बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपराध

केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर

दुई प्रहरीलाई सेवाबाट हटाउने निर्णय
बिहीबार, २१ जेठ २०८३, १३ : ४६
बिहीबार, २१ जेठ २०८३

सारांश

  • ठगी मुद्दामा कैद भुक्तान गरिरहेका केन्द्रीय कारागारका कैदी अनुप भण्डारी उपचारको बहानामा सामाखुसीको एक होटलमा बियर र मासु खाँदै बसेका भेटिएका छन् ।
  • कैदी भण्डारीलाई सुरक्षा दिन खटिएका दुई प्रहरी जवानलाई प्रहरी सेवाबाट हटाउने निर्णय गरिएको छ ।
  • प्रहरी नियमावली विपरीत कैदीलाई होटलमा लगेर मादक पदार्थ सेवन गराएको र महिलासँग बस्न दिएको घटनामा छानबिनपछि दुई प्रहरीलाई सेवाबाट हटाउने निर्णय गरिएको छ ।

काठमाडौँ । अदालतले कैद सजाय तोकेका कैदीबन्दीलाई निश्चित कैद भुक्तानका लागि कारागारमा राखिन्छ । २४ घण्टा सुरक्षा घेरासहित उनीहरूलाई राज्यले नै भरषपोषणको सुविधा दिएर राखेको हुन्छ, तर केन्द्रीय कारागार सुन्धारामा कैदमा बसेका एक जना कैदी होटलमा भेटिएका छन् ।

केन्द्रीय बन्दी गृहमा ठगी मुद्दामा कैद भुक्तान गरिरहेका अनुप भण्डारी सामाखुसीस्थित होटल दिपसागरमा पुगेका हुन् । जेठ १ मा उनलाई ढाड सम्बन्धी रोगको उपचार गर्न सामाखुसीस्थित विनायक अस्पताल तथा प्रसुति गृह प्रालिमा लैजान कारागार कार्यालयले अनुमति दिएको कागजातबाट देखिन्छ ।

कारागारबाट निस्केपछि उनी अस्पताल नगई सिधै होटलमा पुगे । त्यहाँ उनले बियर र मासु खाए । करिब ३२ वर्षीय महिलासँग उनी होटलको कोठा नम्बर ५०२ मा बसेको उपत्यका प्रहरीले गरेको आन्तरिक अनुसन्धानबाट खुलेको छ ।

भण्डारी करिब ३ घण्टा होटलको कोठामा बस्दा उनलाई नेपाल प्रहरी अनाश्रीत गुल्म जगन्नाथदेवलबाट खटिएका दुई जना प्रहरीले सुरक्षा दिएका थिए ।

प्रहरी सहायक हवल्दार होम बहादुर कुँवरको कमाण्डमा जवान टेक बहादुर विक उनको सुरक्षामा खटिएका थिए । उनीहरूको साथमा हतियार थियो भने सरकारी गाडीमा कैदीलाई लिएर होटलमा पुगेका थिए ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले त्यसबारे अन्तरिक छानबिन गरेको छ । एसपी नरहरी रेग्मी नेतृत्वको समितिले छानबिन गरेर एआईजी ईश्वर कार्कीलाई प्रतिवेदन बुझाएको छ । समितिको सिफारिसको आधारमा उपत्यका प्रहरी कार्यालयले सशस्त्र प्रहरी सेनामुख म्याग्दी दरबन्दी भई जगन्नाथदेवलमा सहायक हवल्दार होम बहादुर कुँवरको र अनाश्रीत गुल्ममै कार्यरत जवान टेक बहादुर विकलाई प्रहरी सेवाबाट हटाउने निर्णय गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । उपत्यका प्रहरी कार्यालयले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

कैदीलाई अस्पताल पठाउनुअघि आवश्यक हातहतियारसहित खटिएका सुरक्षाकर्मीलाई ब्रिफिङ गरेर पठाएको केन्द्रीय कारागारका सुरक्षाअधिकृतहरूले दाबी गरेका छन् । कैदीको सुरक्षार्थ खटिएका कर्मचारीले कैदीलाई लगाएको हत्कडी खोलेर होटलमा लगेर अनैतिक काम गर्ने सुविधा दिएको छानबिन निष्कर्ष छ । केन्द्रीय कारागारको सुरक्षा कमाण्ड डीएसपी शैलेश न्यौपानेले गरेका छन् । यो घटनापछि उनको कमाण्डमा पनि प्रश्न उठेको छ । तर, समितिले न्यौपानेको भूमिकाबारे केही बोलेको छैन ।

प्रहरी नियमावली २०७१ अनुसार उपचारका लागि अस्पताल पठाइएको कैदीलाई अन्य स्थानमा लैजानु हुँदैन । कैदीलाई मादक पदार्थ सेवन गर्न र महिलासँग बस्न दिने काम झनै गम्भीर विषय हो ।

  • हवल्दार र जवानले गल्ती स्विकारे

ठगी मुद्दाका कैदीबन्दी अनुप भण्डारीलाई उपचारका लागि सामाखुसीमा लैजाँदा होटलमा राखेको घटना जवान टेक बहादुर विक र सहायक हवल्दार होम बहादुर कुँवरले स्वीकार गरेका छन् । समितिसँगको बयान र स्पष्टीकरणमा उनीहरूले सो कुरा स्वीकार गरेका हुन् ।

कैदीलाई उपचार गर्ने चिकित्सक अपराह्न ५ बजेमात्र आउने भएकाले निजलाई केही समय क्यान्टिनमा राखेको र त्यसपछि होटल दिपसागर लगेर हत्कडी खोली मादक पदार्थ सेवन गर्न दिनुको साथै महिलासँग बस्न दिएको कुरा उनीहरूले स्वीकार गरेका हुन् । दुवैले ‘त्यस दिनको घटनामा गम्भीर गल्ती भएको’ समितिसँगको बयानमा भनेका छन् ।

उनीहरू त्यसदिन पौने २ बजेतिर होटलमा पुगेको खुलेको छ । होटलका म्यानेजर किसान गुरुङले पनि २ जना बर्दीका प्रहरी र एक जना बिनाबर्दीको पुरुष र एक जना महिला होटलमा करिब ३ घण्टा बसेर निस्केको बयान दिएका छन् । बयानमा उनले भनेका छन्, ‘होटलको पहिलो तलाको ५०२ नम्बर कोठामा ३ घण्टा बसेर बियर तथा जुस खाएर जानु भएको हो ।’

छानबिन समितिले प्रहरी कर्मचारीले निषेधित कार्य गराई कैदीबन्दीको सुरक्षाजस्तो अति संवेदनशील ड्युटीमा समेत सचेत नभई आचरण विपरीत गैरजिम्मेवार काम गरेको भन्दै सेवाबाट हटाउन सिफारिस गरेको थियो ।

जेठ ११ को निर्णय अुनसार दुवैलाई भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप