जय शम्भो : पशुपतिनाथको जग्गा २३१ रोपनी कम भो !
काठमाडौँ । पशुपतिनाथको दर्शन गर्दा मनोकामना पूरा हुन्छ भन्ने हिन्दुहरूको धार्मिक विश्वास छ । तर, पशुपतिनाथकै नाममा रहेको दुई सय ३१ रोपनी १० आना जग्गा गायब भएपछि यो जमिन कसरी फेला पार्ने भन्ने चिन्तामा नेपाल सरकार र पशुपति क्षेत्र विकास कोष देखिएका छन् ।
कोषका तत्कालीन परिषद् कोषाध्यक्ष मिलन कुमार थापाको संयोजकत्वमा गठित छानबिन समितिले उपत्यकाभित्रकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा गायब भएको प्रतिवेदन तयार परेको थियो ।
पशुपतिनाथ अमालकोट कचहरी, श्रीपशुपति भण्डार तहबिल र जयवागेश्वरी भण्डार तहबिलको असुली लगतको अभिलेखअनुसार पशुपतिनाथको नाममा बागमतीदेखि मनहरा नदी बगरसम्मका त्यति जग्गा अझै गायब छ ।
अर्बौँ रुपैयाँ बराबरको जग्गा कसरी गायब भयो ? यसको जवाफ दिन सक्ने हालतमा न कोष छ, न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नै ।
यसैको जवाफ खोज्न विभागीय मन्त्री सुदन किराती लागेका छन् । उनले उच्चस्तरीय समितिमार्फत यसको छिनोफानो गर्ने भन्दै समिति निर्माण गर्ने बताएका छन् ।
उसो त यसअघि पशुपतिनाथको जग्गा र सम्पत्तिको खोजबिन गर्न तीन वटा समिति बनिसकेका छन् । संस्कृति मन्त्रालयका तत्कालीन सचिव जलकृष्ण श्रेष्ठ, कोषका परिषद् सदस्य नवलकिशोर चौधरीको समितिका प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन ।
तत्कालिन कोषाध्यक्ष थापा संयोजकत्वको समितिको प्रतिवेदनले अमालकोट कचहरीको ६ रोपनी १२ आना, जयबागेश्वरी ११ रोपनी ७ आना र भण्डार तहबिलको दुई सय १३ रोपनी ७ आना जग्गा औँल्यायो ।
भण्डार तहबिलको विवरणअनुसार लगत नम्बर २४९ को पूर्वप्रधानमन्त्री चन्द्रशमशेर जबरा मोही भएको ६ रोपनी ४ आना जग्गा अहिलेसम्म भेटिएको छैन । लगत नम्बर ९२४ मा देखिने डा. रघुवीर वैद्यको बौद्धकै कित्ता नम्बर ४८ को २९ रोपनी ४ आना २ पैसा २ दाम जग्गा गायबै छ ।
प्रतिवेदनमा लगत नम्बर ४५७ मा समरबहादुर थापा क्षेत्रीको भक्तपुर जिल्लामा रहेको मौजे शारदा १४ अन्तर्गतको कित्ता नम्बर २६९ को १ रोपनी १० आना पनि गायब भएको उल्लेख छ । २०२१ सालको सबै नापीमा यो जग्गा कुन कित्ता, कुन गाविसको कति वडामा पर्छ भन्ने खुलेको देखिँदैन । लगत नम्बर ६५० मा रिपुमर्दन थापाको सदाबर्तबाट मार्सी फलुवा चामल तिर्नुपर्ने भनिएको जग्गा पनि भेटिएको छैन ।
लगत नम्बर ३०८ को मोही नरबहादुर फुयाँलको नाममा रहेको मनहरा बगरको २५ रोपनी जग्गा पनि गायब भएको कोषले जनाएको छ । पशुपतिनाथ भण्डार तहबिलको लगतमा रहेको यो जग्गा भक्तपुर–काठमाडौँको मूलपानी र ठिमीबिचमा रहेको कोषका सदस्य सचिव राजु कुमार खत्रीले रातोपाटीलाई बताए ।
उनले भने, ‘उपत्यकामा पशुपतिको नाममा नौ वटा पोखरी थियो, त्यसमध्ये दुई आना जग्गा बाटो लगेर व्यक्तिले प्रयोग गरेको एउटा पोखरी, अर्को तीन रोपनी ६ आना भएको पोखरी र अर्को तीन रोपनी आठ आना जग्गा भएको पोखरी समेत गरी तीन वटा पोखरी भेटियो, बाँकी ६ वटा पोखरी अझै भेटिएको छैन । बाँकी कति हराए भन्ने विषयमा हामी छानबिन गर्छौँ।’
मन्त्री किरातीले हराएका ती जग्गा कित्ता नापी महाशाखा, नापी कार्यालय र उपत्यकाका तीन वटै मालपोत कार्यालय र कोषका प्रतिनिधि सम्मिलित समिति बनाएर खोजिने जानकारी दिए ।
उनले रातोपाटीसँग भने,‘सचिवकै नेतृत्वमा उच्चस्तरीय जग्गा खोजबिन समिति गठन गर्ने निर्णय भइसक्यो, समिति बनाएर तत्काल खोजबिन थाल्छौँ ।’
पशुपतिनाथको जग्गा १९ हजार रोपनी !
थापा संयोजकत्वको समितिले पशुपतिनाथ मन्दिरको नाममा देशभर १८ हजार ८ सय ८२ रोपनी १४ आना जग्गा रहेको तथ्य फेला पारेको थियो । कोषको तीन वटै कार्यालय क्रमशः श्रीपशुपतिनाथ अमालकोट कचहरी, श्रीपशुपति भण्डार तहबिल र जयवागेश्वरी भण्डार तहबिलको लगतभित्र दर्ता प्रमाणित भएको ४ हजार १८१ रोपनी १३ आना ३.५ पैसा जग्गा छ भने पशुपतिको कोर क्षेत्रमा १ सय रोपनी ३ पैसा ३ दाम जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ ।
कोषका अनुसार २०६४ जेठ ३२ मा २९ रोपनी ७ आना २ पैसा १ दाम जग्गा र २०६२ कात्तिक २२ गते १९ रोपनी १५ आना १ दाम जग्गा अधिग्रहण गरेर पशुपतिको नाम दाखिला गरिएको थियो । गोठाटार क्षेत्रमा ५३४ रोपनी र तारागाउँ रिजेन्सी होटलले चर्चेको १७ रोपनी जग्गा पनि पशुपतिनाथकै रहेको कोषले जनाएको छ । कोषका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पशुपतिकै नाममा रहेको ११ सय २६ रोपनी जग्गा प्रयोग गरिरहेको छ । कोषले उक्त जग्गा ९९ वर्षका लागि विमानस्थललाई भोग चलन गर्न दिएको हो ।
२०७० जेठ ३० गते पशुपतिको अतिक्रमित धेरै जग्गा अधिग्रहण गरिएको छ । बी १३ क्षेत्रको ४४ रोपनी १० आना २ पैसा जग्गा अधिग्रहण गरिएको थियो । भण्डारखाल रहेको जंगलको १४६ रोपनी ५ आना ३ पैसा, सिफल चौरको १६ रोपनी ९ आना २ पैसा, कैलाश चउरको ४९ रोपनी १ आना २ पैसा, पशुपतिनाथ मन्दिरको ८ रोपनी ८ आना २ पैसा, बागमती नदी १५ रोपनी ५ आना ३ पैसा, गोरखनाथ मन्दिर सत्तलको ५ रोपनी, ७ आना २ पैसा, १५ शिवालयको ३ रोपनी १ आना, गुह्येश्वरी मन्दिर सत्तलको १६ रोपनी ५ आना जग्गा अधिग्रहण गरिएको थियो । तिलगंगास्थित नेपाल आँखा अस्पतालले पशुपतिनाथको ३२ रोपनी जग्गा र नेपाल–भारत मैत्री पशुपति धर्मशालाले २० रोपनी जग्गा भोग चलन गरिरहेको कोषले जनाएको छ । कोषका अनुसार महास्नान पोताका नाममा १२ सय ४१ रोपनी १ आना २ पैसा जग्गा र गुठी संस्थानको नामको एक हजार १५ रोपनी १५ आना १ पैसा पशुपतिकै सम्पत्ति हो ।
पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव गोविन्द टण्डन जग्गा कति हराए भन्ने यकिन तथ्यांक कसैसँग नभएको बताउँछन् । ‘पशुपतिनाथको नाममा रहेको जग्गा खोज्ने कुरा अहिलेदेखि होइन, विगत देखिकै हो’, उनले भने, ‘खोज्ने भन्दै विभिन्न खोजविन समितिहरू बने । तिनले यहाँ यति जग्गा हराए वा हडपियो भनेर यकिन तथ्यांक दिन सकेनन् ।’
२०७३ मै मुआब्जा खाएका तिलगंगा आसपासका घरमा अहिले पनि मानिसहरु बसिरहेको उनको भनाइ छ । उनले भने, ‘उनीहरूलाई गोठाटारमा चार आना जग्गा दिएर राख्ने निर्णय भएको थियो । खै तिनलाई हटाउन कसले रोक्यो ? यहाँ त काम गर्ने होइन कुरा मात्रै गर्ने धेरै भए । पशुपतिको गुरुयोजनाको त्यत्रो काम बाँकी छ, खै कहिले हुन्छ पुरा ? काम नगर्ने र प्रचारबाजी मात्रै गर्ने धेरै भए । पशुपतिको नामका कति जग्गा छन् स्पष्ट प्रमाण छन् नि । ती प्रमाण हेर्दै जसले हडपेको छ अधिग्रहण गर्न कसले रोक्छ ?’