शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

उमेरले ७० कटेकाहरू नै राजनीतिको केन्द्रमा

आइतबार, ०७ माघ २०८०, ११ : ००
आइतबार, ०७ माघ २०८०

काठमाडौँ । २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री थिए कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा । त्यतिबेला देउवा ४५ वर्षका थिए । त्यसको चार वर्षपछि २०५२ साल भदौ २७ गते देउवा ४८ वर्षको उमेरमा प्रधानमन्त्री बन्न सफल भए ।

त्यसयता देउवा अविच्छिन्न रूपमा राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा छन् । कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि पार्टी नेतृत्वमा आएका देउवा दुई पटक सभापतिमा निर्वाचित भइसकेका छन् । उमेरले ७८ वसन्त पार गरेका उनी छैटौँपटक प्रधानमन्त्री बन्ने दाउमा छन् । डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिकामा वि.सं. २००३ मा जन्मिएका देउवा २०४८ देखि २०७९ सालसम्म प्रतिनिधिसभा सदस्यमा लगातार निर्वाचित हुने एक्ला सदस्य हुन् ।

गत वर्ष देउवाकै नेतृत्वमा कांग्रेस तीनै तहको निर्वाचनमा होमिएको थियो । तीन वटै तहको निर्वाचनमा कांग्रेसलाई पहिलो दल बनाउन उनी सफल भए । अहिले प्रतिनिधिसभामा ८८ सिटसहित प्रचण्ड सरकारको मुख्य सारथि देउवा छन् । उनी २०५८, २०६१, २०७४ र २०७८ मा प्रधानमन्त्री भए । २०५९ सालमा गिरिजाप्रसादसँग विवाद उत्कर्षमा पुगेपछि पार्टी विभाजन गरी नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका उनी २०६२/६३ को जनआन्दोलनपछि पुनः कांग्रेसमै फर्किएका थिए ।

पार्टीको १३ औँ र १४ औँ महाधिवेशनमा सभापति निर्वाचित भएका उनले अझै सक्रिय राजनीतिबाट विश्राम लिने संकेत देखाएका छैनन् । कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायत युवा नेताहरूले पुस्तान्तरणको आवाज उठाए पनि देउवालाई वैधानिक तरिकाबाट विस्थापित गर्ने क्षमता उनीहरुमा देखिएको छैन ।

उमेरले ७९ वर्ष लागेका रामचन्द्र पौडेल गत वर्ष फागुनमा राष्ट्रपति बन्न सफल भए । लामो समय कांग्रेसमा राजनीति गरेका उनी २०४८ मा गिरिजाप्रसाद नेतृत्वकै सरकारमा स्थानीय विकासमन्त्री थिए । त्यतिबेला उनी ४८ वर्षका थिए । उनी २०५२ सालमा प्रतिनिधिसभाको सभामुख बन्न सफल भए ।

२०५६ मा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पौडेल क्रमशः उपप्रधानमन्त्रीसहित शिक्षा र स्थानीय विकासमन्त्री भएका थिए । २०६२/६३ को आन्दोलनपछि उनी गिरिजा नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्री भए । आन्तरिक प्रतिस्पर्धाबाट पार्टी सभापति बन्ने र देशकै कार्यकारी प्रधानमन्त्री बन्ने उनको सपना भने पूरा भएन ।

२०६७ सालमा प्रधानमन्त्री बन्न पटकपटक प्रयास गरेका उनी तत्कालीन संसदीय अंकगणितका कारण सफल हुन सकेनन् । कांग्रेसको १३ औँ महाधिवेशनमा उनी देउवासँग सभापतिमा पराजित भए । १४ औँ महाधिवेशनमा कोइराला पक्षकै सहयोग नपाएपछि सभापति बन्ने प्रतिस्पर्धाबाट उनी पछी हटे । २००१ सालमा तनहुँको ब्यास नगरपालिकामा जन्मिएका पौडेल २०७९ फागुन २५ गते गणतन्त्र नेपालका तेस्रो राष्ट्रपतिमा निर्वाचित भए । २०७४ को निर्वाचन बाहेक पौडेल तनहुँ–२ बाट लगातार जित्दै आएका छन् ।

यीबाहेक कांग्रेसभित्रै ७३ वर्षका डा. शेखर कोइराला एकपटक पार्टी सभापति बन्ने धुनमा लागेका छन् । कांग्रेसको १४ औँ महाधिवेशनमा देउवासँग पराजित भएका उनी सभापति बनेर कोइराला परिवारको विरासत फर्काउने दाउमा छन् । यस्तै पटक पटक अवसर पाएका ७३ वर्षे कृष्णप्रसाद सिटौला माघ ११ मा राष्ट्रियसभा निर्वाचनमा विजयी भए फागुन २० पछि अध्यक्ष बन्ने दाउमा छन् । २०३८ सालमै मन्त्री भएका अर्जुननरसिंह केसी लगायत ७० कटेका धेरै नेता अझै कांग्रेसको राजनीतिमा सक्रिय छन् । कांग्रेसभित्र ७० कटेका नेताहरूको सूची लामै छ, जो अझै राजनीतिमा सक्रिय छन् ।

एमालेमा तत्कालीन महासचिव माधवकुमार नेपालका स्थायी प्रतिस्पर्धीका रूपमा चिनिएका केपी शर्मा ओली २०७१ सालको नवौँ महाधिवेशनमा अध्यक्ष बन्न सफल भए । करिब १५ वर्ष शक्तिशाली महासचिव रहेका नेपाललाई हराउँदै एमालेको नेतृत्वमा आएका हुन् उनी । त्यसयता केन्द्रीय राजनीतिमा ओली हस्तक्षेपकारी भूमिकामा छन् ।

२०७८ साल मङ्सिरमा चितवनको सौराहामा भएको एमालेको १० औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि ओली अध्यक्ष चुनिए । भाषणमा विभिन्न बिम्ब प्रयोग गरी विपक्षीमाथि कडा प्रहार गर्न माहिर नेताका रूपमा ओली चर्चित छन् । उमेरले ७२ वर्ष पार गर्न लागेका उनी दुई पटक प्रधानमन्त्री बन्न सफल भए । २०७९ को निर्वाचनमा देउवा नेतृत्वको चार दलीय गठबन्धनसँग चुनावी प्रतिस्पर्धामा उत्रिएको एमालेलाई ७८ सिटसहित दोस्रो दल बनाउन ओली सफल भएका छन् । जीवनको उत्तरार्द्धमा उनको सक्रियता कुनै युवाको भन्दा कम देखिँदैन ।

२०५१ सालमा तत्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री भएका ओली २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भएका थिए । २०७२ र २०७४ मा प्रधानमन्त्री बन्न सफल भए । २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाका अध्यक्ष भएका ओलीले नेपालमा सबैभन्दा लामो समय सत्तामा रहने कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा रेकर्ड राखेका छन् । संसदीय निर्वाचनमा ओली २०६४ साल बाहेक सबै निर्वाचनमा विजयी भएका छन् ।

समकालीन राजनीतिका चतुर खेलाडी रहेका ओलीले आफू अझै २० वर्ष सक्रिय राजनीतिमा रहने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । तत्कालीन नेकपाभित्र प्रचण्ड–माधव समीकरणलाई तोडेर एमालेलाई पुनर्स्थापित गरेका ओलीले पार्टी विभाजनलाई रोक्न भने असफल भए । एमालेभित्रको अन्तरविरोध हल गर्न नसक्दा २०७८ भदौ २ गते माधव–झलनाथ समूह पार्टीबाट अलग भएको थियो । एमालेभित्र ओलीलाई चुनौती दिने आँट कसैमा देखिएको छैन । जीवनको उत्तरार्द्धमा दुई पटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको सक्रिय जीवन शैली र राजनीतिक दौडधुपले धेरैलाई लोभ्याएको छ ।

मङ्सिर १४ मा सुरु भएको (झुलाघाट–चिवाभन्ज्याङ) एमालेको १८ दिने संकल्प यात्राको नेतृत्व गर्दै ओली सक्रिय सहभागी भएका थिए । ओलीमात्र होइन, एमालेभित्र ७० वर्ष काटेका नेताहरूको सूची लामै भेटिन्छ । पुस्तान्तरका लागि नवौँ महाधिवेशनमा एमालेले ७० वर्ष उमेरहदको व्यवस्था राखे पनि अहिले ओलीले आफू अनुकूल हुनेगरी विधानको उक्त व्यवस्थालाई निलम्बन गरेका छन् ।

१५ वर्षसम्म नेकपा एमालेको महासचिव रहेर नेतृत्व गरेका माधवकुमार नेपाल अहिले नेकपा एकीकृत समाजवादीको अध्यक्ष छन् । उनी हाल उमेरले ७० वर्ष पार गर्दैछन् । आगामी जेठको पहिलो साता महाधिवेशन गर्ने तयारीमा जुटेका नेपाल अझै नेतृत्व हस्तान्तरण गर्ने मुडमा छैनन् । काठमाडौँ र गृहजिल्ला रौतहटबाट पराजित भएर पनि २०६६ सालमा प्रधानमन्त्री बन्न उनी सफल भए । त्यसअघि नेपाल मनमोहन नेतृत्वको नौ महिने सरकारमा उपप्रधानमन्त्रीसहित रक्षा र परराष्ट्रमन्त्री थिए । २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा तत्कालीन महासचिव मदनकुमार भण्डारीको निधन भएपछि उनी एमालेको नेतृत्वमा आएका हुन् ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा दुई दुई ठाउँबाट पराजित भएपछि उनले महासचिवबाट राजीनामा दिएका थिए । पार्टीको आठौँ महाधिवेशनबाट फेरि नेतृत्वमा आउन चाहेका उनी त्यसमा सफल हुन सकेनन् । २००९ साल फागुन २३ गते गौर नगरपालिकामा जन्मेका नेपाल दोस्रोपटक प्रधानमन्त्री बन्ने दाउमा छन् । गत निर्वाचनमा १० सिट जितेको एकीकृत समाजवादीले राष्ट्रिय पार्टीको मान्यता भने पाउन सकेन ।

एकीकृत समाजवादीकै सम्मानित नेता झलनाथ खनाल ७३ वर्षका भएका छन् । २०४७ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा उनी कृषि, भूमिसुधार र वनमन्त्री भएका थिए । उनी संसदीय निर्वाचनमा इलाम १ बाट २०५६ र २०७९ बाहेक सबै निर्वाचनमा विजयी भएका थिए । २०७८ मा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका उनी २०६७ सालमा प्रधानमन्त्री बन्न सफल भए । जीवनको उत्तरार्द्धमा मिर्गौला प्रत्यारोपण गरेका उनी अझै २० वर्ष सक्रिय राजनीतिमा रहने दाबी गर्दैछन् । आगामी जेठमा हुने निर्वाचन अध्यक्षमा उम्मेदवारी दिने मुडमा खनाल छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६७ वर्ष पार गरिसकेका छन् । उनी अझै १० वर्ष राजनीतिमा सक्रिय रहने बताउँदै आएका छन् । २०११ सालमा कास्कीको ढिकुर पोखरीमा जन्मेका प्रचण्ड १० वर्षे माओवादी सशस्त्र युद्धको सर्वोच्च कमाण्डर थिए । २०६४ सालमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएका उनी २०७३ सालमा दोस्रोपटक प्रधानमन्त्री भएका थिए । पहिलो संविधानसभा निर्वाचनदेखि २०७९ को संघीय निर्वाचनसम्म उनी लगातार विजयी हुँदै आएका छन् । उनी पार्टीभित्र २०४५ देखि लगातार नेतृत्वमा छन् । फागुनमा विधान अधिवेशन र लगत्तै विशेष महाधिवेशनको तयारीमा रहेको माओवादीभित्र उनलाई चुनौती दिने कोही देखिएका छैनन् । माओवादीमा पनि ७० वर्ष उमेर हद पार गरेका नेता धेरै छन् ।

६० को दशकमा कांग्रेस परित्याग गरी मधेस केन्द्रित क्षेत्रीय पार्टी खोलेका लोसपाका अध्यक्ष महन्थ ठाकुर उमेरले ८१ वर्ष भएका छन् । २०५४ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री भएका थिए ठाकुरले २०५५ सालमा गिरिजा नेतृत्वको सरकारमा पनि सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । २०५६ सालमा कृृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा ठाकुर वन तथा भूसंरक्षणमन्त्री भएका थिए । २०५७ सालमा गिरिजा नेतृत्वको सरकारमा कानुन तथा न्यायमन्त्री भएका थिए उनी २०६२/६३ को आन्दोलनपछि कांग्रेसबाट अलग भए । उनले आफ्नै नेतृत्वमा तमलोपा पार्टी खोले । त्यसयता राजपा, जसपा हुँदै अहिले लोसपाको अध्यक्षका रूपमा उनी सक्रिय राजनीतिमा छन् । गत वर्ष उनी महोत्तरी–३ बाट संसदीय निर्वाचनमा विजयी भएका थिए । फुटको सँघारमा पार्टी पुग्दासमेत उनी नेतृत्व हस्तान्तरण गर्ने मुडमा देखिँदैनन् ।

प्रचण्ड सरकारमा खानेपानी मन्त्री रहेका महिन्द्रराय यादवले ८५ वर्ष उमेर पार गरेका छन् । नेकपा एमालेबाट राजनीति गरेका यादव तमलोपा, तराई मधेस सद्भावना, राजपा, जसपा हुँदै अहिले नेपाल समाजवादी पार्टीका अध्यक्ष छन् । गत वर्ष उनी माओवादीको चुनाव चिह्न लिएर सर्लाही–२ बाट निर्वाचित भएका थिए । माओवादी केन्द्रसँग पार्टी एकता समायोजन समितिका सदस्यसमेत रहेका उनी मधेसका स्थापित नेता हुन् । सक्रिय राजनीतिमा रहेका उनी यसअघि पटक पटक मन्त्री भएका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष रहेका चित्रबहादुर केसी ८१ वर्षको उमेरमा पनि राजनीतिमा उत्तिकै सक्रिय छन् । बाग्लुङ गलकोटका स्थायी बासिन्दा रहेका केसी २०१४ सालदेखि वामपन्थी राजनीतिमा सक्रिय छन् । पटकपटक सांसद भएका केसी २०७२ मा ओली सरकारमा उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारणमन्त्री भएका थिए । तत्कालीन राष्ट्रिय जनमोर्चा टुुक्रिएपछि उनी सदाबहादर अध्यक्ष छन् ।

राप्रपा, जसपामा पनि ७० वर्ष कटेका नेताहरू सक्रिय राजनीतिमा छन् । यसरी ८० को दशकमा पनि ७० वर्ष पार गरेका नेताहरूको दबदबा कायमै छ । तर नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका पक्षमा वकालत गर्दै आएका परम्परागत पार्टीभित्र युवा पुस्ता भने हेरेको हे¥यै भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप