आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पढाएरभन्दा वेल्डिङको काम गरेर बढी कमाउँछन् नाइजेरियाका प्राध्यापक

आइतबार, १४ माघ २०८०, १४ : २६
आइतबार, १४ माघ २०८०

जारिया । ५० वर्षीय कबिर आबु बिलाल नाइजेरियाको एउटा विश्वविद्यालयका प्राध्यापक हुन् । तर उनको एउटा साइड जब पनि छ । 

उत्तरी सहर जारियामा उनी वेल्डिङको काम गर्छन् । नाइजेरियामा वेल्डिङलाई पढेलेखेकाहरुले नगर्ने÷गर्न नहुने मिनामसिना कामको रुपमा हेरिन्छ । बिलालले वेल्डिङ शप खोलेको थाहा पाएर सुरुमा उनका सहकर्मीहरू अक्क न बक्क भएका थिए ।

पढाउनुको साथसाथै वेल्डिङ काम गर्न आफूलाई लाज नलाग्ने बीबीसीसँगको कुराकानीमा बिललाले भनेका थिए । ‘मैले पढाएर भन्दा धेरै वेल्डिङबाट कमाइरहेको छु,’उनी भन्छन् । 

बिलाल अहमादु बेल्लो विश्वविद्यालयमा इन्जिनियरिङ विभागमा पढाउँछन् र अनुसन्धानका विद्यार्थीहरुको सुपरीवेक्षण गर्छन् । अहमादु बेल्लो विश्वविद्यालय नाइजेरियाको सबैभन्दा ठूलो र सर्वाधिक प्रतिष्ठित विश्वविद्यालय हो । १८ वर्षदेखि बिलाल यो विश्वविद्यालयमा प्राध्यापन गरिरहेका छन् । भौतिक शास्त्र र इलेक्ट्रिकल इन्जिनियरिङमा उनका कयौं पुस्तक पनि प्रकाशित छन् ।

उनका केही सहकर्मीहरूलाई प्राध्यापन गर्दै वेल्डिङको काम गर्नुलाई अचम्मको रुपमा हेर्छन् । पढेलेखेका मान्छेहरुले सानातिना काम गर्नुहुन्न भन्ने मान्यता हरेक समाजमा व्याप्त छ । बिलालले जे गरिरहेका छन् त्यो अपमानजनक नभएको र अरुले यसबाट सिक्छन् भन्ने आशा बिलालका सहकर्मी प्राध्यापक युसुफ जुब्रिल भन्छन् । 

जिविका कसरी चलाउने भन्नेबारे पढेलेखेका मानिसहरु ‘ओपन–माइन्डेड’ हुन जरुरी भएको बिलाल बताउँछन् । नाइजेरिमा प्राध्यापकहरुले तलब मासिक ३ लाख ५० हजार नाइरादेखि ५ लाख नाइराबिच छ ।

वेल्डिङको काम गरेर बिलालको जीवन आत्म निर्भर बनेको छ । यसबाट उनले मर्सिडिज चढेर हिड्न सक्ने हैसियत बनाएका छन् । आफ्ना पाँच सन्तानलाई ‘म त पढेलेखेको मान्छे पो हुँ त, सानातिना काम गर्न कहाँ हुन्छ र ? भन्ने दम्भ नआओस् भनेर बिललाले हरेक सप्ताहन्तमा वेल्डिङ शपमा उनीहरूलाई काम सिकाउन ल्याउने गरेका छन् । नाइजेरियामा स्नातक गरेका ४० प्रतिशतभन्दा धेरैले जागिर नपाएको एउटा अध्ययनले देखाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप