काठमाडौँ । नेपाली फिल्म ‘महाजात्रा’को पहिलो गीत ‘आहा ! क्या राम्रो’ सार्वजनिक गरिएको छ । माघेसङ्क्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको ‘आहा ! क्या राम्रो’ बोल रहेको गीत खुल्लामञ्चमा सेट लगाएर छायाङ्कन गरिएको हो । एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर छ ।
गीतमा फिल्मका कलाकार विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झासँगै अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माको नृत्य छ । अरुण र आश्मा यो गीतमा मात्र रहेको निर्देशक प्रदीप भट्टराईले जानकारी दिए ।
‘यो गीत हामीले प्रचारप्रसारका लागि तयार गरेका हौँ’, निर्देशक भट्टराईले भने । एक सयभन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् । ‘पहिला गीत भनेपछि सहजता महसुश गर्दिन थिएँ । तर, अहिले बानी परिसकेको छ । किनकि नृत्यको मेरो आफ्नै शैली छ’, अभिनेता कार्कीले भने ।
निर्देशक भट्टराईले फिल्ममार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए । अर्थात् यसमा हाँसो र रोदनको मिश्रण छ । अर्ग्यानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङ्खला दर्शकको प्रिय बनेको छ ।
फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात् षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खलामा ‘महाजात्रा’ मा जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिएको छ ।
फिल्ममा हरिवंश आचार्य, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय छ । म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।
आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक रहेका छन् ।
प्रतिक्रिया