आइतबार, ०६ साउन २०८१
ताजा लोकप्रिय

बाल बेहुलीको डरलाग्दो विश्वव्यापी तथ्याङ्कमा नेपाल

मङ्गलबार, ०९ माघ २०८०, १४ : ५१
मङ्गलबार, ०९ माघ २०८०

रामलखन (नाम परिवर्तन) काकाको ओठमा मुस्कान प्रायः टुट्दैन । हाम्रो कार्यालयनजिकै उनको चिया पसल छ । चियापसलमा उनी र उनकी श्रीमती मात्र भेटिन्छन् । उनको बारेमा धेरै कुरा मलाई जानकारी छैन । 

कार्यालय समयमा हरेक दिउँसो साढे १ बजेतिर चिया लिएर आइपुग्ने रामलखन काका एक दिन ३ बज्दासम्म आएनन् । रङ कडा अनि चिनी कम भएको दूूध चियाको मलाई बानी लागेको छ । कार्यालयमा चिया नआएपछि आफैँ उनको चिया पसल तिर लागेँ । भर्खरै पसल खोलेर ठुलो कसाँैडीमा दूध बसाल्दै रहेछन् । धेरै दिनदेखि तराईमा घामको अनुहार देखिएको छैन । धेरैजसो घरका आँगनमा आगो बालेको देखिन्छ । गाईवस्तुलाई मोटामोटा बोरा र लुगा बेरिएको छ, हुस्सु र शीतलहरबाट जोगाउनका लागि ।

मलाई देख्नासाथ रामलखन काकाले भने, ‘भर्खर पसल खोलेको हो । आगो ताप्दै गर्नुहोस् म मिठो चिया खुवाइहाल्छु ।’

‘आज किन ढिला खोल्नुभयो त पसल ?’ मैले प्रश्न गरे । 

‘आज छोरी देख्न आएको थियो लड्काहरू । अनि कुरो मिलाउँदा अलिक समय लागिहाल्यो ।’ रामलखन काकाकी पत्नी सन्तुदेवीले भनिन् । 

मैले छोरीको पढाइ र उमेरबारे सोधेँ । भर्खर १६ लागेकी, नौ कक्षामा पढ्दै गरेकी जेठी छोरीको बिहे हुन लागेको रहेछ । आउँदो माघ १५ गते हुने भोजमा उनीहरूले मलाई पनि निम्तो दिए । छोरीको विवाहको उमेर २० वर्ष पुग्नुपर्ने र बालविवाह गर्न कानुनले रोकेको मैले उनीहरूलाई जानकारी गराएँ । 

सन्तुदेवीले भनिन्, ‘हाम्रो तराईमा यस्तै हो । मेरो बिहे दस बरसमा भएको हो । अस्ति हाम्रो छिमेकीको छोरीको बिहे पनि चौध बरसमा गरेको थियो । गाउँभरिको मान्छेलाई भोज खुवाएर । सरकारी करमचारीहरू पनि आएको थियो भोज खान । खै कानुन लागेन त ? हाम्रो छोरी त सोह्र बरसको भइसकेको छ । केटा २७ बरसको छ, मलेसियामा नोकरी गर्छ । एउटै छोरा रहेछ । दहेज पनि धेरै मागेको छैन । सबै राम्रो देखेर बिहे गर्दिन लागेको जेठी छोरीको ।’

उनीहरूको निर्णयको अगाडि मैले धेरै तर्क गरिनँ । समाज रूपान्तरणको मुख्य बाधकमध्ये बालविवाह पनि एक हो । विश्वभरि कम उमेरमा विवाह गर्ने देशहरूको नामसूचीमा नेपालको पनि नाम समेटिएको छ । 

युएनएफपीए−युनिसेफ, ग्लोबल प्रोगाम (कन्ट्री प्रोग्राम–२०२०)को तथ्याङ्क अनुसार, सन् २०२० मा नेपालमा ५० लाख बाल बेहुली थिए । तीमध्ये १३ लाखको विवाह १५ वर्ष नपुग्दै भएको थियो । यद्यपि नेपालमा पछिल्लो दशकमा बाल विवाह प्रथामा कमी हुँदै आएको छ । सन् २०१६ मा भएको सर्वेक्षणमा सन् १९९१ मा ५५ प्रतिशत बालविवाह हुने गथ्र्यो भने सन् २०१६ मा यो तथ्याङ्क घटेर ४० प्रतिशतमा पुगेको छ । 

दीर्घकालीन विकास लक्ष्य (एसडीजी)– ५ ले सन् २०३० भित्र विश्वबाटै बालविवाह उन्मूलन गर्ने लक्ष्य लिएको छ तर यो लक्ष्य पूर्ण हुने देखिँदैन । यो दशकको अन्तिम अर्थात् २०३० सम्म बालविवाहलाई २७ प्रतिशतसम्ममा झार्न सकिने अनुमान गरिएको छ । 

यस तथ्याङ्क अनुसार, सन् २०२० मा बङ्गलादेश तीन करोड ८० लाख बाल बेहुलीको घर थियो । यीमध्ये १ करोड ३० लाख बाल बेहुलीको १५ वर्ष नपुग्दै बिहे भएको छ । अझै पनि बङ्गगलादेशमा ५१ प्रतिशत महिलाहरूको विवाह १८ वर्षअगाडि हुने गरेको छ ।

 बुर्किना फासोमा ३० लाख बाल बेहुलीहरू थिए । जसमध्ये पाँच लाख बालिकाको विवाह १५ वर्ष उमेर नपुग्दै भएको थियो । यस्तै, इथियोपियामा एक करोड ५० लाख बाल बेहुली छन् । जसमध्ये ६० लाखको विवाह १५ वर्ष नपुग्दै भएको थियो । घानामा २० लाख बाल बेहुली छन् । जसमध्ये ६ लाखको विवाह १५ वर्ष नपुग्दै भएको थियो । घानामा भने विगत तीन दशकमा बाल विवाहमा कमी आएको देखिन्छ ।

यस तथ्याङ्क अनुसार, विश्वमा सबैभन्दा धेरै बाल बेहुली भारतमा छन् । भारतमा २२ करोड ३० लाख बालबेहुली थिए, जुन विश्व तथ्याङ्कको एकतिहाइ हुन आउँछ । हरेक वर्ष भारतमा १८ वर्षभन्दा कम उमेरमै करिब १५ लाख बालिकाको विवाह हुने अनुमान गरिन्छ  । यस्तै, मोजाम्बिकमा ४० लाख बाल बेहुली छन् । 

सियरा लियोनमा करिब आठ लाख बाल बेहुलीहरू छन्, तीमध्ये चार लाखको विवाह १५ वर्षअगावै भएको थियो । विगत २५ वर्षमा ३० प्रतिशत बालिकाको विवाह भएको तथ्याङ्क छ । अझै पनि २७ प्रतिशत किशोरीको कम उमेरमै विवाह हुने गरेको छ ।

विश्वको तथ्याङ्कमा रामलखन काकाकी छोरीको तथ्याङ्क समावेश भएको होला वा नहोला । तराईमा मात्र ३७ प्रतिशत बालबालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेको तथ्याङ्क स्वास्थ्य मन्त्रालयको छ । रामलखन काकाकी भर्खर १६ लागेकी छोरीले कसरी घर गरेर खाालिन् ! मैले २५ वर्षको उमेरमा बिहे गर्दा त जागिरे जीवन र पारिवारिक जिम्मेवारी मिलाउन कठिन भएको छ । परिपक्व उमेर अनि स्नाकोत्तरसम्मको पढाइलाई समेत पारिवारिक उल्झनका सिक्रीले कमजोर पारिदिन खोज्छन् कहिलेकाहीँ । भर्खर फक्रिँदै गरेकी किशोरीको शरीरमा यौवन फुल्न बाँकी नै छ । दुई–चार अक्षर चिनेर आत्मालोचनाको चेत हासिल गरेकै छैन, २७ वर्षको युवाको शारीरिक आवश्यताको भोक मेटाउन ती अबोध बालिकाले कति रगतको खोला बगाउनुपर्ने होला, कलिला यौनाङ्गबाट ? यस्ता नमिठा हजारौँ डर–त्रास र आक्रोशले मलाई तिरिमिरी बनायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सिर्जना बस्नेत
सिर्जना बस्नेत
लेखकबाट थप