शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कोकोलाई हराएर अस्ट्रेलियन ओपनको फाइनलमा पुगिन् आर्यना

बिहीबार, ११ माघ २०८०, १६ : ५२
बिहीबार, ११ माघ २०८०

काठमाडौँ । बेलारुसकी आर्यना साबालेन्का वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको फाइनलमा पुगेकी छन् । उनी बिहीबार खेलिएको महिला एकलतर्फको सेमिफाइनल खेलमा अमेरिकी प्रतिद्वन्द्वी कोको गौफलाई हराउँदै फाइनलमा पुगेकी हुन् ।

दोस्रो वरीयतामा आसिन २५ वर्षीया आर्यनाले १९ वर्षीया कोकोलाई ७–६ (७–२), ६–४ अंकले पराजित गरेकी हुन् । कोको चौथो वरीयताप्राप्त खेलाडी हुन् । आर्यना सन् २०१६÷१७ सिजनपछि लगातार दुईपटक अस्ट्रेलियन ओपनको फाइनलमा पुग्ने पहिलो महिला खेलाडी हुन् ।

सन् २०१६÷१७ मा अमेरिकी खेलाडी सेरेना विलियम्स लगातार दुईपटक अस्ट्रेलियन ओपनको महिला एकलतर्फको फाइनलमा पुगेकी थिइन् । आर्यनाले हालसम्म एकपटक ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जितेकी छन् । उनले सन् २०२३ मा अस्ट्रेलियन ओपनकै उपाधि चुमेकी थिइन् ।

कोकोले भने ग्रान्डस्लाम प्रतियोगिताको दोस्रो उपाधि चुम्ने अवसर गुमाएकी हुन् । उनले यसअघि सन् २०२३ मा यूएस ओपनको उपाधि जितेकी थिइन् । अस्ट्रेलियन ओपनमा भने फाइनलसम्म पुग्नु नै उनको उत्कृष्ट प्रदर्शन हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप