतृत्वमा जनवादी क्रान्तिको विकल्प दियौँ । बिस्तारै बिस्तारै विभिन्न प्रयोग हुँदै शान्तिपूर्ण ढंगले संसदबाट, विभिन्न हस्तक्षेपबाट र अर्कोतिर जनयुद्धबाट हामी आयौँ । ०६२/६३ को आन्दोलनपछि दुइटैलाई जोडेर हामीले रूपान्तरण गरेको तथ्य हो । आ–आफ्नो दाबी होला, माओवादीले भन्यो— गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्याय यी पाँच चिज भयो भने नेपालमा बुर्जवा रेभोलुसन मोटामोटी पूरा हुन्छ । सायद यसमा सबै वाम पार्टी र अरु पनि आएर हामी यहाँ आयौँ । 

समाजवादी विकल्पका नीति तथा कार्यक्रममा बहस गरौँ । वामहरूले कुनै न कुनै रूपले एकता र सहकार्यबाट विकल्प दिन सक्यौँ भने देशको भविष्य छ ।

यही व्यवस्थामाथि प्रश्न उठिरहेको छ, यसलाई सुधार केले गर्ने भन्दा एकातिर केही अधिकारहरू अपर्याप्त छन्, पर्याप्त गर्नुपर्‍यो । केही प्राप्त अधिकारलाई कार्यान्वयन गर्दा विकृति आएका छन्, सुधार गर्नुपर्‍यो । अब अगाडिको बाटो भनेको समाजवादको बाटो हो । समाजवाद मूल धार हो, यही नयाँ हो । समाजवादका कार्यक्रममा बहस गरौँ, त्यो नयाँ हुन्छ । होइन भने बुर्जवाहरू, नवउदारवादीहरू नयाँ हुन्छन् । काठमाडौँमै देखियो, यहाँ ठेलागाडालाई लखेटियो, नयाँ भयो । अब हामीले भन्नुपर्‍यो, त्यो वर्गको व्यवस्थापन गरेर सहर व्यवस्थित गर्ने । सहर कसको हो ? मजदुरदेखि पुँजीपतिसम्म सबैको । एकथरीले के भने भने— सहर हुने खानेहरूको हो, सम्भ्रान्तहरूको हो । हामीले भन्यौँ, जनताको सहर हो । सहरलाई सफा राख्ने विकल्पहरू होलान् । हामीले यसमा विकल्प दिन सकेनौँ भने अरुले लिन्छ । 

०६४ को चुनावमा आइपुग्दासम्म माओवादीलाई सबैले विश्वास गरे, एउटा विकल्प देखे । टुटफुट आदि हाम्रो कमजोरी भयो, संविधान लेख्न सकेनौँ, माओवादीको गल्ती हो सबैभन्दा बढी त्यहाँ स्वीकार गर्नुपर्ने । त्यसपछि राप्रपाले केही सिट ल्याएर दक्षिणपन्थी विकल्प देखिन खोजेको थियो । पछि हामीले नेकपा बनायौँ । विकल्प दिन्छौँ भन्यौँ, दिन सकेनौँ, टुटफुट भयो । अहिले विकल्प नवउदारवादी कोणबाट आइरहेको छ । त्यस कारण समाजवादी विकल्पका नीति तथा कार्यक्रममा बहस गरौँ । वामहरूले कुनै न कुनै रूपले एकता र सहकार्यबाट विकल्प दिन सक्यौँ भने देशको भविष्य छ । यो सम्भव छ, असम्भव छैन । यसमा त्यसपछि नेतृत्वको बहस होला, संगठनको बहस होला, वा संयुक्त मोर्चाका रूपहरू होला, यसमा बहस गर्न सकिन्छ । 

अहिले घनश्याम भुसालले मलाई घोँचपेच गर्ने, तिम्रो समाजवाद कोसँग आउँछ देशमा भन्ने भन्दा पनि अहिले माओवादी कोणबाट हेर्दा शान्ति प्रक्रियाका कैयौँ कुराहरू छन् र सहयात्री छौँ । सशस्त्र संघर्ष र शान्तिपूर्ण संघर्ष मिलाएर अहिलेको उपलब्धि भएको छ । यसमा टेकेर समाजवादतर्फ जाने हो भने समस्याहरू सँगै हल गरौँ । अहिले हामीले कांग्रेसलाई पनि सँगसँगै विश्वासमा लिएर हल गर्न खोजिरहेका छौँ । यो जरुरी छ, किनभने हामी ०६२/६३ को जनआन्दोलनका सहयात्री हौँ । त्यसकारण घोँचपेचभन्दा पनि मिलनबिन्दु र सहकार्यका बिन्दुहरू खोज्नुपर्नेछ । अहिले आजै गठबन्धन फेरौँ, सरकार फेरौँ भन्ने भन्दा पनि वैचारिक विकल्प दिनुपर्‍यो । यतातिर बहस भयो भने विकल्प रहेछ भनेर समाज फेरि आशावादी हुन्छ । 

हाम्रो सातौँ महाधिवेशन जो २०६८ मा हेटौँडामा भएको थियो, त्यहाँदेखि नेपालमा आफ्नो मौलिकतासहित पुँजीवादी जनवादी क्रान्ति पूरा भयो भन्यौँ । आठौँ महाधिवेशनमा हामीले भन्यौँ– समाजवादको नेपाली बाटो । 

आजको समाजवाद र माक्र्सवादको कुरा गर्दा, प्रत्येक क्रान्तिका शिक्षाहरूसहितको माक्र्सवादको कुरा गर्नुपर्छ । २०औँ शताब्दीमा विश्वमै समाजवादको लहर थियो, त्यतिबेला कतिपय अभ्यासहरू असफल भए, कतिपय अहिले परिष्कृत ढंगले चलिरहेका छन्, यी सबैको शिक्षाबाट हामीले आर्जन गरेको शिक्षासहितको माक्र्सवादको आवश्यकता छ । 

२०औँ शताब्दीको अभ्यासको शिक्षाबाट आजको समाजवाद, त्यसका नेपाली आयामहरू पनि हुन्छन्, माक्र्सवादलाई निर्देशक सिद्धान्त वा मोटामोटी बाटो देखाउने सिद्धान्तका रूपमा हामीले लिएका छौँ । यसलाई विज्ञानको अर्थमा निरन्तर विकास गरिरहनुपर्छ । हामीले नेपालमा केही शान्तिपूर्ण र केही सशस्त्र अभ्यास गर्‍यौँ । हाम्रो आफ्नै समाजको विविधतालाई हेर्दा त्यसलाई सम्बोधन गर्ने, त्यो उत्पीडनलाई अन्त्य गर्ने प्रयत्न गर्‍यौँ, कार्यक्रम अगाडि बढायौँ । जुन मूल रूपले वैज्ञानिक पुष्टि भएको छ भन्ने म आफ्नो दाबी राख्न चाहन्छु । 

कम्युनिस्टहरूले भन्ने गरेको नयाँ जनवादी क्रान्ति भन्दा पनि पुरानो जनवादी क्रान्ति र नयाँको मिश्रण खालको हाम्रो मौलिकताको पुँजीवादी क्रान्ति भएको मान्नुपर्छ, वा यही निष्कर्षमा पुग्नुपर्छ भन्नेमा हामी मुख्य–मुख्य पार्टी पुगेका छौँ । त्यसैले यही वरिपरि हाम्रा केही समझदारीहरू बन्नुपर्छ । त्यसो हुँदा हिजो पुँजीवादी जनवादी क्रान्तिको एजेन्डाका रूपमा महिला मुक्ति, जनजाति मुक्ति, दलितहरूको मुक्ति, अल्पसंख्यकहरूको अधिकार या क्षेत्रीय विभेदहरूका कुरा आए, यही नै हाम्रो पार्टीको निष्कर्ष हो । अब यसलाई कसरी परिमार्जन गर्ने, त्यसमा अपूर्णताहरूलाई समाजवादी क्रान्तिमा कसरी अगाडि बढाउने भन्यो भने बहस अलि ठिक ठाउँमा पर्छ । 

अहिले केही साथीहरूलाई देशमा संवैधानिक, कानुनी, व्यावहारिक, सांस्कृतिक कति धेरै रूपान्तरण भइसक्यो, अब केहीलाई परिष्कार गर्नुपर्छ भन्ने लागेको छ । केहीलाई होइन हामी त्यहाँ पुगेकै छैनौँ भन्ने लागेको छ । त्यस कारण यही वरिपरि समाजवादी कार्यदिशाभित्र विविधताहरूलाई सम्बोधन गर्नुपर्नेछ, मूल कुरा क्लास (वर्ग)लाई केन्द्रमा राखेर । नेपालमा क्लास कसरी बन्छ भन्ने पनि बहस छ, यसमा हामी बहस गर्न सक्छौँ । 

सदन हाम्रो मूल मोर्चा हुने, नेता जति सदनमा बस्ने तर सदनमा हुनेसँग पार्टी नजोडिने भएपछि सांसदको रिपोर्ट कार्ड पार्टीमा गएन ।

यसरी हेर्दा अहिले हाम्रो कार्यदिशा समाजवाद हो, यसमा हामी धेरै वामपन्थी एक ठाउँमा छौँ । यसमा सरकार, सदन र सडकको प्रयोग गर्ने भनिरहँदा कहिलेकाहीँ के कुराको अभाव जस्तो लाग्छ भने, हामीले पार्टीलाई मात्रै रूपान्तरण गर्न खोजिरहेका छौँ । सरकारमा गएको पार्टीको नेताको रिपोर्ट कार्ड हामीले कहाँ लिन्छौँ, कसरी लिन्छौँ ? पार्टी सिङ्गै कसरी त्यो सरकारलाई सफल बनाउन लाग्छ ? सबै वामपन्थी पार्टीमा हेर्दा यी कुरा देखिँदैन । प्रधानमन्त्री हो, तर पार्टीको नेता प्रधानमन्त्री हो, सम्पूर्ण पार्टीले त्यसलाई कसरी स्वामित्व ठान्छ भन्ने प्रश्न हुन्छ । 

०५१ सालतिर तत्कालीन एमालेको सरकार हामी देख्यौँ, सरकारकै वरिपरिबाट तलैसम्म पार्टीको मुभमेन्ट भयो । आफ्नो गाउँ आफैँ बनाउँ भनेर तीन लाख बजेट पठाएर त्यही वरिपरि मास मोबिलाइजेसन देखिन्थ्यो । त्यसपछि हेर्दा हामीले त्यस खालको मास मोबिलाइजेसन देख्दैनौँ । के भयो भने– सरकारमा जाने मूल नेतृत्व एकातिर हुने, पार्टी पंक्ति अर्कोतिर बस्ने । पार्टी पंक्तिले आलोचना गरेर बस्ने । यहीँनेर कहीँ न कहीँ हामीमा अभाव खड्कियो । 

सदन हाम्रो मूल मोर्चा हुने, नेता जति सदनमा बस्ने तर सदनमा हुनेसँग पार्टी नजोडिने भएपछि सांसदको रिपोर्ट कार्ड पार्टीमा गएन । यसो हुँदा कस्ता कानुन बन्दै छन्, जनताका बीचमा कस्ता बहस उठिरहेका छन् भन्ने पार्टीमा छलफल हुन पाएनन् । तर यो पुगेन, त्यो पुगेन भनेर आलोचना र खिसिट्युरी चलिरह्यो । यसो हुँँदा हामी जनताको बिचमा जान सकिरहेका छैनौँ । यस कारण जनप्रतिनिधिहरू जनतासम्म जाने तरिकाहरू के हुन् ? सम्पूर्ण पार्टी पंक्तिले सरकार र सदनका कामहरूलाई कसरी जनतामा पुर्‍याउँछ, जनताबाट कसरी सुझावहरू लिन्छन् ? यी कुरामा हाम्रा केही न केही कमजोरी छन् । 

जनयुद्ध कालमा हरेक नेताले प्रशिक्षण गर्दा युद्धलाई समर्थन गर्ने, युद्ध नीतिलाई पुष्टि गर्ने, त्यहाँ कार्यकर्ता पठाउने गथ्र्यौं । माओत्से तुङको हेर्दा पनि तीन काम स्ट्यान्ड बाई हुन्थ्यो । अहिले हाम्रा वाम पार्टीहरूको काम के त ? सरकारको काम, सदनको काम र जनताको काम त हो । यी काममा पार्टीसँग तालमेल नमिल्दा कहीँ न कहीँ कमी जस्तो भएको छ, हाम्रा काम नदेखिनेजस्तो भएको छ । 

यो अवस्थामा अहिले हामी वाम पार्टीहरू सहकार्य गर्न सक्छौँ । नेकपा हुँदा पनि घनश्याम कमरेड, प्रदीप कमरेड लगायत धेरै कमरेडहरूसँग मेरो कुरा भयो — हामी हतार हतार एकता गरिहाल्यौँ, यसलाई टिकाउनैपर्छ । टिकाउन सकेनौँ भने कमसे कम हामी युनाइटेड फ्रन्टमा बस्छौँ । जहाँ हाम्रो मूल लक्ष्य बुर्जुवाहरूलाई साइज डाउन गर्ने, हामी आफूलाई एक गर्ने र यो देशमा एकभन्दा बढी कम्युनिस्ट पार्टीहरू हुने छैन भन्ने सोचमा त पुगौँ कमसे कम । 

अफ्रिकामा अफ्रिकन नेसनल कंग्रेसले लेफ्टहरूदेखि बुजुर्वाहरूलाई एकै ठाउँमा राख्यो । हामीले आफूलाई कम सोच्यौँ । बुजुर्वा पार्टीहरू धेरै छन्, सबैको टार्गेट लेफ्टहरूतिर छ । सबै प्रोग्रेसिभहरूलाई हान्ने र कमजोर बनाएर एक वा अर्को गुटले शासन गर्ने खालको परिस्थिति देखिन्छ । हामी वामजति आफूले आफ्ना ग्रुपलाई सिध्याएर बुर्जवासँग मात्रै सहकार्य गर्ने भन्नेजस्तो जो भयो, अब कहीँ न कहीँ हामीले यो भाष्य परिवर्तन गर्नुपर्छ । अन्तिममा भन्दा हामीले नेकपा बनायौँ, टिकाउन सकेनौँ, फेरि हामीले कुनै न कुनै रूपमा यो बहस गर्नैपर्छ । जे भने पनि हामी फेरि सँगै सहकार्य गर्न पनि बहस गरौँ । हामीले कार्यशैलीमा बहस गरौँ, कुनै न कुनै रूपमा फेरि आम जनतामा आशा जगाउन सकिन्छ । पछिल्लो निराशा भनेको नेकपा फुटेरै हो, हामीले डेलिभरी गर्न नसकेरै हो । यसमा म पनि जिम्मेवार नेताको हिसाबले कमजोरी स्विकार्छु । नेताहरूले पनि स्विकार्नुपर्छ । अनि त्यहाँदेखि हामीले बहस सुरु गरौँ । बाँकी हिजो नेकपामा नरहनुभएका साथीहरू, कमरेडहरूसँग पनि हामीले एक ढंगले छलफल गरौँ, यसमा हामी ओपन नै छौँ । 

(नेपाल अध्ययन केन्द्रद्वारा आयोजित आजको वामपन्थ– २ गोष्ठीमा माओवादी नेता वर्षमान पुनले बोलेका विषयको सम्पादित अंश ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वर्षमान पुन
वर्षमान पुन
लेखकबाट थप