सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
खेलाडी

गोल्ड मेडालिस्ट कराँते खेलाडी तिलुको कथा (भिडियो)

मोटाएर १०४ केजी पुगेपछि श्रीमान्सँग डिभोर्स, ५१ केजी तौल घटाएर जितिन् ब्युटी प्याजेन्टको टाइटल
शनिबार, २१ पुस २०८०

नेपाली कराँते खेलाडी हुन्, तिलकुमारी गलामी अर्थात् तिलु राना । भारतको कोलकातामा जन्मिएकी राना ११ वर्षको उमेरबाटै खेल जीवनमा प्रवेश गरेकी थिइन् । 

बक्सिङबाट खेल करियर सुरु गरेकी तिलुले आफ्नो परिचय भने कराँतेमा बनाइन् । १९९४ देखि २०११ सम्म खेल जीवनमा सक्रिय रहँदा रानाले गोल्डमेडलसहित थुप्रै मेडल हात पारिन् । 

तर वैवाहिक जीवनमा बाँधिएपछि र छोराछोरी जन्मिएपछि उनको कराँते करियर सोचेअनुरुप बढ्न सकेन । तैपनि तिलु आज स्पोर्ट ट्रेनर, बक्सर, एमएमए, योगा, जुम्बा, एरोविक्सआदि क्षेत्रमा प्रशिक्षकका रूपमा समेत उभिएकी छिन् । 

खेल जीवनमा मात्र नभएर तिलुले आफ्नो ४१ वर्षको उमेरमा ब्युटी प्याजेन्ट ‘मिस एण्ड मिसेस युनिभर्सल अफ २०२३’ मा सेकेन्ड रनरअप हुँदै टाइटल विनरको अवार्डसमेत हात पारिन् । पछिल्लो समय बागबाजरमा एक फिटनेस सेन्टर सुरु गरी आफैँ ट्रेनरका रूपमा रही व्यावसायिक जीवन पनि बिताइरहेकी छिन् । उनी अभिनय क्षेत्रमा पनि आफूलाई सक्रिय छिन् । 

श्रीमान्सँग डिभोर्स, ४ जना छोराछोरी र सासूको जिम्मेवारी बोध गरिरहेकी तिलुको जीवन आफ्नै गतिको छ । आफ्नै मोटोपनामाथि श्रीमान्को भद्दा मजाक अनि त्यसैले लिएको डिभोर्सको रूपले उनको मन आज पनि दुखाइरहन्छ । 

तर, जीवनमा हार्नु हुन्न भन्ने बुझेकी तिलु जसले १०४ केजी तौललाई घटाएर आज ५३ केजीमा उनी बाँची रहेकी छिन् । यी र यस्तै विषयमाथि उनै खेलाडी, मोडेल, स्पोर्टस् ट्रेनर तिलु रानासँग गरिएको विशेष संवाद : 

403636698_1045847119965378_2742138286999069110_n

 

  • खेल जीवन अनि खेल यात्रा कहाँबाट सुरु भयो ?

मेरो बुबा भारतीय आर्मी । उहाँ बक्सिङ खेलाडी हुनुहुन्थ्यो । उहाँबाट प्रेरणा पाएर नै म बक्सिङमा लागेकी हुँ । रफ गेम भएको हुनाले र भारतमा खासै केटी मान्छेले बक्सिङ खेलेको कदर नहुने हुनाले पनि त्यसलाई निरन्तरता दिन सकिनँ । पछि नेपाल आएर म १९९४ देखि कराँतेमा प्रवेश गरेकी हुँ । जसका लागि स्वर्गीय मेरा गुरुको प्रेरणा महत्त्वपूर्ण रह्यो । 

  • ११ वर्षकै उमेरदेखि खेलकुदमा सक्रिय हुनुहुन्छ, तपाईंको जन्म, पढाइ कहाँ भयो? 

मेरो जन्म कोलकातामा भएको हो । पेसाका कारण बुबा भारतमा बस्ने भएकाले उतै हुर्किएँ, पढेँ । १० वर्षको उमेरमा नेपाल फर्किएपछि खेलकुदमा सक्रिय भएकी हुँ । यद्यपि मेरो खेल जीवन नेपालका लागि भारतमा धेरै रह्यो । 

  • कराँते खेलमा थुप्रै मेडलहरू जितिसक्नुभएको छ । एउटा महिलाका लागि सन् १९९४ को समयको समय कति संघर्षपूर्ण थियो ? पारिवारिक सहयोग कस्तो थियो ?

घरमा आमाबुबामात्र होइन समाजले पनि महिलाका लागि खेलकुदमा बन्देज जस्तै थियो । बच्चा जन्माउने छोरी मान्छेलगायतका कुराले पनि छेकथुन हुन्थ्यो । तर त्यो बेला हामी दुई बहिनी मात्र थियौँ र बाबाले मलाई मेरो छोरा नै यही हो भनेर हिम्मत दिनुहुन्थ्यो । जसका कारण आज म यहाँ छु । बाबाले दिनुभएको हिम्मत र आँटले नै म यहाँ आइपुगेकी हुँ । त्यो समय महिलाहरूलाई देश विदेश गएर खेल्ने अनुमति चाहिँ थिएन ।

393133488_207300792463461_4691085445074607486_n

  • तपाईंले आफ्नो जीवनका अधिकांश प्रतियोगिताहरू भारतमा खेल्नु भएको देखिन्छ, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट मेडलहरू पनि जित्नु भएको छ तर त्यो हिसाबले नेपालमा तपाईंको चर्चा कम भएको हो?

जतिबेला म खेलाडीका रूपमा स्थापित थिएँ, म चर्चित नै थिएँ जस्तो लाग्छ । बिचमा मेरो आफ्नो लिगेसी चाहिँ टुटेको हो । परिवार भएपछि सबै ध्यान परिवारतिर गयो । यद्यपि कराँतेलाई निरन्तरता त दिइनैरहेँ । ट्रेनिङ चलिरहन्थ्यो । यद्यपि जे हुनुपर्थ्यो त्यो चाहिँ नभएकै हो, आज आएर महसुस हुन्छ । 

  • तपाईंको खेल जीवनमा प्राप्त गर्नु भएका महत्त्वपूर्ण उपलब्धि र मेडलहरूका बारेमा सम्झन सक्नुहुन्छ ?

मैले १ दर्जनभन्दा बढी मेडलहरू जितिसकेपछि ‘हाम्रो गोरेटो’ भन्ने पत्रिकामा मेरो सफलताका बारेमा छापिएको थियो । आज पनि मेरो बायोडाटामा भारतमा भएका प्रतियोगिता र प्राप्त उपलब्धिको लामै लिस्ट छ । अनि जति मलाई याद थियो त्यति मैले सम्झने गरेकी छु । सार्क राष्ट्रका सबै राष्ट्रमा पुगेर खेलेकी छु र त्यहाँ पनि केही न केही उपलब्धि हासिल गरेर फर्किएकी हुन्थेँ । तर ती सबैका बारेमा चाहिँ सबैलाई जानकारी गराउन म असफल जस्तै बनेकी छु । लाग्छ आफ्ना उपलब्धिहरूका बारेमा बुझाउन नजान्नु मेरै कमजोरी होलान् कि ! 

  • गोल्ड मेडलिस्ट भएर पनि किन गुमनाम भन्ने प्रश्न धेरैले सोध्लान् अथवा ट्रेनिङदेखि लिएर कराँतेमा ब्ल्याक बेल्ट, रेफ्री तथा निर्णायकसम्म आइपुग्दा चर्चा र परिचयमा तपाईं किन पछाडि पर्नुभयो ? 

तपाईंले सोध्नु भएजस्तै छैटौँ अन्तर्राष्ट्रिय कराँतेमा म एक्लैले ३ वटा गोल्ड मेडल र १ सिल्भर मेडल जितेकी थिएँ । अन्य विभिन्न विधामा पनि मैले कराँतेमा आफ्नो बलियो स्थान बनाएर आज रेफ्री र निर्णायकमा समेत काम गरिरहेकी छु । तर, चर्चा र परिचयको कुरा चाहिँ कतिपय अवस्थामा घरबाट साथ नमिलेर हुने रहेछ ।  कुनै कुरा साथीभाइबाट साथ नमिलेर पनि हुने रहेछ । कुनै कुरा संघसंस्थाहरु र तिनीहरूसँगको आबद्धतामा पनि भर पर्ने रहेछ । आज म पछाडि पर्नुको कारण मेरो आफ्नो परिवार हो वा पारिवारिक वातावरणमा फसेपछि म आफू नै यसको कारक हुँ । 

  • खेल विधामा तपाईंको सिकाइ, प्राप्त उपलब्धिका बारेमा पनि बताउनुस् न ।

मैले खेलकै विधाबाट विद्यावारिधि नै गरेकी छु ।  इरानमा डा. रेजा जसको आफ्नै विश्वविद्यालय पनि छ, त्यहाँबाट मैले विद्यावारिधि प्राप्त गरेकी हुँ । एमएमए अर्थात् मिक्सिङ मार्सल आर्टमा रहेर चाहिँ ट्रेनरको रूपमा २ वर्ष दुबईमा काम गरेकी छु । सुरुवात मेरो बक्सिङबाट भएको हो । त्यसपछि कराँते त मेरो लक्ष्य नै थियो र छ पनि । ४१ वर्षको उमेरमा आइपुग्दा पनि खेलाडीकै रूपमा चिनिन मनलाग्छ । तर त्यो सम्भव त छैन तर पनि अरूले खेलेको देख्दा खेल्न मनलाग्छ । बाँकी योगा, जुम्बा तथा फिटनेसका सबै विषयमा चाहिँ मैले लामो समयसँग सिकेर अभ्यास गरेर सीप सिकेकी हुँ । जुन कुरा मेरो जीवनमा आवश्यक थिए । 

403647276_3138894766405880_5856417162680954178_n

  • खेलकुदकै कुरा गरौँ, सन् १९९४ तथा त्यो समयको कराँते र अहिलेको कराँते खेलमा के फरक पाउनु हुन्छ ?

हाम्रो बेलामा हेर्दा र अहिले हेर्दा त कराँतेको अवस्था धेरै नै विकसित पाउँछु । महिला र पुरुष भनेर त्यतिबेला छुट्याइन्थ्यो अहिले त्यस्तो देखिँदैन । अन्तर्राष्ट्रिय लेभलमा तुलना गर्दा अहिले पनि नेपाल पछाडि नै छ तर हाम्रो स्तर माथि पुगिसकेको छ । त्यो बेलाको जस्तो महिला खेलाडीहरूलाई कठिन पनि छैन अहिले । खेल र खेलको स्तर माथि पुर्‍याउने मुख्य भूमिका खेलाडी स्वयं र प्रशिक्षकहरूको हुने भएकाले प्रशिक्षकले बाटो देखाउने खेलाडीले मेहनत गरे सबै राम्रो नै हुन्छ । 

  • तपाईं खेलाडी मात्र नभएर आज पनि कराँते संघको पदाधिकारीमा हुनुहुन्छ । खेलाडी र पदाधिकारीको भूमिकामा के फरक अनुभव गरिरहनु भएको छ ? 

म त खासै फरक देख्दिनँ । खेल खेल्दा पनि अभ्यास मात्र गरेर हुँदैन । हामीले देशको लागि समाजको लागि के गर्न सकिन्छ भन्ने दबाब हुन्छ र पदाधिकारी भइरहँदा पनि संघसंस्था कसरी मजबुत बनाउने कसरी अघि बढाउने भन्ने दबाब रहन्छ नै । काम र उद्देश्य फरक हुन्छ नै तर लक्ष चाहिँ खेलको स्तरोन्नति र राष्ट्रका लागि उपलब्धि हासिल गरौँ भन्नेमै फोकस हुन्छ । 

  • कराँते आफैमा थुप्रै विधा र शाखाहरू भएको खेल हो । तर नेपालमा  कराँतेकर्मीहरुबिच नै विवाद भइरहने, संघहरु पनि विभिन्न हिसाबले खोलिने, यी खालका विवादहरूले कराँते कहिले पनि स्वस्थ देखिँदैन । खेलको स्तर पनि त्यो अनुसारको पाइँदैन, के भन्नुहुन्छ ?

हामी पनि पहिला संघर्ष गरेर आएको हो। जापान गोजुरियो केनवाकाई कराँते नेपाल नामक संघ दर्ता गर्नुभन्दा पहिला हामीलाई पनि गाह्रो भएको थियो । तर पछिल्लो अवस्था हेर्दा संघसंस्थाहरु पदकै लोभमा खेलिने कारणले धेरै समस्या देख्छु । खेल र खेलाडीको हितमा भन्दा पनि पदको लोभ गर्ने, अरूलाई अगाडि बढ्न नदिने सोचले गर्दा खासै विकास हुन नसकेको चाहिँ यथार्थ जस्तो लाग्छ ।

403636930_388153100454424_5839972711355209282_n

  • तपाईं भारतमा धेरै बस्नुभयो, खेल पनि नेपालमा भन्दा भारतमा नै धेरै खेल्दै गर्दा त्यहाँको र यहाँको खेलकुदको संस्कृति के पाउनुभयो ?

त्यहाँको शिक्षा एकदमै राम्रो छ । नेपालमा खुट्टा तान्ने प्रवृत्ति धेरै हुन्छ । उता पनि हुन्छ, हरेक देशमा हुन्छ तर नेपालमा धेरै छ। हरेक कुरा सिस्टममा चल्छ र हरेक कुरामा त्यहाँ स्थायित्व हुन्छ तर यहाँ अझै पनि त्यो संस्कार बस्न नसकेको हो कि !

  • नेपाल आफैँमा सानो देश, खेलकुदबाटै जीविकोपार्जन गर्छु भन्ने आधार पनि कम छ । राज्यले पनि खेलकुदमा ठुलो लगानी गर्न सकेको देखिँदैन, तथापि नेपालमा कराँतेमा यति धेरै विधाहरू आवश्यक छ जस्तो लाग्छ?

एक–दुईवटा विधालाई नै राम्रो बनाएर लैजाँदा हुन्छ जस्तो लाग्छ । अनावश्यक विधाहरूले गर्दा यसको विकासमा पनि कमी देखिन्छ । संघसंस्थाहरुले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्नुपर्छ । नयाँ विधाहरू ल्याउनै हुँदैन भन्ने त छैन तर नयाँमा टेस्ट गर्नुभन्दा वर्तमान अवस्थामा जे जे विधा छन् तिनीहरूमा लगानी गरेर अघि बढ्दा राम्रो हुन्छ ।

थोरै पारिवारिक कुरा गरौँ – एउटी महिला भएर विवाह र बच्चा जन्मिसकेपछि चाहिँ परिवारको साथ कति पाउनुभयो ?

परिवारको त मलाई पुरै साथ थियो । परिवारको साथ नभएको भए आज यहाँसम्म आइपुग्दिन थिएँ होला । माइती र घर दुवै परिवारको सपोर्टले नै म यहाँ आइपुगेकी हुँ । तर पछिल्लो समय श्रीमानसँगको मनमुटाबले करियरमा केही धक्का लाग्यो । पछिल्लो समयमा म छोडपत्र गरेर बच्चाहरूसँग बस्दै आएकी छु । यस्ता विभिन्न कुराले करियरलाई धक्का भने दिएकै हो ।

  • श्रीमानसँगको सम्बन्ध किन चिसियो र छोडपत्र नै हुन पुग्यो ?

बच्चा जन्मिएपछि र परिवार बढेपछि मनमुटाब बढ्दै गयो । अर्कातर्फ मेरो कराँतेमा करियर बनाउनकै लागि उहाँले ठुलो रकम खर्च गर्नु भएको थियो । गाउँबाट काठमाडौँमा संघर्ष गर्दा उहाँले खेत (१ बिघा २ कट्ठा) नै बेच्नु परेको थियो । त्यो सब मेरा लागि पनि थियो । श्रीमान् पनि कराँतेको ‘चिफ इन्स्ट्रक्टर’ नै हुनुहुन्थ्यो । तर कराँतेबाट त्यसको ‘रिटर्न’ हुन सकेन कि ! सम्बन्ध चिसिनुमा जापाना गोजुरियो केनवाकाई कराँते नेपाल स्थापनामा ठुलो खर्च लागेर पनि थियो । जे हो भए पनि हामी बिचमा मनमुटाब सुरु भयो र सम्बन्ध तोडियो । तर कराँते त्याग्न चाहिँ सकिन ।

  • तपाईंले दुबईमा प्रशिक्षकका रूपमा काम गरेको बताउँदै हुनुहुन्थ्यो, कसरी र केका लागि दुवै पुग्नुभयो ?

कराँतेमा भविष्य खोजे पनि विवाह पछि त्यसमै फर्कन गाह्रो भयो ।  कराँतेमा अन्य विभिन्न संघ संस्था पनि खोलियो तर आर्थिक रूपले धेरै गाह्रो नै थियो । र सन् २०१८ पछि श्रीमानसँग विदेश जानेकी भन्ने सल्लाह हुँदा उहाँ मान्नु भएन । र, मैले बच्चाबच्ची छाडेर नै विदेश जाने निर्णय गरेकी थिएँ। तर विदेश जाँदा पनि कराँतेकै जाने मन थियो र गुरुहरूको सहयोगमा दुवैमा ‘इन्टरनेशनल गोल्डेन फाल्कोन कराँते’मा प्रशिक्षकका रूपमा गएकी थिएँ ।

तर दुवैमा मैले भाग्य भनौँ अन्य धेरै काम गर्ने मौका पनि पाएँ । योगा, जुम्बा तथा फिटनेसको तालिम तथा गर्भवती महिलाहरूलाई शारीरिक कसरत गराउने लगायतका कामले मेरो कमाई पनि राम्रो भयो । खेल क्षेत्रमै सक्रिय रहन पनि सहयोग मिल्यो ।

  • विदेशमा कामदारका रूपमा पुग्दा महिलाहरूमाथि त्यहाँको दृष्टिकोण के पाउनु भयो ?

मैले अघि पछि जे सुनेकी थिएँ मैले त्यो वातावरण थाहा नै पाइनँ । होला कतिपय ठाउँमा महिला दिदीबहिनीहरूले शारीरिक मानसिक यातना भोग्नु पर्‍यो होला। त्यस्तो नहोस्, तर मैले चाहिँ खेलाडी/प्रशिक्षक भएर पनि पनि होला सम्मान र इज्जत नै पाएँ ।

403634703_1510332363091734_7070606788886791814_n

  • हाल बागबजारमा फिटनेस सेन्टर खोलेर युवा उद्यमीका रुपमा काम गर्दै आउनु भएको छ, यसको प्रेरणा चाहिँ के हो ?

मलाई मेरो श्रीमानले कहिल्यै पनि अरूको जागिर गरेर बाँच्नु पर्छ भनेर सिकाउनु भएन। उहाँको बानी पनि राजा जस्तो बसेर सौखिन हिसाबले खानु/बस्नु पर्छ भन्ने थियो । यसको अर्थ स्वाभिमानमा बाँच्नु पर्छ भनेर सिकाएकाले विदेश बसेर आएपछि फिटनेस सेन्टर खोलेर गरिखाने आधार तयार गरेकी हुँ । यो एक तरिकाले व्यवसाय नै भए पनि खेलकुद क्षेत्रसँग नै आधारित भएर पनि साथीहरूसँग र बैंकमा ऋण लिएर फिटनेस चलाएकी हुँ ।

यसमा मैले छुटाउन नहुने चाहिँ म विवाहपछि एक दमै मोटी थिएँ । झण्डै १ सय ४ केजीकी थिएँ । जसले गर्दा श्रीमानले मेरो मोटोपन रुचाउनु भएन । सायद उहाँलाई दुब्ली केटीमा मन गयो कि, यसले पनि मेरो सम्बन्ध विच्छेदमा भूमिका निर्वाह गरेको थियो । त्यसैले मैले मेरो मोटोपना घटाउनु पर्छ भनेर बदलाको भावले पनि मैले आफूलाई फिट राख्न फिटनेसको क्षेत्र रोजेकी हुँ ।

  • यति धेरै मोटो पना कसरी सन्तुलनमा ल्याउनु भयो त ?

म सुरुमा १०४ केजीबाट घटेर ९४ केजीमा झरेकी हुँ । जतिबेला दुबई गएँ त्यो बेला पनि ९४ केजी नै थिएँ । खास गरेर श्रीमानले नै मोटो पनामाथि टिप्पणी गरेर अरूलाई रोज्दा मन दुख्यो । र आफूले आफूलाई फिट राख्नु पर्छ, आफूले आफैलाई केयर गर्नु पर्छ भनेर एकोहोरो रूपमा लागेँ र आज ५३ केजी भएर फिटका साथ हिँडिरहेकी छु ।

403632748_2336924920030344_9024714098349057360_n

  • ठ्याक्कै भन्दा १०४ केजीबाट ५३ केजीमा घट्न कति समय लाग्यो र के–के गर्नुभयो ?

लगभग ३ देखि ४ वर्षको अवधिमा मैले ५१ केजी तौल घटाएकी हुँ ।  यसमा सामान्य शारीरिक व्यायाम र नेचुरल डाइटिङ मात्र भएको छ । डाइटिङ गरेर चाहिँ मैले शरीरको तौल घटाएको होइन । र सबैलाई आफ्नो तौल घटाउने तरिका पनि नेचुरल व्यायाम र नेचुरल डाइटिङकै बारेमा सजेस्ट गराउँछु ।

  • नेचुरल व्यायाम भन्नाले कस्तो हो र कसरी तपाईं जस्तै दुब्लो रहने ?

कुनै पनि मेसिनको प्रयोग नगरी गरिने व्यायामको कुरा गरेको हुँ मैले । जस्तो दौडिने, पेटको व्यायाम गर्ने, थाई, हिप घटाउने पनि व्यायाम हुन्छन् सबै गर्ने र सधैँ गर्ने । अर्थात् निरन्तर गरिरहने गर्‍यो भने त्यसले रिजल्ट दिन्छ ।

मेरो आफ्नै जिम सेन्टर भए पनि जिम जान म कसैलाई पनि सल्लाह दिन्न र घरमै बसेर विभिन्न प्रकारका शारीरिक अभ्यासहरू गरेर र खानपानमा सन्तुलन मिलाएर पनि स्वास्थ्य जीवनशैली अपनाउन सकिन्छ । डाइटिङ चाहिँ शरीरका लागि उपयुक्त नहुन सक्छ ।

  • तपाईंको शरीरमा आएको यो ट्रान्सफरमेसन पछि डिभोर्स भइसकेको श्रीमानको प्रतिक्रिया पाउनु भएको छ ?

‘हाँस्दै’– उहाँ त मिल्छ भने फेरी हाम्रो घरबार सुरु गरौँ भन्नु हुन्छ । तर म दुब्लो पातलो राम्री भएर मात्र होइन भोगाइले पनि मेरो आवश्यकता महसुस गर्नु भएको हुनसक्छ । उहाँले गरेका पुराना गल्तीका बारेमा पश्चात् भयो होला। तर, बच्चाहरूका लागि बोले पनि पुनः हाम्रो मिलन चाहिँ सम्भव छैन ।

400884886_268746106215441_5943226446745447344_n

  • खेलकुदमा जमेको मान्छे, घरपरिवार र ४ जना छोराछोरीकी आमा पछिल्लो समय त तपाईं मोडलिङमा पनि हुनुहुन्छ किन ?

मिस एण्ड मिसेस युनिभर्स २०२३ म सेकेन्ड रनअरअपको उपधाी जितेकी छु । सोही प्रतियोगितामा मिसेस ट्यालेन्टको उपाधि पनि प्राप्त गरेँ । अलि अलि अभिनयको नि रहर थियो । आज खै कसरी हो पूरा हुँदै छ । खुसी छु । १०४ केजी बाट घटेर ५१ केजीमा पुगेपछिको रहर पनि हो कि नयाँ ठाउँमा पनि अनुभव प्राप्त गरौँ न भनेर पनि हो । अहिले त सिरियलमा अभिनयको अवसर पनि पाएकी छु। अझ खुसीको कुरा त मेरो आफ्नै जीवनीमा आधारित ‘कर्मको फल’ सर्ट फिल्म बनिरहेको छ र त्यसमा म आफै अभिनय पनि गरिरहेकी छु।

  • व्यक्ति एक काम अनेक गर्दा समस्या परेको छैन ? कता कता भ्याउनु हुन्छ ?

आफूले आफूलाई काबूमा राख्न सकिएन भने वा समय व्यवस्थापन गर्न सकिएन भने समस्या हुने । मैले चाहिँ सबै कुरा भ्याइरहेकी छु ।

  • खासमा तपाईंका छोराछोरी कति जना? पारिवारिक जिम्मेवारी के–के छ ?

मेरो ३ जना छोरी १ जना छोरा हो । ठुली छोरी इन्जिनियरिङ पढिरहेकी छ । सँगै मैले मेरो सासू आमाको रेखदेख पनि आफैसँग राखेर गरिरहेकी छु । परिवार र करियर दुवै चलिरहेको छ।

  • डिभोर्स पछि पनि सासूआमाको जिम्मेवारी तपाईंले बहनु गरिरहनु पर्ने कारण ?

मलाई मेरो सासू आमाको जिम्मेवारी कसैले दिएको होइन तर पनि सासूआमाका ३ जना छोरी र १ जना छोरामात्र हो । छोरीहरू बिहे गरेर आ–आफ्नो घरमा गइसक्नु भएको छ। अब आमालाई यता न उताको बनाएर राख्ने कुरा पनि भएन । फेरि मेरो बच्चाहरू आमाको पनि नातिनातिना हुन् । मानसिक रूपमा आमा समस्यामा हुनुहुन्छ । होस पाउनुहुन्न, केही गर्ने वा कतै हिँड्ने गर्नुहुन्छ । मैले ससुरा बालाई पनि सँगै बसुम् भनेकी थिएँ तर उहाँ काठमाडौँमा बस्न नसकेर बुटवल आफ्नै घर फर्कनु भयो ।

  • एकल आमा, चारजना बच्चाहरूको जिम्मेवारी, खेलकुदमा विभिन्न विधामा हात पनि हाल्नुभएको छ, सासूआमा पनि आफूसँगै राखेकी छु भन्नुहुन्छ । यो सबै जिम्मेवारी एउटी एकल आमा भएर कसरी  निर्वाह गरिरहनु भएको छ ?

एकदम गाह्रो हुन्छ। घर सम्हाल्दा अफिस छुट्ने डर, अफिस सम्हाल्दा घर छुट्ने डर । ठुली छोरी १९वर्षको भइन्, उनले पनि सहयोग गरेको भएर अलि सहज भएको छ। धेरै मिलाउनु पर्छ । धेरै कुरा जीवनमा भोग्नु पर्ने रहेछ । अनि संघर्ष त हरेकको जिन्दगीमा हुन्छ पनि । आज आएर धेरै संघर्ष गर्नुपरेको छ भनेर पनि भन्दिन किनकि जीवन भोगाइ नै त रहेछ ।

  • पछिल्लो समय आफ्नै बुवाआमालाई वृद्ध आश्रममा राख्छन्, हेरचाह नै गर्दैनन् । तपाईंले त श्रीमानसँग डिभोर्स पछि पनि उहाँको आमालाई हेरेर बस्नुभएको छ । यो त धेरैका लागि उदाहरणीय काम पनि हो नि?

वृद्धाश्रम राख्नु उहाँहरूको पनि आफ्नै बाध्यता होला । विदेश जाँदा आफ्ना बुवाआमालाई वृद्धाश्रममा छोड्नु नै उहाँहरूलाई सुरक्षित लाग्यो होला । तर आफू हुँदाहुँदै पनि वृद्धा आश्रममा राख्नु राम्रो होइन । वृद्धवृद्धाहरुलाई सेवा गर्न पाउनु भनेको त सौभाग्य प्राप्त गर्नु हो । धेरै कठिन हुन्छ होला, अफिस बालबच्चा सबै हेर्नु पर्दा झनै गाह्रो हुन्छ नै । तर, आफूमाथिको जिम्मेवारी त निर्वाह गर्नै पर्छ । बिहान बेलुका आफूले जे खाइन्छ त्यही दिने न हो । उहाँहरूलाई सँगै राखेर सेवा गर्नु भनेको भगवान्को सेवा गर्नु जस्तै त हो ।

यदि कोही कसैले आफ्ना बाबा आमालाई वृद्ध आश्रम छाडेका छन् भने पनि उहाँहरूलाई बावाआमासँगै राख्न आग्रह गर्छु । एउटै घरमा बस्ने भएपछि झगडा हुनु सामान्य हो । मनमुटाब हुनु सामान्य हो तर मनबाट सेवा गर्नु आग्रह गर्छु ।

403634773_220266941130149_6416612853119107027_n

  • अहिले तपाईं आर्थिक रुपमा चाहिँ कतिको सक्षम हुनुहुन्छ? 

सन्तुष्ट छु । ऋण–धन भन्ने कुरा त सबैलाई लाग्छ । आफ्नो काममा सन्तुष्ट छु । मेहनतले पुगेको छ। परिवार चलाइरहेकी छु । 

  • यो सबै जिम्मेवारीको बाबजुद तपाईंको अबको यात्रा कसरी अघि बढ्छ ? 

जिन्दगीमा भोग्ने र देख्ने कुरा सबै देखिसकेको छु जस्तो लाग्छ । आफ्ना बालबच्चाहरूको करियर राम्रो बनाउने बाटोतर्फ लागेकी छु । अब आफ्नो भविष्य त यस्तै हो छोराछोरीका भविष्य चाहिँ सुनिश्चित गरिदिनु छ । बाँकी जे जे हुन्छ गर्दै जाने त हो।

  • डिभोर्स पछि पुनः नयाँ जीवन साथीको बारेमा पनि केही सोच्नुभएको छ? 

आफ्नो दुःखसुख पोख्ने ठाउँ त चाहिन्छ कि ! तर, बच्चाहरूको भविष्य पहिला सुनिश्चित गरेपछि मात्र केही सोच्नु पर्ला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया