सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कटहरिया नगरपालिकामा उपमेयरकै अगुवाइमा तालाबन्दी

सोमबार, २३ पुस २०८०, २० : १२
सोमबार, २३ पुस २०८०

रौतहट । रौतहटको कटहरिया नगरपालिका कार्यालयमा उपमेयर रिता देवी यादवको नेतृत्वमा तालाबन्दी गरिएको छ । ८ बुँदे मागसहित उपमेयर यादवको नेतृत्वमा जनप्रतिनिधिको एक समूहले कर्मचारीलाई कोठा बाहिर निकालेर तालाबन्दी गरेको हो ।

नगरक्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत महसुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा खट्दै आएको कर्मचारी, डोर, करार, सफाइकर्मी सबैको बाँकी तलब भुक्तानी गर्नुपर्ने र कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्तावमाथि नगर कार्यपालिका बोर्डको बैठकबाट सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।

मेयर अजयप्रकाश जैसवालले करार कर्मचारी, डिजल पेट्रोल, कर्मचारीको खाजा लगायत विभिन्न शीर्षकमा करोडौँ रुपैयाँ अनियमितता गरेको उपमेयर यादवको आरोप छ । गत १८ गते बसेको कार्यपालिका बोर्डको बैठकमा उक्त विषयबारे जानकारी माग्दा मेयर जैसवालले २३ गते हुने कार्यपालिका बोर्डको बैठकमा सम्पूर्ण विवरण पेस गर्ने बताएका थिए । १८ गतेको सूचना अनुसार आज हुने भनिएको बैठकमा सहभागी हुन आउँदा मेयर जैसवाल, प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंह अनुपस्थित रहेको उपमेयर यादवको आरोप छ ।

एकातर्फ मेयर र प्रमुख प्रशासकीय अधिकृत बैठकमा सहभागी नहुनु र अर्कोतर्फ मेयरको मानिस हिउँदे अधिवेशनका लागि कार्यपालिका सदस्यहरुको घरघरमा निर्णय पुस्तिका लगेर हस्ताक्षर गराउन थालेको भन्दै उपमेयर यादवले मेयरको नियत ठिक नरहेकाले तालाबन्दीमा उत्रिनु परेको बताइन् ।

उपमेयर रिता देवी यादव, वडा १ का अध्यक्ष भूपेन्द्र कुशवाहा, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा ७ का अध्यक्ष सहिद मियाँ, कार्यपालिका सदस्य जामुन ठाकुर, लगायतले नगरपालिकाको हरहिसाब पारदर्शी तुल्याउन मेयरलाई आग्रह गरेका छन् । 

Screenshot_20240108-175554~5

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप