सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

हृदय रोग केन्द्रको स्थायित्व कति ?

लगानी, मेसिन र मानव स्रोतको व्यवस्थापन चुनौतीपूर्ण : डा. भगवान कोइराला
मङ्गलबार, ०९ माघ २०८०, १२ : ५२
मङ्गलबार, ०९ माघ २०८०

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा सरकार बनेको एक सय दिनको अवसर पारेर शैलजा आचार्य हृदय रोग केन्द्र उद्घाटन गराए । उद्घाटन समारोहकै लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

विराटनगर–१४ मा यसअघि नेसनल ट्रेडिङको गोदामघर रहेको स्थानमा उपचार केन्द्र स्थापना गरिएको हो । कोभिड संक्रमण तीव्र रुपमा फैलिएपछि २०७६ साल चैत ७ गते प्रदेश सरकारले सो स्थानमा ५० शय्याको कोशी अस्पताल (कोभिड १९ उपचार केन्द्र) बनाएर सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

कोभिडको महामारी कम हुँदै गएपछि प्रदेश सरकारले केन्द्रलाई प्रादेशिक प्रसूति तथा स्त्री रोग अस्पताल बनाउने भन्दै अध्ययन ग¥यो । तर त्यहाँ प्रसूति तथा स्त्री रोग अस्पताल बनेन । फेरि संक्रामक रोग उपचार केन्द्र बनाउने चर्चा भयो । सोही बमोजिम २०७९ साल भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णयमार्फत उक्त ठाउँमा संक्रामक रोग तथा सघन उपचार केन्द्र बनाइयो ।

अहिले केदार कार्की नेतृत्वको सरकारले सोही अस्पताललाई शैलजा आचार्य हृदय रोग केन्द्रको रुपमा उद्घाटन गरेको हो । जसका लागि ५ करोड ५० लाख बजेट विनियोजन भएको छ । पटकपटक निर्णय र योजना फेरबदल हुँदै पछिल्लो समय हृदयरोग उपचार केन्द्रका रुपमा उद्घाटन भएको यो अस्पतालको भविष्यबारे टिप्पणी हुन थालेको छ ।

कोशी प्रदेशमा मुटु रोगी २ लाखभन्दा बढी छन् । उनीहरुको लागि सेवा विस्तार हुनु सुखद् कुरा हो । तर, भइरहेका सरकारी अस्पताल राम्रो व्यवस्थापन नहुँदा बन्द हुने अवस्थामा पुगिरहँदा हृदय रोग उपचार केन्द्रको भविष्य कस्तो होला भनेर चर्चा हुनु स्वाभाविक देखिन्छ ।

साविकको कोभिड उपचार केन्द्रमा १७५ जनाको दरबन्दी थियो । घट्दै अहिले त्यहाँ ४२ जनाको कर्मचारीको दरबन्दी छ । प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले बिस्तारै अस्पतालको विकास गरिने बताइन् ।

अहिले सहायतास्वरुप डाक्टर समिर पौडेल र डाक्टर सर्वेश झाले विशेषज्ञ ओपीडी सेवा दिने उनको भनाइ छ । तर, पौडेल सधैँ नबस्ने भएकाले सरकारले अर्को व्यवस्था गर्ने उनको भनाइ छ । ‘अर्को डाक्टरको व्यवस्था नगर्दासम्म वीर अस्पतालबाट अल्टरनेट डाक्टरहरु आएर सेवा दिनुहुन्छ,’ उनले भनिन्, ‘हामी आफैँले पनि डाक्टर राख्न आवश्यक प्रक्रिया पूरा गर्र्छौं । अहिले हामीले ओपीडीबाट सेवा सञ्चालन गरेका छौँ । बिस्तारै यसलाई विकास गर्दै जाने हो । अहिले त्यहाँ भएका कर्मचारीलाई नै ओएनएम गरेर काम लगाएको हो । बिस्तारै हामी कर्मचारी पनि हस्तान्तरण गर्छौं ।’

डाक्टर झा यसअघि कोशी अस्पताल विकास समिति मार्फत कोशी अस्पतालमै सेवा दिँदै आएका डाक्टर हुन् । उनी हाल हृदयरोग केन्द्रमा सरेका छन् । कोशी अस्पतालमा भने उक्त सेवा अब बन्द हुने भएको छ ।

हालका लागि उक्त केन्द्रमा ३ जना मेडिकल अफिसर, १ जना फिजिसियनको दरबन्दी छ । २ जना थप मुटुरोग विशेषज्ञ चाहिने डाक्टर झाले बताए । हाल ओपीडी र सामान्य परीक्षणमात्रै हुन्छ । मुटु रोगीले सबै सेवा तत्कालै सो अस्पतालबाट पाउने अवस्था छैन ।

‘मुटुको अप्रेसनसम्मको सेवा सञ्चालन गर्नका लागि भने क्याथ ल्याब चाहिन्छ । त्यही प्रकारका महँगा मेसिन चाहिन्छ । त्यसका लागि झण्डै १२ करोड रुपैयाँ चाहिन्छ,’ डाक्टर झाले भने । प्रदेश सरकारले हालका लागि छुट्याएको ५ करोड ५० लाख बजेटले ओपीडी सेवा सञ्चालन गर्ने बाहेक अरु गर्न सक्ने अवस्था देखिँदैन ।

मुख्यमन्त्री केदार कार्कीले अस्पताललाई विकसित गर्दै लैजाने बताए । कोशी प्रदेशमा उच्च रक्तचापको बिरामी ७ लाख र मुटु रोगी २ लाख रहेको उनले बताए । आगामी दिनमा किन मुटु रोगी बढिरहेका छन् भनेर रिसर्च पनि गर्ने उनको भनाइ छ ।

जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले छात्रवृत्ति दिएर भए पनि डाक्टर उत्पादन गर्ने मुख्यमन्त्री कार्कीको भनाइ छ ।

वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति भुपेन्द्र बस्नेतले हृदय रोग उपचार केन्द्रलाई वीर अस्पतालबाट आवश्यक सहयोग गर्ने बताए । उनले हृदयरोग उपचार केन्द्र नेपालकै राम्रो मुटु रोग अस्पताल बन्ने विश्वास व्यक्त गरे । प्राविधिक जनशक्तिको लागि वीर अस्पतालबाट आवश्यक टे«निङ दिन तयार रहेको उनको भनाइ छ ।

‘जनशक्तिको अभाव पनि देखिएको र भएको जनशक्ति पनि पलायन भएको अवस्थामा यो अस्पतालले सेवा दिनुको साथै अवसरको खोजीमा लाग्नेहरुलाई रोजगारीको अवसर पनि सिर्जना गरेको छ,’ उनले भने, ‘वीर अस्पताल १३४ वर्षमा अहिलेको अवस्था आएको हो । गंगालाल अस्पताल, बीपी प्रतिष्ठान लामो समयपछि अहिलेको अवस्थामा आएको हो । यो पनि बिस्तारै विकास हुँदै जान्छ ।’

मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले भने जनशक्तिको व्यवस्थापन गर्न धेरै चुनौती रहेको बताए । ‘नेपालमा आजको दिनमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगहरुको कारणले हुन्छ । ८ प्रतिशत चोटपटकले हुन्छ । त्यसमध्ये २० देखि २५ प्रतिशतको मृत्यु मुटु रोगको कारण हुन्छ । त्यसकारण नेपालको ठुलो रोग मुटु रोग नै देखिएको छ,’ उनले भने, ‘विराटनगरमा हृदयरोग उपचार केन्द्र स्थापना भएको छ । संस्थाहरु बनाउने क्रममा मैले देखेको कुरा भनेको तीन वटा चुनौती छन् । मनी, म्यान र मेसिन । यो हृदय रोग केन्द्रको विकासको क्रममा देखिएका चुनौती पनि यिनै हुन् ।’

उनले डाक्टर उत्पादन गर्नु चुनौती रहेको बताए । यस्तै कोशी प्रदेशमा मुटु रोगीको चाप धेरै रहेको र रिस्क फ्याक्टर पनि यो क्षेत्रमा धेरै भएको उनले बताए ।

‘उपचार केन्द्रलाई व्यवस्थित रुपमा चलाउँदै, जनताको भावनालाई जित्दै अगाडि बढ्नका लागि प्रदेश सरकारको दह्रो साथ चाहिन्छ । जनशक्तिको स्थायी व्यवस्थापनको लागि ध्यान दिनुपर्छ,’ उनले भने, ‘अर्को च्यालेन्ज भनेको अरु प्रकृतिका बिरामीहरुको पनि उपचार गराउन सँगसँगै लिएर जानु आवश्यक छ । मल्टीस्पेसियालिटी अस्पतालहरुसँगको सहकार्य पनि आवश्यक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप