शुक्रबार, २८ असार २०८१
ताजा लोकप्रिय
राजनीति

राजावादीको सडक संघर्षप्रति पूर्वराजा ज्ञानेन्द्र मौन

प्रूर्वपञ्चहरु छिन्नभिन्न
शुक्रबार, १२ माघ २०८०, २० : ००
शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । राजसंस्था फर्काउने अभियानमा लागेका राप्रपा, मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायतले आगामी फागुनदेखि आन्दोलनको तयारी गरिरहेका छन् । हिन्दुवादी विभिन्न संघसंस्थाले पनि हिन्दु राष्ट्रको मागसहित आन्दोलनको तयारी गरिरहेका छन् ।

माग एउटैजस्तो भए पनि राप्रपासहित राजावादी दलहरु र विभिन्न संगठनले आपसमा सहकार्य गर्न भने सकिरहेका छैनन् । उनीहरू छिन्नभिन्न अवस्थामा देखिएका छन् ।

यस्तै राजावादीले गर्ने आन्दोलनकै विषयमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि मौन देखिन्छन् ।  बरु उनी आफ्नै शैलीमा धार्मिक आवरणमा देशका विभिन्न भागमा पुग्ने, धार्मिक शक्तिपीठको दर्शन गर्ने र विभिन्न व्यक्ति, सङ्घसंस्थाका प्रतिनिधि लगायत सर्वसाधारणसँग भेट गरेर एक खालको सन्देश दिन व्यस्त देखिन्छन्  । तर, उनले राजसंस्थाको पक्षमा आन्दोलनको तयारीमा रहेका दल तथा समूहसँग आफ्नो निकटतालाई प्रकट हुन नदिएका हुन् । 

गणतन्त्र स्थापना यताको डेढ दशकभन्दा लामो समय शासकहरूका क्रियाकलापबाट बढ्दो असन्तुष्टि र पूर्वराजा ज्ञानेन्द्रको अभिनन्दनमा देखिएको भिडबाट पूर्वपञ्च र राजावादी शक्तिहरू भने हौसिएका छन् । राजसंस्था पुनर्स्थापना र हिन्दुराज्यको पक्षमा यी शक्तिहरूबिच कुनै विमति नदेखिए पनि उनीहरुबिच कार्यगत एकताको गृहकार्य वा त्यसको सम्भावनासमेत अहिलेसम्म देखिएको छैन ।

यसरी छुट्टाछुट्टै घोषणा भएको आन्दोलनबाट राजसंस्था पुनर्स्थापना हुनेमा उनीहरू आफैँ पनि विश्वस्त देखिएका छैनन् । २०४६ मा प्रजातन्त्र पुनर्स्थापनासँगै गठन भएको पूर्वपञ्चहरुको दल राप्रपा आफैँमा एक ढिक्का छैन । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा एकातिर छ भने अर्कोतिर कमल थापाले आफ्नै नेतृत्वमा राप्रपा नेपाल नामक दल सञ्चालन गरिरहेका छन् । राप्रपाको नेतृत्वमा लिङ्देन आएपछि थापा असन्तुष्ट भएर बाहिरिएका हुन् ।

संसदको पाँचौँ ठुलो दल राप्रपा फागुनको दोस्रो हप्ता सडक आन्दोलन घोषणा गर्ने तयारीमा छ । आन्दोलनमा जानुअघि मङ्गलबार राजधानीमा सम्पादकहरूसँग भेटघाट गरेका अध्यक्ष राजेन्द्र लिङ्देनले सिम्बोलिक राजसंस्थासहित प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली मुख्य एजेन्डा भएको जानकारी गराएका छन् ।

सबै दलको स्पेस रहनेगरी देशको अभिभावकीय भूमिकामा राजसंस्था रहने, प्रदेश खारेज गर्ने, स्थानीय सरकारलाई थप बलियो बनाउनुपर्नेमा लिङ्देनको जोड थियो । अहिले नेता मात्र नभई व्यवस्था नै असफल भएकाले विकल्पमा राजसंस्था अपरिहार्य भएको उनको निष्कर्ष थियो ।

संघीय गणतान्त्रिक व्यवस्थाको भरपुर उपयोग गरी आन्दोलन चर्काउने उनले संकेत दिएका छन् । यद्यपि आन्दोलन शान्तिपूर्ण हुने उनले बताएका छन् ।

आन्दोलनमा विभिन्न हिन्दुवादी संघसंस्थासँग सहकार्य गर्न लागेको जानकारी दिँदै उनले आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्रको नैतिक समर्थन रहन सक्ने स्वीकारे । यद्यपि राजसंस्था सबैको अभिभावक भएकाले विवादमा नल्याउने उनले रातोपाटीसँग बताए । पूर्वपञ्चसहित राष्ट्रवादी घटकबिच पनि सहकार्य हुनसक्ने उनको संकेत थियो ।

‘सरकार ढालेरमात्र समस्या समाधान हुँदैन । अहिलेको व्यवस्था नै असफल भइसकेको छ । सबैको अभिभावकको रुपमा राजसंस्थालाई पुनर्स्थापना गर्न फागुनको पहिलो हप्ताबाट आन्दोलन गर्ने तयारीमा छौँ । सडकमा विभिन्न हिन्दु संघसंस्थासँग सहकार्य भए पनि पूर्वराजालाई सडकमा ल्याउने काम गर्दैनौँ । हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । राजसंस्थाको पक्षमा उभिने राष्ट्रवादी शक्तिबिच सहकार्य हुनसक्छ । त्यसबारे पहल भइरहेको छ’, आन्दोलनको स्वरुपबारे उनले जानकारी दिए ।

तर कोशी प्रकरणमा अध्यक्ष लिङ्देनको दोहोरो चरित्र देखाएको भन्दै राप्रपाभित्रै तीव्र असन्तुष्टि देखिएको छ । प्रदेश संरचनाको विपक्षमा रहेको राप्रपाले गणतन्त्रवादी र संघीयताका पक्षपाती दलहरूसँग मिलेर सभामुख पद हात पारेपछि शीर्ष नेताहरू धवलशमशेर राणा, प्रकाशचन्द्र लोहनी लगायतका नेता असन्तुष्ट छन् । यही विषयले राप्रपाभित्र विवाद चर्किँदै गएको छ । तर आन्दोलनमा पार्टीभित्रको विवादले कुनै असर नगर्ने लिङ्देनले दाबी गरे ।

यता दुई वर्षअघि लिङ्देन अध्यक्ष निर्वाचित भएपछि पार्टीबाट अलग भएर राप्रपा नेपाल बनाएका  कमल थापाले सत्ता स्वार्थका कारण पूर्वपञ्चहरूबिच सहकार्य र एकता  हुन नसकेको दाबी गरेका छन् । राजसंस्था र हिन्दुराष्ट्र स्थापना राष्ट्रवादी शक्तिहरूको एउटै एजेन्डा भएकाले आन्दोलनमा सँगै जानेबारे पहल भइरहेको उनले बताए ।

‘राप्रपासहित राष्ट्रवादी शक्तिबिच संयुक्त आन्दोलन गर्ने सम्बन्धमा प्रयास भइरहेको छ । विभिन्न संघसंस्था र दलहरूका आ–आफ्ना स्वार्थका कारण एकजुट हुन सकेन । एक ठाउँमा आउन सामञ्जस्ययता हुनुपर्छ’, थापाले भने ।  

गणतन्त्र स्थापनापछि प्रतिकूल अवस्था झेल्दै आएको राप्रपालाई संविधान निर्माणपछि चौथो शक्ति बनाउन आफूले भूमिका खेलेको दाबी गरे । तर संसदमा चौथो शक्तिको रूपमा पुनर्स्थापित भइसकेको शक्तिलाई एकता महाधिवेशनसम्म आइपुग्दा दुर्घटनामा पारिएको उनको गुनासो छ । यद्यपि पार्टी दुर्घटनाको विषयमा उनले कसैलाई दोष दिन चाहेनन् । विगतको तितो यथार्थ बिर्सिएर एकजुट हुनुपर्ने उनको बुझाइ छ ।

थापाले राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउने मुख्य भूमिका राप्रपाले खेल्नुपर्ने बताए । सत्ता स्वार्थ वा कुनै किसिमको स्वार्थबाट प्रेरित हुने भए एक ठाउँमा आउन नसकिने भन्दै त्यसका लागि संयोजनकारी नेतृत्व आवश्यक पर्ने उनको बुझाइ छ ।

यता पूर्वमन्त्री समेत रहेका राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर विष्ट गत वर्ष फागुन १ गतेदेखि राजसंस्था पुनर्स्थापना अभियानमा जुटेका छन् । ज्ञानेन्द्रको नागरिक अभिनन्दन कार्यक्रममा सँगसँगै रहेका विष्ट बुधवार वीरगन्जमा पनि सँगै रहेको दाबी गरे ।

राजसंस्था पुनर्स्थापनाका लागि आवश्यक परेको बेला राष्ट्रवादी शक्तिहरूबिच सहकार्य भइरहे पनि एकता नै गर्नुपर्ने पक्षमा आफू नभएको उनको तर्क छ । 

‘सबै सबैको पछाडि हुनुपर्छ भन्ने छैन । आवश्यक परेको बेला राजसंस्था पुनर्स्थापनाका लागि राष्ट्रवादी शक्तिहरूबिच सहकार्य भइरहेको छ । काममा एक भए हुन्छ एकता हुन आवश्यक छैन’, उनले भने ।

उनले राप्रपाभित्र संसदको भोग र राजसंस्थाको एजेन्डा कायमै राखेको आरोप लगाए । ‘राप्रपामा दुई लाइन छ । संसदको भोग पनि गरिराख्ने र राजसंस्था तथा हिन्दुराष्ट्रको एजेन्डा पनि नछाड्ने । हामी त्यसमा क्लियर छौँ । राष्ट्रवादी शक्ति नेपालले गत फागुन १ देखि राजसंस्था फर्काउने मिसन सुरु गर्दैछ । राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना नभएसम्म मिसन जारी रहन्छ’, विष्टले भने ।

राजा आउँदैमा कांग्रेस, एमाले र माओवादी कोही आत्तिन नपर्ने भन्दै विष्टले देशमा सार्वभौम सत्ताको नेतृत्व गर्न सक्ने सिम्बोलिक संस्थाका रूपमा राजसंस्था आवश्यक रहेको तर्क गरे ।  

गएको मङ्सिर ७ गते व्यवस्थाविरुद्ध जनआन्दोलन सुरु भएको दाबी गरेका मेडिकल व्यवसायी प्रसाईंको काठमाडौँ केन्द्रित आन्दोलन तीन दिन पनि टिक्न सकेन । राज्यले समेत निकै गम्भीर रूपमा लिएको उनको आन्दोलनलाई राप्रपा, हिन्दुवादी संघसंस्था लगायत राज्यबाट असन्तुष्ट समूहले साथ दिएको थियो । बिचैमा तुहिएको आन्दोलनलाई उनले फेरि फागुन १ गतेदेखि निरन्तरता दिने घोषणा गरेका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका उनले गाउँदेखि केन्द्रसम्म समानान्तर सरकार चलाउने यसअघि नै घोषणा गरिसकेका छन् ।

पूर्वराजाको अर्थपूर्ण दौडधुप

गत वर्ष फागुन १ गते प्रसाईंले झापाको काँकडभिट्टास्थित मेची नदीबाट अभियान सुरू गर्दा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका छोरा पूर्वयुवराज पारस शाह पनि सँगै मञ्चमा देखिएका थिए । त्यतिबेला परेवा उडाएर कार्यक्रम उद्घाटन गरेका पूर्वराजा शाह सार्वजनिक सम्बोधन नगरी दमकस्थित चिया बगान फर्किएका थिए । त्यसयता ज्ञानेन्द्र धार्मिक आवरणमा देशका विभिन्न ठाउँमा नागरिक अभिनन्दनमा सहभागी हुँदै आएका छन् । 

पूर्वराजा ज्ञानेन्द्रले असोज ७ गते भक्तपुर पुगेर नागरिक अभिनन्दन ग्रहण गरेका थिए । त्यहाँ उनलाई भेट्न भिड लागेको थियो । उनले मङ्सिर ९ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरू डा प्रकाशचन्द्र लोहनी, धवल शमशेर राणा र रवीन्द्र मिश्रलाई झापामै बोलाएर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका थिए ।

यस्तै पुस ८ गते नागरिक अभिनन्दनका लागि भैरहवा पुगेका पूर्वराजा शाहले होटल सिद्धार्थ भिलामा राप्रपाका अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री राणा र सांसद दीपक सिंहसँग भेटवार्ता गरेका थिए ।

माघ ७ गते बागमती प्रदेशको राजधानी हेटौँडा पुगेका पूर्वराजा शाहले भुटनदेवी मन्दिरमा पूजा आराधना गरेका गरेका थिए । त्यसअघि ज्ञानेन्द्रले हेटौँडाकै  चुरियामाई र पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बामा पनि पूजाअर्चना गरे । त्यहाँ उनलाई नागरिक अभिनन्दन गर्नेको ठुलो भिड लागेको थियो । बुधवार नागरिक अभिनन्दनकै लागि ज्ञानेन्द्र वीरगन्ज पुगेका नेता केशरबहादुर विष्टले जानकारी दिएका छन् । विष्टले पूर्वराजा ज्ञानेन्द्रसँग आफ्नो भेटघाट भएको दाबी गरे । यद्यपि भेटमा भएको छलफलबारे उनले केही खुलाउन चाहेनन् । 

पूवराजाले राजावादी शक्तिहरूसँगको खुला सहकार्यबारे अहिलेसम्म सार्वजनिक रूपमा केही बोलेका छैनन् । बरु उनले राजावादी शक्तिहरूलाई पनि समान ढंगले नहेरेको बताइन्छ । 

गत मंसिरमा दुर्गा प्रसाईंले राजतन्त्रको पक्षमा आन्दोलन गर्दा पूर्वराजाको साथ खोजेका थिए । पूर्वराजाको प्रत्यक्ष सहभागिता हुनुपर्ने सार्वजनिक धारणा राखेका उनले त्यो सम्भव नभए समर्थनको पत्र दिएपनि उनले बताएका थिए । तर, पूर्वराजाले उक्त आन्दोलनलाई कुनै समर्थन गरेनन् । यस्तै राप्रपा वा जसले आन्दोलन गरेपनि पूर्वराजाले समर्थन गरिहाल्ने अवस्था नरहेको पूर्वराजाका सहयोगीहरू नै बताउँछन् । 

राजावादी राप्रपाको उतारचढाव

राजतन्त्रको पक्षमा वकालत गर्नेमध्येको सबैभन्दा ठुलो शक्ति हो, राप्रपा । प्रतिनिधिसभामा पाँचौँ ठुलो दल राप्रपाभित्र पनि को पूर्वराजाको निकट बन्ने भन्ने होडबाजी देखिन्छ । यस्तै राप्रपा पटक पटक टुटफुटको समस्याबाट समेत गुज्रिँदै आएको छ ।  

२०४६ को आन्दोलनपछि बहुदल स्थापना भएसँगै पञ्चायती व्यवस्थाका प्रभावशाली पात्रहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, कमल थापा लगायतले राप्रपा गठन गर्ने सहमति गरेका थिए । तर नेतृत्वको विषयलाई लिएर शीर्ष नेताहरूबिच मतभेद भयो । पार्टी गठन अघि नै उनीहरू विभाजित भए । २०४८ सालको निर्वाचनमा राप्रपा(थापा) र राप्रपा(चन्द) समूहबाट उनीहरूले निर्वाचनमा भाग लिएका थिए । निर्वाचन परिणाम भने सुखद रहेन । चन्द समूहले तीन सिट जित्दा थापा समूहले एक सिटमा चित्त बुझायो । निर्वाचनपछि चुनावी हारको समीक्षा गर्दै दुई समूहबिच एकता भयो । एकीकृत राप्रपाको अध्यक्ष थापा बने ।

२०५१ को निर्वाचनमा राप्रपाले १९ सिट जितेर तेस्रो शक्ति बन्न सफल भयो । तर त्यतिबेला त्रिशंकु सरकारमा राप्रपा कहिले एमाले त कहिले कांग्रेससँग मिलेर थापा र चन्द पालैपालो प्रधानमन्त्री बन्न सफल भए । राप्रपाभित्र निर्णायक शक्ति रहेका कमल थापाले चन्द सरकार ढाल्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । राप्रपाभित्रको आन्तरिक विवाद बढ्दै जाँदा २०५६ को निर्वाचनको मुखमा पार्टी फेरि विभाजन भयो ।

निर्वाचनमा थापा समूहले ११ सिट जित्दा चन्द समूह निल भयो । निर्वाचन भएको एक वर्षपछि फेरि पार्टी एकीकरण भयो । २०५९ असोजसम्म पुग्दा राप्रपा पुनः विभाजन भयो । राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरी चन्दलाई प्रधानमन्त्री बनाए ।

२०६२ सालसम्म पुग्दा कमल थापाले सूर्यबहादुरको साथ छोडे र राप्रपा नेपाल गठन गरे । त्यतिबेला ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उनी गृहमन्त्री थिए । कमल थापाले छोडेपछि पनि राप्रपाभित्र सूर्यबहादुर र नेता पशुपति शमशेरबिच नेतृत्वको विषयलाई लिएर मतभेद उत्पन्न भयो । अन्ततः सूर्यबहादुरले पनि राप्रपा छाडेर राष्ट्रिय जनशक्ति पार्टी घोषणा गरे ।

२०६४ को संविधानसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षमा एक सिट पनि जित्न सकेन ।  यद्यपि राणा नेतृत्वको राप्रपाले ८ सिट, कमल थापा नेतृत्वको राप्रपाले ४ सिट र सूर्यबहादुर नेतृत्वको राजपाले ३ सिट जित्यो । तर २०७० को दोस्रो संविधानसभा निर्वाचनमा राजतन्त्रको एजेण्डाकै बेलामा कमल थापाको राप्रपा नेपालले २४ सिट र राप्रपाले १३ सिट जितेको थियो । निर्वाचन पछि दुई राप्रपाबिच एकता भयो । यो एकता पनि लामो समय टिक्न सकेन । सरकारमा सहभागिताको विषयलाई लिएर राणाले पार्टी विभाजन गरे । त्यसअघि नै लोहनीले राप्रपा(संयुक्त) घोषणा गरेका थिए । सूर्यबहादुरको निधनपछि उनका छोरा सुनिलबहादुर एक समूह लिएर कांग्रेसतिर विलय भए । 

२०७६ फागुनमा कमल थापा, राणा र लोहनीले हिन्दु धार्मिक ग्रन्थ गीता छोएर पार्टी विभाजन नगर्ने बाचासहित पुनः पार्टी एकता गरेका थिए । २०७८ मङ्सिरमा भएको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि गीता छोएर गरेको बाचा भुल्दै थापा राप्रपाबाट अलग भए । आफूलाई हराउन ज्ञानेन्द्रले भूमिका खेलेको आरोप लगाउँदै उनले अब उप्रान्त राजसंस्था आफूले नबोक्ने घोषणा गरेका थिए । राणा, चन्द र लोहनी भने अहिले राप्रपामै छन् । पार्टी छाडेपछि राजसंस्थाको आलोचना गरेका थापा भने पछिल्लो समय राप्रपा नेपाल गठन गरी फेरि राजसंस्थाकै पक्षमा वकालत गर्न थालेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप