शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रिय सभामा थोरै सिट दिएको भन्दै माधवले मागे थप मन्त्री

शनिबार, १३ माघ २०८०, १५ : ४१
शनिबार, १३ माघ २०८०

काठमाडौँ । पछिल्लो समय सत्ता गठबन्धनका ठुला राजनीतिक दलको व्यवहार र सरकारको कार्यशैलीप्रति माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सन्तुष्ट छैन । खास गरी सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको व्यवहारप्रति आफै सत्ताको हिस्सेदार रहेको एकीकृत समाजवादी सन्तुष्ट बन्न नसकेको हो ।

सत्ता गठबन्धनबिच हुने भागबन्डामा ठुला राजनीतिक दलहरूले आफ्नो पार्टीलाई हेपेको, १० सिट त हो नि भनेर अवमूल्यन गर्ने गरेको लगायतका गुनासो एकीकृत समाजवादीका नेताहरूले गर्ने गरेका छन् । साथै जनसरोकारका सवालमा सरकारले ठोस कदम चालेर जनतालाई राहत दिने कार्यक्रममा तीव्रता दिन नसकेकोमा पनि एकीकृत समाजवादीले सरकार र गठबन्धनसँग चासो राख्दै आएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको अघिल्लो दिन माघ १० गते बुधबार पनि अध्यक्ष माधवकुमार नेपाल यस्तै गुनासो बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग अध्यक्ष नेपालले सरकारका काममा चुस्तता र दुरुस्तता आउन नसकेको भन्दै सरकारलाई थप प्रभावकारी बनाएर लैजान आग्रह गरेका थिए ।

‘सरकारका कामकारबाही जनअपेक्षा अनुसार हुन सकेका छैनन्, सरकारको प्रयास सकारात्मक हुँदाहुँदै पनि जनताको अपेक्षा पुरा गर्ने गरी काममा अझै गतिशीलता दिन सक्नुपर्छ’, अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग भनेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूले सकेसम्म जनतालाई डेलिभरी दिने र सुशासन कायम गर्ने गरी सरकारी संयन्त्र परिचालनको प्रयास गरिरहेको भन्दै आगामी दिनमा थप प्रभावकारी र सकारात्मक काम गर्दै जाने विश्वास दिलाएका थिए ।

‘विभिन्न ठाउँमा नियुक्तिहरू गर्नुपर्ने छ । सरकारका कामलाई गति दिनुपर्नेछ, जनतालाई सकारात्मक म्यासेज दिनुपर्नेछ । यस्तै विषयहरूमा के कसो भइरहेको छ भनेर कुराकानी भयो’, अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डसँग भएको भेटवार्ताबारे रातोपाटीसँग भने,‘खास गरी सरकारका कामहरू प्रभावकारी हुनुपर्‍यो भन्ने नै हो ।’

एकीकृत समाजवादीमा अध्यक्ष नेपालसहित पार्टीबाट मन्त्री भएर सरकारमा गएका बाहेकका नेताहरू सरकारबाट बाहिरिनुपर्ने पक्षमा छन् । ‘सरकारलाई दिएको समर्थन कायमै राखेर सरकारबाट बाहिरिनुपर्छ भन्ने मत पार्टीमा बलियो छ । तर अध्यक्षलगायतका केही नेताहरू त्यसो गर्न नहुने पक्षमा छन्’, एकीकृत समाजवादीका एक सचिवालय सदस्यले भने, ‘अहिले हामी सरकारमा छौ । सरकारमा भएका बेला न जनताको पक्षमा काम नै गर्न सक्यौ नत सरकारको कमजोरी नै केलाएर विरोध गर्न सक्यौ । यस्तो अवस्थामा सरकारमा बस्नुभन्दा बाहिरिनु नै पार्टीका लागि राम्रो हुन्छ भन्ने हो ।’

नेताहरूको यस्तो सुझाव भए पनि अध्यक्ष नेपाल तत्काल सरकारबाट बाहिरिँदा आफ्नो शक्ति थप कमजोर हुने बुझाइमा छन् । केही दिन पहिला बसेको सो पार्टीको सचिवालय बैठकमा समेत अध्यक्ष नेपालले सरकार र गठबन्धन छोड्न नहुने पार्टीको स्पष्ट लाइन रहेको बताएका थिए । ‘पार्टी बैठकहरूमा पनि अध्यक्षको लाइन गठबन्धन र सरकार छोड्नु हुन्न भन्ने नै छ । तर बहुमत नेताहरू सरकारलाई बाहिरै बसेर पनि सहयोग गर्न सकिन्छ त्यसो गर्दा पार्टी संगठन पनि बन्छ भन्ने छ’, अर्का सचिवालय सदस्यको भनाइ छ ।

नेता नेपालले सरकार र गठबन्धन छोड्न नहुने कुरा सार्वजनिक कार्यक्रमहरूमा समेत आक्कलझुक्कल बताउने गरेका छन् । पार्टीका नेताहरूसँगको आन्तरिक कुराकानीमा पनि अध्यक्ष नेपालले सरकार छोड्नु भन्दा बरु आफ्नो उपस्थिति थप बलियो बनाउनेतिर लाग्नुपर्ने बताउने गरेको नेताहरूको भनाइ छ ।

‘राष्ट्रिय सभामा ३ सिट हामीलाई दिने भनिएको थियो तर दुई सिटमात्र भागबन्डामा पर्‍यो । त्यसमा हामीले चित्त बुझायौ । तर अव मन्त्रीहरू हेरफेर गर्दा हामीले थप एक मन्त्री पाउनुपर्ने हुन्छ’, अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै अर्का नेताले भने, ‘राष्ट्रिय सभाको सिट पनि घट्ने, राष्ट्रिय सभाको अध्यक्ष पनि नपाउने हो भने अव हामीले थप एक मन्त्री पाउनैपर्छ । यो कुरा अध्यक्षले प्रधानमन्त्रीलाई पनि प्रस्ट भनिसक्नुभएको छ ।’ ती नेताका अनुसार थप एक मन्त्री दिन प्रधानमन्त्री पनि सकारात्मक नै रहेका छन् । माघ ११ गते भएको १९ राष्ट्रिय सभा सदस्य पदमध्ये एकीकृत समाजवादीले २ सिट पाएको थियो । प्रधानमन्त्री निकट स्रोतका अनुसार जनमत पार्टी तत्काल सरकारबाट बाहिरिएको अवस्थामा एकीकृत समाजवादीले थप एक मन्त्री पाउने सम्भावना भए पनि जनमत नबाहिरिएको अवस्थामा एकीकृत समाजवादीको माग पुरा गर्न प्रधानमन्त्रीलाई पनि कठिन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप