बिहीबार, १० फागुन २०८०
ताजा लोकप्रिय
जेलबाट सुरु भएको सहिद दिवस

झुन्ड्याइने बेला सहिद लखन थापाले गरेका थिए जंगबहादुरको मृत्युको भविष्यवाणी !

‘लखन थापामगरलाई झुन्ड्याएको डोरी धामीझाँक्रीले प्रयोग गरे’
मङ्गलबार, १६ माघ २०८०, ११ : ४०
मङ्गलबार, १६ माघ २०८०

हामीकहाँ सहिद दिवस मनाउने प्रचलन जेलबाट सुरु भएको थियो । राणाशासनका विरुद्ध आवाज उठाएर वा गतिविधि गरेर जेलमा परेकाहरूले जेलमै सहिद दिवस मनाउँदै आएका थिए । राणाशासकले १९९७ सालको माघ १० गतेदेखि १५ गतेभित्र चार सहिद (शुक्रराज, धर्मभक्त, दशरथचन्द र गंगालाल)लाई फाँसी दिएका थिए । यस घटनाको एक वर्ष वा केही वर्षपछि जेलजीवन बिताइरहेका प्रजातन्त्रवादीले सहिदको स्मरण गर्न थालेका हुन् । 

२००९ सालमा प्रकाशित आफ्नो पुस्तक ‘शहीदहरूको सम्झना’मा खड्गमान सिंहले लेखेका छन्, ‘यस अवधि (माघ १० देखि १५)मा एक दिन थपी सबैले सहिद सप्ताह मनाउनु मनासिब पर्ला । यस कारण म देशवासीसँग अनुरोध गर्छु कि प्रतिवर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताह मनाइयोस्, हामीले अघि जेलमा छँदा पनि यसै गरी मनाइआएका थियौँ । यस उत्सवमा हामीले सहिदहरूलाई श्रद्धाञ्जलि चढाउनु नै मुख्य काम हो ।’

यहाँनेर, सिंहले ‘सहिद सप्ताह मनाइयोस्’ भनी माग गर्नुले यो स्पष्ट गर्छ कि राज्यले औपचारिक रूपमा २००९ सालसम्म सहिद सप्ताह मनाएको थिएन ।

माघ २००८ मा ‘शहीद स्मारक सञ्चालन समिति, काठमाण्डु’ले ‘शहीद श्रद्धाञ्जली’ पुस्तिका प्रकाशन गरेको छ । यसले यो स्पष्ट गर्छ, प्रजातन्त्र आएलगत्तै सहिदको सम्झनामा गतिविधि हुन थाले । २००७ सालको माघ गइसकेपछि अर्थात् फागुन ७ गते प्रजातन्त्र आएकाले सहिदसम्बन्धी क्रियाकपाल २००८ सालको माघदेखि हुन थालेको बुझिन्छ । 

यस पुस्तिकामा मकैको खेती पुस्तकका लेखक सुब्बा कृष्णलाल अधिकारीदेखि मैनाबहादुर, कप्तान खण्डमानसिंह, शुक्रराज, धर्मभक्त, गंगालाल, दशरथ चन्द, लक्ष्मीनन्दन चालिसे, चिनियाँलाल, बलबहादुर पाँडे, भोगेन्द्रमान सिंह, चिनिकाजी र थिरबम मल्लको नाम उल्लेख छ । 

२०११ सालदेखि सहिद दिवस !  

‘सरकारद्वारा २४ हजार रूपैयाँ खर्च गरी एउटा सहिद स्मारक बनाउने निर्णय भएको छ । साथै ती सहिद परिवारमध्ये कुनै कुनैले कुनै अंंशमा सरकारबाट मद्दत पाइसकेका छन् र कुनै कुनैले पाएका छैनन्, ती सबैप्रति पनि सहायतार्थ आर्थिक मद्दत गर्न यसपालिको बजेटमा राखिएको छ,’ तत्कालीन युवराजधिराज महेन्द्रले २०११ माघ १७ गते ‘सहिद समारोह’लाई सम्बोधन गरेका थिए, (गृष्मबहादुर देवकोटाको पुस्तक ‘नेपालको राजनीतिक दर्पण’) । 

हामीकहाँ सरकारले नै सहिद दिवस मनाउन थालेको २०११ सालदेखि नै होला, (यसअघि सहिद दिवस वा समारोह मनाएको अभिलेख यस पंक्तिकारले फेला पारेको छैन) । देवकोटाको उपरोक्त पुस्तकमा ‘युवराजधिराजबाट सहिद समारोहमा श्रद्धाञ्जली भाषण’ भनी उल्लेख छ । भाषणमा ‘यस सभामा सभापतिको आसनबाट हाम्रो प्यारो देशका वीर सुपुत्र सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न पाउँदा’ भन्ने वाक्यांश परेकाले यो समारोह सरकारी तजबिजमै आयोजना भएको हुनुपर्छ । 

त्यतिबेला २४ हजार रूपैयाँ खर्च गरी बनाइने भनेको सहिद स्मारक अहिलेको ‘सहिद गेट’ होला सायद । जेहोस्, प्रजातन्त्र स्थापनाका लागि राणाशासनविरुद्ध लडेका सहिद परिवारलाई सरकारले २०११ साल अघिदेखि नै सहयोग गर्दै आएको तत्कालीन युवराज महेन्द्रको भाषणबाट बुझिन्छ ।

राणाशासनविरुद्ध लड्नेहरू 

जंगबहादुर राणाको निरंकुश राणाशासनविरुद्ध संगठित रूपमा लड्ने हिम्मत गोरखाका लखन थापामगरले गरेका थिए । गोरखा जिल्लाको बुङकोटमा १८९१ सालमा जन्मेका लखन (जुम्ल्याहा छोरा जन्मेकाले राम–लक्ष्मण नाम राखिएको, पछि लक्ष्मण नै लखन भए)ले १९३२ सालतिर राणाविरुद्ध लड्न जनसेना तयार गरे । स्थानीय जनताको सहयोगमा लखनले बुङकोटमा तीनतले दरबार पनि बनाएका थिए । त्यस दरबारमा दिनहुँ स्थानीय जम्मा भई जंगबहादुरको अत्याचार सम्बन्धमा छलफल हुने गथ्र्यो । लखनले स्थानीय युवा र भूतपूर्व सैनिकलाई लिएर दुई हजार जतिको फौज तयार गरेका थिए, (२०६४ मा प्रकाशित जीवन आलेमगरको पुस्तक ‘नेपालका प्रथम जनविद्रोही सहिद लखन थापा मगर’) ।

लखन थापालाई झुन्ड्याइएको डोरी २०३४ सालसम्म थियो । धामी–झाँक्रीले बिरामीलाई झारफुक गर्ने लगायत कार्यमा प्रयोग गर्दा त्यो डोरी नष्ट भइसकेको छ ।

यो खबर पाएर जंगबहादुरको देवीदत्त पल्टन गोरखा पुग्यो । दुवै पक्षबिच युद्ध भयो तर लखनको फौजसँग गोली–बारुद सकिएपछि युद्ध रोकियो । लखन भाग्न सक्थे, वीरता र बलिदानी प्रदर्शन गर्न नभागी उनी लगायतले गिरफतारी दिए । लखनलाई उनकै दरबार किल्लाभित्र प्रतिस्थापन गरिएको मनकामना मन्दिर अगाडिको खिर्राको रुखमा झुन्ड्याइयो, १९३३ फागुन २ गते ।  

राणाशासनविरुद्ध विद्रोह गरेकाले नेपाल सरकारले उनलाई २०५६ सालमा सहिद घोषणा गरेको थियो । २०७२ असोज ३ गते आएर औपचारिक रूपमा उनलाई नेपालको पहिलो सहिदको दर्जा दिइयो । सुरतबहादुर शाहले २०५७ सालमा ‘नेपालका प्रथम अमर सहिद बाँकावीर’ पुस्तक प्रकाशन गरेका छन् । जंगबहादुरको विरोध गर्दा १९०६ सालमा मारिएकाले बलदेव शाह (बाँकावीर)लाई प्रथम सहिद मान्नुपर्ने सुरतबहादुरको तर्क छ । 

लखनलाई झुन्ड्याइएको डोरी

जीवन आलेमगरको उपरोक्त पुस्तक अनुसार, लखनसँगै जयसिंह चुमी रानामगर र अन्य ६ जनालाई झुन्ड्याएको कथन पाइन्छ । त्यतिबेला कति स्थानीय युवा सहिद भए यो अलग्गै खोज अनुसन्धानको विषय छ । 

झुन्ड्याइने बेला ठुलो जनसमुदायलाई सम्बोधन गर्दै लखनले भनेका थिए, ‘म मर्न गइरहेको छैन । यदि म मुर्दा अवस्थामा परिणत भएँ भने जंगबहादुरको पनि सात दिनभित्र प्राणान्त हुनेछ । मलाई झुन्ड्याइएका बेला कोही पनि नरुनू र पीर नगर्नू । मलाई झुन्ड्याइएको डोरी सुरक्षितपूर्वक राख्नू ।’

उनलाई झुन्ड्याइएको बाबियोको डोरी काहुले गाउँ (बुङ्कोटस्थित)का कनकसिंह थापा मगरले सुरक्षित राखेका थिए । त्यो डोरी २०३३/३४ सालसम्म कनकसिंहका नाति खिलबहादुरकी आमासँग थियो । ‘उनीबाट ताक्लुङको मास्कीछाप निवासी छोरीज्वाइँ खिलबहादुर सुनारी थापाले लगे । जीवन आलेमगरले लेखेका छन्, ‘ग्रामीण नेपाली समाजमा व्याप्त जनविश्वासअनुरूप धामी–झाँक्रीले बिरामीलाई झारफुक गर्ने क्रममा विभिन्न प्रयोजनार्थ उक्त डोरी प्रयोग भई नष्ट भइसकेको छ ।’ 

जीवनको पुस्तक अनुसार, लखन थापालाई मार्नु भन्ने आदेशपत्र जारी गरेलगत्तै जंगबहादुरले केही अपशकुनको महसुस गरेछन् । ‘लखनलाई तत्काल नमार्नू’ भन्ने अर्को आदेशपत्र पनि उनले पुनः जारी गरेका थिए, ती दुवै आदेशपत्र केही घन्टाको फरकमा बुङकोटघाटमा पुगेको थियो । त्यहाँ पसल गरेर बस्ने लालसिंह नेवार (जो भीमसेन थापा खलकको द्वारे थिए, हुलाकको अदलीबदली पनि द्वारे नै हुन्थ्यो)ले लखन थापालाई मार्नू भन्ने आदेशपत्र तुरुन्तै पठाए, तर तत्काल नमार्नू भन्ने आदेशपत्र पठाउन केही ढिला गरे । 

अनौठो त, लखनलाई झुन्ड्याइएको केही दिनपछि जंगबहादुरको मृत्यु हुन्छ । प्रा. दिनेशराज पन्तका अनुसार, जंगबहादुरको मृत्यु १९९३ फागुन १६ गते भएको हो । 

त्रिचन्द्र कलेजमा पढ्ने लक्ष्मीनन्दन चालिसेले परीक्षा दिँदा उत्तरपत्रको एक ठाउँमा ‘नपुंसक राणा’ भनी लेखेछन् । यसबापत उनलाई ६ वर्ष कैद सजाय तोकियो । जेलमा अचानक टीबी भयो र अल्पायुमै उनको निधन भयो ।

परीक्षामा ‘नपुंसक राणा’ लेखेर जेल

इतिहासकारका अनुसार, राणाशासनको अत्याचार कहालीलाग्दो थियो । श्री ३ महाराजको हुकुमभन्दा माथि कुनै कानुन र अदालत थिएन । मुलुकी ऐन वा अरु जुनसुकै कानुनलाई श्री ३ को हुकुमले काट्थ्यो । बिनाकारण मानिसलाई बाँसमा झुन्ड्याएर पिट्नु, सर्वस्व गर्नु, जन्मभर कैद गर्नु, ज्यान सजाय गर्नुसम्म राणाका लागि खेलबाडै थियो । सरकारी गतिविधिबारे बोल्ने सर्वसाधारणले सर्वस्वहरण वा जन्मकैन्द भोग्नुपथ्र्यो, (भुवनलाल प्रधानको पुस्तक ‘शहीद परिचय’ २०३४) ।

हाम्रा महान् चार सहिदका बारेमा त हामीले धेरै सुुनेका छौँ । राणाशासनविरुद्ध बोलेर, लेखेर वा गतिविधि गरेर जेल परी जेलमै मृत्युवरण गर्नेहरूको कति कथा लेखिए, कतिको कथा जेलभित्रै थुनिए, यसै भन्न सकिँदैन ।

खड्गमान सिंहको पुस्तक (शहीदहरूको सम्झना– २००९)मा १४ सहिदको बारेमा संक्षिप्त उल्लेख छ । 

यस्त पुस्तक अनुसारm त्रि–चन्द्र कलेजमा पढ्ने लक्ष्मीनन्दन चालिसेले परीक्षा दिँदा उत्तरपत्रको एक ठाउँमा ‘नपुंसक राणा’ भनी लेखेछन् । यो विषय मुद्दा बन्यो र उनलाई ६ वर्ष कैद सजाय तोकियो । जेलमा अचानक टीबी भएकाले १९९९ सालमा उनको निधन भयो ।’ 

यस्तै, नेपाल प्रजा परिषद्का सदस्य बलबहादुर पाँडेले २१ वर्षको कलिलो उमेरमा जेलमै मृत्युवरण गरेका थिए । १९९७ सालमा छरिएका पर्चा छाप्ने मेसिनलाई उनले आफ्नो घरको छिँडीमा गाडेर राखेको राणा प्रशासकले थाहा पाए । उनलाई पक्रेर जन्मकैदको सजाय सुनाइयो । जेलमा उनलाई केही दिनमै विक्षिप्तता (इन्सानिटी)ले छोप्यो र उनी बौलाहाजस्तै भए— केही नबोल्ने, केही नखाने गरे । 

उनकी आमाले उनलाई बाहिर उपचार गर्न लैजान चाहेकी थिइन् तर पाइनन् । जेलमै उनको चेकजाँच र उपचार त गरियो तर १९९९ चैत २२ गते उनको मृत्यु भयो । 

सहिदको परिभाषा के ? 

घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता ।

मातृभूमिको चरण ढोगी भाग्दछ दासता ।।

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए । 

बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए ।।

(भूमि शेरचन) 

आज हामी जस्तो व्यवस्थामा छौँ, जस्ता हक–अधिकारको उपभोग र बहसमा छौँ, हाम्रो देश र समाज यहाँसम्म आइपुग्नुमा हाम्रा पुर्खाको बलिदानी सानो छैन । सदियौँदेखि चट्टानजस्तो बनेर बसेको निरंकुश सत्ता (सत्ता समाजमा पनि हुन्छ)लाई हल्लाउन हजारौँ मुठीहरूको निरन्तर प्रहार आवश्यक हुन्थ्यो ।

राणाकालको मात्रै कुरा गर्दा— जंगबहादुरले पाध्या, रजपूत, जैसी बाहुन, तागाधारी क्षत्रीय, नमासिन्या वा मासिन्या मतुवाली, छिटो हाल्नुनपन्र्या वा छिटो हाल्नुपन्र्या, पानी नचल्न्याजस्ता जात छुट्टयाई विभेदकारी मुलुकी ऐन (१९१०) ल्याएका थिए । कानुनमै जातीय विभेद भएको अवस्थामा उत्पीडित वर्ग तथा समुदायले व्यवस्थाविरोधी के कस्ता विद्रोह कति गरे वा गर्नुपर्‍यो होला ? त्यसको कुनै लेखाजोखा छैन । 

राणाविरोधी आन्दोलनमा, प्रजातन्त्रको पुनस्र्थापनामा र गणतन्त्रका लागि आफ्ना पुर्खाको बलिदानी के कस्तो रह्यो भनी पछिल्लो समय विभिन्न समुदायले आफ्नो इतिहास खोज्न थालेका छन् । 

अमृत योञ्जन तामाङको पुस्तक ‘ओझेलमा तामाङ सहिदहरू’ अनुसार, प्रजातन्त्रदेखि गणतन्त्रसम्म तामाङ समुदायको बलिदानी गर्विलो छ । भारतमा बसोबास गरिरहेका नेपालीले २००५ जेठ ७ गते कलकत्तामा एक भेला गरी राणा शासकविरुद्ध जनमुक्ति सेनाको स्थापना गरेका थिए, जसमा २३ संस्थापक सदस्यमध्ये आठजना (३४.७८ प्रतिशत) तामाङ थिए । 

जनमुक्ति सेनाद्वारा २००७ कात्तिक २६ गते विराटनगरमा गरिएको आक्रमणमा अग्रपंक्तिमा योद्धा तुलाराम तामाङ (गोले काइँला) थिए, सेनाको गोली लागी गम्भीर घाइते भएका उनी अर्को दिन (कात्तिक २७ गते) सहिद भए । अमृत योञ्जनले हालसम्मको पहिलो तामाङ सहिद गोले काइँलालाई मानेका छन् । प्रजातन्त्र आइसकेपछि अर्थात् २०१६ को मंसिरदेखि आठ महिनासम्म धादिङका तामाङले स्थानीय सामन्त बाहुनहरूको अत्याचारविरुद्ध आन्दोलन गर्नुपरेको थियो । 

गृह मन्त्रालयका अनुसार, हालसम्म ११ हजार ४१९ सहिद राजपत्रमा अंकित छन् । यसमा तीन हजार २६१ सहिद थपिँदै छन्, यसरी यस वर्षदेखि राज्यको सहिदको सूचीमा पर्नेको संख्या १४ हजार ६८० पुग्दै छ । 

हो, भूपि शेरचनले भनेजस्तै देश बन्न ‘दुई–चार सपूत’को बलिदानी अनिवार्य छ । थाहा छैन, अझै पनि सामाजिक विभेद, वर्गीय असमानता आदिलाई चिर्न कति सपूतले बलिदानी दिनुपर्ने हो । आज यस्तो महसुस हुन्छ— राज्यसँग स्पष्ट सहिदको परिभाषा आवश्यक छ । त्यो परिभाषामा सामाजिक न्याय, राज्य र राष्ट्रको हितलाई पनि समेटिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप