मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

आजपाको प्रदर्शनमा प्रहरीको धरपकड, विभिन्न जिल्लामा बन्दको आंशिक प्रभाव

बिहीबार, ११ माघ २०८०, १५ : ३१
बिहीबार, ११ माघ २०८०

धनुषा । बिहीबार प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले गरेको मधेस प्रदेश बन्दको प्रभाव आंशिक परेको छ । धनुषा, सर्लाही, रौतहट र पर्सालगायतका जिल्लामा बन्दको आंशिक प्रभाव परेको हो । 

पार्टीले बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै एक दिन मधेस बन्द घोषणा गरेको हो । 

बिहानैदेखि विभिन्न स्थानमा बन्द गराउने भन्दै पार्टीका नेता कार्यकर्ताहरू सडकमा उत्रिएर नारा जुलुस गरेका छन् । बन्दका क्रममा उत्रिएका दर्जनौँ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ । 

आजपाका अध्यक्ष प्रभु साहले शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा विभिन्न स्थानमा नेता कार्यकर्तामाथि धरपकड गरिएको बताए । उनले सयौँ नेता कार्यकर्ता पक्राउ परेको दाबी गर्दै उनीहरूको निःसर्त रिहाइको माग गरेका छन् । 

यस्तै प्रहरीले पनि धनुषा, रौतहट, पर्साका विभिन्न स्थानबाट प्रदर्शनकारीलाई पक्राउ गरिएको जनाएको छ । प्रहरीले जनकपुरधामको रामानन्द चौकबाट आजपा उपाध्यक्ष एवं सभासद् तिलक थापा, महासचिव उपेन्द्र साह, सचिव समिना हुसेन, प्रवक्ता चन्द्र भूषण साह महिला मोर्चाका अध्यक्ष बबिता साह, इन्चार्ज सिमल साह सहितका नेताकार्यकर्तालाई पक्राउ गरेको बताइएको छ । 

b36ab4ad-0cab-438d-96cd-85f272d52f06

उता आजपा उपाध्यक्ष रितादेवी साह, उपमहासचिव अरुण घिसिङ, प्रदेश सचिव ममता शर्मा, आईटी आर्मीका उपाध्यक्ष सुमन यादव लगायत पनि पक्राउ परेका छन् । 

यसैगरी आजपा मधेस प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहा, आजपा अध्यक्ष एवं सांसद प्रभु साहका स्वकीय सचिव बिजय यादव लगायतका पनि पर्साबाट पक्राउ परेका छन् भने रौतहटबाट  जिल्ला इन्चार्ज त्रिभुवन साह, आम मुस्लिम मोर्चाका अध्यक्ष लालबाबु मंसुरी लगायतका नेता कार्यकर्ता पक्राउ परेका छन् । यस्तै आजपाका कार्यकर्ताहरुले सप्तरीको रुपनीमा रागमार्ग अवरुद्ध पारेका छन् ।

राष्ट्रिय सभा निर्वाचनकै बीच गरिएको बन्दका कारण केही असहजता उत्पन्न भएपनि सुरक्षा व्यवस्था चुस्त बनाइएको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार मधेसमा राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ८ सय ७३ सुरक्षाकर्मी परिचालन गरिएको थियो । बन्दसमेतको अवस्थालाई मध्यनजर गर्दै सो संख्यामा प्रहरी परिचालन गरिएको बताइएको छ।  बन्दका कारण बजार, उधोग, शिक्षण संस्था समेत प्रभावित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप