सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

चिसोका कारण फ्लुका बिरामी बढे, कसरी जोगिने ?

सोमबार, १५ माघ २०८०, ०५ : ५२
सोमबार, १५ माघ २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशभर चिसो बढ्दै गएको छ । चिसोका कारण सिजनल फ्लुका बिरामी पनि बढेको चिकित्सकहरू बताउँछन् ।

पछिल्लो समय रुघाखोकी, शरीर तथा जोर्नीहरू दुख्ने, थकान महसुस हुने, घाँटी खसखसाउने, नाकबाट पानी बग्ने र श्वासप्रश्वासमा समस्या आउने लगायतका समस्या बढेको छ । चिसोमा फ्लु अर्थात् इन्फ्लुएन्जा भाइरसका कारण यस्तो समस्या देखिने गरेको चिकित्सकहरूको भनाइ छ ।

इन्फ्लुएन्जा ए र बी भाइरसका कारण रुघाखोकी, शरीर तथा जोर्नीहरू दुख्ने, थकान महसुस हुने, घाँटी खसखसाउने, नाकबाट पानी बग्ने र श्वासप्रश्वासमा समस्या देखिने काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

फ्लु सरुवा रोग हो र यो बाह्रै महिना हुने गर्दछ तर वर्षको दुई सिजनमा यो भाइरस बढी सक्रिय हुने उनले सुनाए । ‘फ्लु भनेको इन्फ्लुइन्जा भाइरसबाट सर्ने एक प्रकारको सरुवा रोग हो,’ पुनले भने, ‘यो रोग वर्षभर नै हुन्छ, तर फेब्रुअरी–मार्च र अगस्ट–सेप्टेम्बरतिर यो उत्कर्षमा पुग्छ ।’

डा.पुनका अनुसार चिसोमा इन्फ्लुएन्जा ए र बी भाइरस बढी सक्रिय हुने भएकाले धेरै मानिसमा सामान्य रुघाखोकी, ज्वरो, शरीर तथा जोर्नीहरू दुख्ने, थकान महसुस हुने, घाँटी खसखसाउने, नाकबाट पानी बग्ने र श्वासप्रश्वासमा समस्या देखिए पनि कमैले जाँच गराउँछन् । सामान्यतः यो रोग लागे हप्ता दिनमा निको हुने उनले उल्लेख गरे ।

‘जाडो मौसममा फ्लु प्रायःलाई हुन्छ,’ उनले थपे, ‘सबैमा देखा पर्ने तर जटिल अवस्था नभएसम्म स्वास्थ्य जाँच नगराउने भएकाले यसको यकिन तथ्याङ्क हुँदैन ।’

ललितपुरस्थित पाटन अस्पतालमा दैनिक करिब २५ सय जना बिरामी जाँच गराउन आउँछन् । यसमध्ये पहिलाको तुलनामा फ्लुका बिरामी बढेको अस्पतालका मेडिकल डाइरेक्टर डा. युवराज शर्माले बताए । ‘एक दिनमा दुई हजारदेखि २५ सय बिरामी आउनुहुन्छ,’ शर्माले भने, ‘५० देखि ६० जना फ्लुका बिरामी हुनुहुन्छ ।’

रुघाखोकी, झाडापखाला, निमोनिया, दम, ज्वरो लगायत समस्या लिएर अस्पताल आउने गरेको उनले सुनाए । अस्पतालमा चिसोका कारण हुने फ्लुको सङ्क्रमणबाट आएका बिरामी युवा तथा वृद्धहरू रुघाखोकी, ज्वरो तथा दमबाट सङ्क्रमित रहेको उनको भनाइ छ । बालबालिकामा भने कोल्ड डायरियाका समस्या देखिएको उनले बताए ।

  • कसरी सर्छ फ्लु ?

फ्लु प्रायः एक व्यक्तिबाट अर्कोमा सर्ने चिकित्सकहरू बताउँछन् । फ्लु लागेको ३ देखि ४ दिनसम्ममा अरूमा सर्ने प्रबल सम्भावना हुन्छ । यो रोग श्वासप्रश्वासबाट सर्ने डा. पुनले बताए । ‘स्वास्थ्य मापदण्ड लागु भएको छैन,’ उनले भने, ‘खोक्दा, हाच्छ्युँ गर्दा प्रायः यो रोग एकबाट अर्को मानिसमा सर्दछ ।’

  • फ्लुबाट कसरी बच्ने ?

फ्लुका कारण सामान्यदेखि जटिलसम्मका स्वास्थ्य समस्या देखिने हुनाले सकेसम्म यो रोगबाट जोगिन चिकित्सकहरू सुझाउँछन् । फ्लुको भाइरस खाना, आँखा, नाक र मुखको माध्यमबाट सर्छ । सुरुमा थकान, शरीर दुख्ने, कफ, घाँटी दुख्ने र ज्वरो आउने जस्ता लक्षण देखिन्छ । धेरैजसो व्यक्तिमा यो आफैँ निको हुन्छ । तर यो रोग बिग्रिएमा दम, पक्षाघात, निमोनिया हुने डा. पुनले बताए ।

जाडो मौसममा फ्लुको भाइरस बढी सक्रिय हुने भएकाले चिसोबाट जोगिन न्यानो कपडा लगाउने तथा बिहानको चिसो हावामा घरबाट सकेसम्म ननिस्कनु नै राम्रो हुने शर्माले बताए । दिउँसो घरबाहिर निस्किँदा पनि मास्क लगाएर निस्कन उनले सुझाए ।

यस्तो मौसममा झोलिलो खानेकुरा प्रशस्त मात्रामा खानुका साथै तातोपानी पिउनसमेत उनले सुझाव दिए । यस्तै, छाती दुख्ने तथा श्वास फेर्न गाह्रो हुने समस्या बढ्दै गएमा वा घ्यारघ्यार हुने भएमा सकेसम्म चाँडो जाँच गराउन उनको सुझाव छ ।

बालबालिका, वृद्धवृद्धा, गर्भवती र दीर्घरोगका बिरामीलाई यो रोगको बढी जोखिम हुन्छ । यो रोगको भाइरस सार्ने संवाहक परिवारको सक्रिय सदस्य हुने डा.पुनले बताए । ‘परिवारको सक्रिय सदस्यले मास्क लगाउने, हात धुने अर्थात् स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्नुपर्छ,’ उनले भने, ‘भिडभाडमा जाँदा खोक्दा, हाच्छ्युँ गर्दा मुख छोप्ने, सरसफाइमा ध्यान दिनुपर्छ ।’

उनका अनुसार फ्लुको खोप पनि पाइन्छ । यो खोप वर्षमा एक पटक लगाउने गरिन्छ । दीर्घरोगी, वृद्धवृद्धाले यो खोप लगाउनुपर्छ । खोप लगाएमा जटिल अवस्थामा पुग्नबाट जोगाउने उनले सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप