आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
सातै प्रदेशमा मतपत्र

राष्ट्रिय सभा सदस्य निर्वाचन : कुन प्रदेशमा कति प्रकारका मतपत्र ?

शुक्रबार, ०५ माघ २०८०, २३ : ३७
शुक्रबार, ०५ माघ २०८०

काठमाडौँ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रहरू सातै प्रदेशका निर्वाचन अधिकृतहरूको कार्यालयमा पठाएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था अनुसार प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छापेको आयोगले जनाएको छ ।

प्रदेशगत रूपमा रहेका निर्वाचक मण्डलका सदस्यको सङ्ख्या तथा निर्वाचन हुने पद सङ्ख्यालाई आधार मानेर आयोगले कोशी प्रदेशमा हुने दुई पदको निर्वाचनका लागि चार प्रकारका ९२० मतपत्र, मधेस प्रदेशमा हुने दुई पदको निर्वाचनका लागि चार प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १हजार ७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरू पठाएको आयोगले जनाएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा हुने दुई पदको निर्वाचनका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा हुने तीन पदको निर्वाचनका लागि ६ प्रकारका ७५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरू रहेको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।

आगामी २०८० फाल्गुन २० गते देखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्य पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनको मतदानका लागि ३८ प्रकारका कूल ६ हजार ९१० मतपत्रहरू छापिएको आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप