आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जसपा विभाजनपछि  विप्लवको टिप्पणी :  स्थिति चिन्ताजनक छ, परिस्थितिलाई सम्हालियोस्

सोमबार, २४ वैशाख २०८१, १८ : ०३
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) विभाजनप्रति समाजवादी मोर्चाका संयोजकसमेत रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले चिन्ता व्यक्त गरेका छन् ।

आइतबार जसपा सङ्घीय परिषद्का अध्यक्ष अशोक राई र वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ समूहले पार्टी विभाजन गरी नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमण रहेकै बेला असन्तुष्ट समूहले दिएको निवेदन निर्वाचन आयोगले स्वीकृत गरिसकेको छ । मोर्चाका घटक समेत रहेका जसपा विभाजनबाट स्थिति चिन्ताजनक भएको भन्दै उनले परिस्थितिलाई सम्हालेर लैजान शीर्ष नेताहरूलाई आग्रह गरेका छन् ।

‘हिजोबाट स्थिति चिन्तापूर्ण भएको छ । यस्तो बेलामा सम्हालेर लैजानुपर्छ । बैठक बस्ने विषयमा मोर्चाका शीर्ष नेताहरूसँग मैले कुराकानी गरेको छु । मोर्चाको बैठक बस्ने कुरा भएको छ । उपेन्द्रजी फर्किएपछि बसेर छलफल गर्छौं’, सोमबार रातोपाटीसँग कुरा गर्दै उनले भने ।

सरकारकै लडाइँमा लिप्त हुने प्रवृत्ति देशको राजनीतिको असाध्यै नकारात्मक पाटो भएको उनले टिप्पणी गरे । अहिलेको स्थितिले देशको सिस्टमै परिवर्तन आवश्यक छ भन्ने कुरा यसले छर्लङ्ग पारेको उनको भनाइ छ । महासचिव विप्लवले केही शक्तिलाई समाजवादी मोर्चा बनेको मन नपरेको बताए ।

‘केही शक्तिलाई समाजवादी मोर्चा बनेको पनि मन परेको छैन । समाजवादको प्रस्ताव पनि मन परेको छैन । नेपाली जनताको चाहनालाई एकीकृत ढंगले अगाडि बढाउन पहल भएको छ । त्यसमा पनि एक थरी मानिसहरू तरङ्गित छन् । यस्तो बेलामा सबै संयमित हुनुपर्छ’, पछिल्लो स्थितिबारे उनले भने, ‘एक पटक सबै बसौँ । समीक्षा गरौँ । देशको स्थिति जसरी अस्थिर र अराजक बनिराखेको छ । यसले हामीलाई चिन्तित गराएको छ । निकासको बहस जरुरी छ । शासकीय प्रणाली व्यवस्थापकीय प्रणाली मात्रै होइन नयाँ ढङ्गले सोच्नु पर्छ ।’

यस्तै उनले देशको पछिल्लो राजनीतिक स्थितिलाई दुई तरिकाले हेरेको बताए ।  एउटा अन्तर्राष्ट्रिय ध्रुवीकरणको प्रभाव नेपालमा परेको उनको भनाइ छ । अर्को नेपालमा जुन प्रगतिशील समीकरण बनेर राजनीतिलाई स्थिरतातर्फ लैजाने पहल भइरहेको थियो त्यही बेला  कमजोर बनाउने खेलहरू देशभित्र पनि भइरहेको उनको निष्कर्ष छ । यसलाई नेताहरूले गम्भीरतापूर्वक लिँदै दलभित्रको आन्तरिक विवाद दलभित्रै छलफल गर्ने परिपाटी बसाल्नुपर्ने उनले प्रतिक्रिया दिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप