मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
विकास निर्माण

पोखरा-मुग्लिनको पश्चिम खण्ड : ८० प्रतिशत समयमा १४ प्रतिशत काम, मन्त्री ज्वाला भने सन्तुष्ट !

शनिबार, ०६ माघ २०८०, ०८ : ४०
शनिबार, ०६ माघ २०८०

पोखरा । सम्झौता पछि सरासर काम गरेको भए अहिलेसम्म पोखरा मुग्लिन सडकमा ८० प्रतिशत काम सकिनुपर्थ्यो । सम्झौताको अवधि ६ महिना मात्रै बाँकी हुँदा पूर्वी खण्डमा ४४ प्रतिशत र पश्चिम खण्डमा जम्मा १४ प्रतिशत काम भएको छ । २०८१ भदौ १२ मा सक्नुपर्ने पश्चिम खण्डमा अहिलेसम्म १ किलोमिटर पनि पिच भएको छैन । कोरोना र विभिन्न सङ्कट देखाएर ठेकेदार कम्पनीले काममा आलटाल गरिरहेको छ ।

कम्पनीले २०२५ डिसेम्बर अन्तिमसम्म निर्माण सकेर सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ । यही फेब्रुअरी भित्र ५ किलोमिटर सडक कालोपत्रे गरिसक्ने सहमति छ । कम्पनीले दिएको टाइम कार्डकै आधारमा काम नभए ठेक्का नै ‘टर्मिनेट’ हुने चेतावनी भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको छ ।

अहिले भने कामको रफ्तार बढाएको उनले बताए । ‘म अघिल्लो पटक आउँदा कामको गति नै थिएन । अहिले केही रफ्तार बढेको छ । इक्युपमेण्ट र कामदार थपेको रहेछ,’ अनुगमनका क्रममा उनले भने, ‘कुन समयमा कति काम सक्नुपर्छ भनेर हामीले टाइमकार्ड दिएका छौँ । तोकिएको समयमा तोकिएको काम नभए विकल्प खोज्छौँ ।’ निर्माण कम्पनीले खाने पानीका पाइप र बिजुलीको पोलका कारण अवरोध भइरहेको बताएको छ । यो खण्डमा पर्ने १ सय २० वटा कल्भर्ट मध्ये ३८ वटा बनाइसकेको छ भने १२ वटा पुलमा १० वटा निर्माणाधीन छ । निर्माण कम्पनीले दैनिक रिपोर्ट कार्ड बुझाउने प्रतिबद्धता जनाएपछि ‘टर्मिनेट’ (तोड्ने अवस्था) हुन लागेको ठेक्कालाई सरकारले निरन्तरता दिएको हो ।

पश्चिम खण्डका आयोजना प्रमुख राजेशप्रसाद पौडेलले अझै पनि कामको प्रगति सन्तोषजनक नरहेको बताए । उनले ८० प्रतिशत काम सक्नुपर्ने अवधिमा १४ प्रतिशत काम गरेर सन्तुष्ट हुने अवस्था नभएको भन्दै कामको रफ्तार बढाउन कम्पनीलाई आग्रह गरेका छन् । ‘काम अहिले पनि राम्रो भएको छैन, केही सुधार भएको छ । अझै स्पिड बढाउनुपर्ने छ,’ उनले भने, ‘हाम्रो तर्फबाट सबै अवरोध हटाउन तयार छौँ । तर कम्पनीको तर्फबाट पनि त्यही खालको उत्साह आवश्यक छ । अझै पर्याप्त इक्युपमेण्ट आइसकेको छैन ।’ कोत्रेदेखि जामुनेसम्म केही काम भएपनि पोखरादेखि कोत्रेसम्मको खण्डमा चाहिँ काम अघि बढ्नै सकेको छैन । विजयपुर खोलामा बन्ने भनिएको ठुलो पुलको डिजाइन पनि अझै टुङ्गिएको छैन । सडक पर्ने पालिकाका जनप्रतिनिधिहरूले ठेक्का तोड्ने भन्दा अहिलेकै ठेकेदारलाई जिम्मेवार बनाउनुपर्ने सुझाव पठाएका थिए ।

आँबुखैरेनीदेखि जामुनेसम्मको खण्ड भने १ वर्षभित्रै सकेर हस्तान्तरण गर्ने प्रतिबद्धता निर्माण कम्पनीको छ । दुवै ठेक्का चिनियाँ कम्पनीले पाएका हुन् । साढे ४१ किलोमिटरको पूर्वी खण्डमा हालसम्म १८ किलोमिटर सडक एकतर्फी पिच भएको छ भने ७ किलोमिटर दुईतर्फी पिच भैसकेको छ । पूर्वको प्रगति तुलनात्मक रूपमा राम्रो रहेको आयोजना प्रमुख श्यामकुमार यादवले बताए । ‘अबको १ वर्षमा पूरै काम सकेर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य छ । अरू ठाउँमा रफ्तारमा काम भएको छ । विमलनगरमा चाहिँ चट्टानका कारण रोकिएको छ,’ उनले भने, ‘यो पनि खोलाबाट रिटेनिङ उठाएर विस्तार गर्ने नयाँ डिजाइन बनाएका छौँ । यसमा लगभग अव कुनै अवरोध छैन ।’ दमौली क्षेत्रमा केही घर टहरा हटाउन बाँकी रहेको उनले सुनाए ।

पूर्वी खण्डमा १४ वटा साना पुल निर्माण भएका छन् । एउटा ठुलो पुल निर्माण भैसकेको छ भने अर्को २ वटा निर्माणाधीन छन् । केही ठाउँमा अझै पोलको समस्या बाँकी रहेको यादवले सुनाए । आबुखैरेनीदेखि जामुने खण्ड ६ अर्ब २१ करोडमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ठेक्का पाएको छ । पश्चिम खण्डको ठेक्का पनि चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोडमा लिएको हो । यसबाहेक मादी र सेतीमा बन्ने सिग्नेचर ब्रिजको काम पनि सन्तोषजनक रूपमा अघि बढेको छैन । यी पुलको छुट्टै ठेक्का सम्झौता भएको हो । पुलमा लगभग ३ प्रतिशत हाराहारी कार्य प्रगति छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप