शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
लघुकथा

तीन लघुकथा

शनिबार, २१ पुस २०८०, ११ : ४६
शनिबार, २१ पुस २०८०
  • हिसाब

पढाइ सकिएपछि उसका तनावका दिन सुरु भए । घरबाट पैसा माग्न पनि मिलेन । भोकभोकै कसरी बस्नु ? कामको खोजीमा दिनभर हिँड्यो तर खिइएर जुत्ताको तलुवा प्वाल पर्छन्, काम पाउँदैन । 

निजी क्षेत्रको व्यापारिक फर्ममा गयो ‘व्यवसाय राम्रो छैन, नयाँ मान्छे काममा राख्न मिल्दैन’ भन्छन् । सरकारी जागिर स्थायी खुले पनि तीव्र प्रतिस्पर्धाले नाम निकाल्न गाह्रो छ । अस्थायी र करार खुलेको थाहा उसले पाउँदैन । ‘साथी कता हो, एक्लै लुखुर लुखुर ?’ उसको नजिकै कार रोकेर भित्रबाट कसैले भन्यो  । उसले हेर्‍यो तर चिन्न समस्या भयो । ‘हेर न यसको नाटक, चिनिएन कि कसो ? म हरिचन्द्र हो तर यहाँ हरिस् भन्छन् ।’ कारभित्रैकाले चिनायो । ‘पन्ध्र वर्ष भएछ त भेट नभएको कसरी चिन्नु ?’ 

उसले कक्षा ६ मा फेल भएपछि दिल्ली जान्छु भनेर हिँडेको साथीलाई आज अकस्मात् भेट्दा अचम्म मान्दै भन्यो । ‘आऊ यार कहाँसम्म हो । मैले त तिम्रो निधारको खतले चिनिहालेँ ।’ हरिचन्द्रले  भन्यो । 

‘के गर्दै छौ त आजभोलि ? निकै राम्रो कार लिएका रहेछौ ?’ उसले हरिचन्द्रलाई सोध्यो । 

‘के गर्नु यार, तिमी जस्तो पढ्न सकिएन । फेल भए पछि दिल्ली जान्छु भनेर हिँडेको उताबाट फर्केको नरेले भैरहवाबाट यता ल्यायो । अरूको पछि पछि लाग्दा काम सिकियो । राजनीतिका नेतासँग पनि चिनजान भयो । अहिले त जो मन्त्री भए पनि आफ्नै जस्तो लाग्छ ।’ हरिचन्द्रले भन्यो । 

उसले अझै कुरा बुझेन सोध्यो, ‘काम त के गर्ने हो नि ?’ 

‘के हुनु, जे काममा कमिसन आउँछ त्यही गर्ने हो । माथिबाट तलसम्म बाँडेर खान जान्नु पर्छ । गुजारा चलेकै छ ।’ हरिचन्द्रले भन्यो । यता उसको मनले हिसाब निकाल्यो । उसको जीवनका विद्यालयका छ, सात  वर्ष, कलेजका छ, सात वर्ष त्यत्तिकै खेर गएछन् ।

  • चाड

‘बा छिटो हिँड न घर ।’ उसले भन्यो । 

‘धेरै नकरा, एकछिनमा आउँछु ।’ 

बुबाले भनेपछि ऊ घर फर्कियो । छोरो एक्लै फर्केपछि आमालाई रिस उठ्यो । 

‘बुबालाई भेटिनस् ?’ आमाले हकारिन् । 

उसले के गरोस् । उसको बाबुले नै नमाने पछि । ‘आमा भोक लाग्यो मलाई खाना देऊ न,’ छोरो करायो । 

‘आज चाडको दिन तेरा बा पनि काममा गएका छैनन्, मैले पनि छुट्टी मागेकी छु । आज त सँगै खाने हो । जा बालाई बोलाएर ल्या त ।’ आमाले छोरालाई अह्राइन् । ऊ पुनः तल गैरी गाउँ झर्‍यो । पाखुरीको बोटमुनिको बाटो हुँदै बाबु छोरा आएको देखियो । ‘अघिबाट भोक लाग्यो भन्दै थियो । आत्तिएछ बिचरा छोरो अगाडि अगाडि दौडिएको छ ।’ उनले मनमनै भनिन्  । 

छोराको पछि पछि आएको बाबुले आमा चाहिँको जगल्टा समातेर पछार्‍यो र भन्यो ‘आज चाडको दिन, बल्ल तासमा दाउ लाग्न लागेको थियो । यो अलच्छिनाले बोलाउन पठाएकी छ, पठाएकी छ ।’ भाँडाको चाम्रे र तरकारीले हेरिरहेका थिए ।

  • इज्जत

‘बुहारी किन निकै खुसी छौ त ?’ आमाले सोध्नु भयो । ‘बाहिर सानो मामाको छोरा आउनुभएको छ ।’ मैले भने । ‘ए राम्रो भएछ । हिजो ठुलो मामाको छोरा आए आज सानो मामाको । रमाइलो हुने भयो तिमीलाई ।’ आमाले भन्नुभयो । ‘आमा दाइलाई चिया दिएर म मासु लिन जान्छु ल ?’ मैले भने । 

‘ल हुन्छ छिटो गर ।’ आमाले भन्नुभयो । दाइलाई चिया दिएँ र मासु पसलमा गएर मासु लिएर आएँ । 

‘ल तिमी दाइसँग कुरा गरेर बस्, आज भान्सामा म  पस्छु  ।’ आमाले  छोरीलाई जस्तै व्यवहार गरेर भन्नु भयो ।

‘एक्लै अप्ठ्यारो हुन्छ कि ?’ मैले भने, ‘खाना नपकाएको हो र ? ढुक्क भए हुन्छ । बरु हिजोको बाबुलाई कालो चियामा टार्‍यौ नि तिमीले ।’ आमाले भन्नुभयो । 

‘सानो मामा कति धनी हुनुहुन्छ, इज्जत राख्नुपर्‍यो ।’ मैले आमालाई सुटुक्क भनेँ । ‘माइती, मावली पनि धनी र गरिब भनेर छुट्याउनुहुन्छ त लाटी ।’ आमाले मायालु पाराले सम्झाउनुभयो । मलाई भने आफ्नै व्यवहारले मुटु घोच्न थाल्यो ।

पोखरा–७, मासबार, कास्की 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप