सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
भिजिट भिसा प्रकरण

९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध बिहीबार मुद्दा दायर हुने

पक्राउ पूर्जी लिएलगत्तै फरार भए अध्यागमनका अधिकृतहरु
बुधबार, १७ माघ २०८०, २१ : ५९
बुधबार, १७ माघ २०८०

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध बिहीबार मुद्दा दर्ता गर्ने तयारी भएको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ७ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागेको हो । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले भिजिट भिसा प्रकरणको अभियोजन गर्ने अन्तिम तयारी गरेको छ । बुधबार उक्त प्रकरणको अनुसन्धान भएको ६० दिन पुगेको भएपनि उच्च अदालत पाटन मातहतका अदालतहरुमा शोक विदा दिइएका कारण बिहीबार मुद्दा दर्ता गर्न लागिएको हो । 

जिल्ला प्रहरी परिसर, काठमाडौँले भिजिट भिसा प्रकरणमा संलग्न रहेकामध्ये २२ जनालाई प्रतिवादी बनाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेश गरेको छ । सोही प्रतिवेदनका आधारमा सरकारी वकिलले बिहीबार काठमाडौँ जिल्ला अदालतमा लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले दिएको रायसहितको प्रतिवेदनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत अध्यागमन अधिकृतहरु नरवीर खड्का, कुशल बराल, शैलेन्द्र ढकाल, बिमल पौडेल, बिष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो तथा पहिले अध्यागमन कार्यालयमा कार्यरत रही हाल राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना तथा समन्वय शाखामा कार्यरत शाखा अधिकृत तारा बहादुर कुँवरलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागेको हो ।

सेटिङवापत २ लाख रुपैयाँ बुझिसकेको अवस्थामा अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरिएको भएपनि अन्य अध्यागमन अधिकृतहरु भने सबै फरार नै रहेका छन् । नरवीर खड्काकै पोल बयानका आधारमा अन्य अध्यागमन अधिकृतहरुले समेत भिजिट भिसाको सेटिङ गरी कमिसन लिने गरेको पाइएपछि उनीहरुविरुद्ध समेत मुद्दा दायर भएको हो ।

त्यसबाहेक भिजिट भिसामा सेटिङ गर्ने, नक्कली कागजात तयार पार्ने र आफ्नो नक्कली कागजात तयारी पारी विदेश जान खोज्ने मानिसहरु समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको हो । 

मुद्दा दायर भएका अन्य व्यक्तिहरुमा नक्कली कागजात तयार पार्ने र अध्यागमनमा सेटिङ मिलाउने चितवन खैरहनीकी गिता शाह र काठमाडौँ तीनकुनेका अरुण दाहाल, अध्यागमनमा सेटिङ मिलाउनेहरु मिर्चौया सिरहाका सरोजकुमार यादव, दोरम्बा ७, रामेछापका पदम लामा, पाँचखाल ५, काभ्रेपलाञ्चोकका मनोज तामाङ, चापाकोट नगरपालिका १, स्याङ्जाका रामप्रसाद भण्डारी, सत्यवती ७, गुल्मीका दिनेश ज्ञवाली, वालिङ ५, स्याङ्जाका रविन अर्याल, पथरी शनिश्चरे ७, मोरङका विनोद कार्की, धर्मदेवी नगरपालिका, संखुवासभा स्थायी ठेगाना भई हाल कामनपा ९ सिनामंगलस्थित होटल बाल्टिक ईन होटलका सञ्चालक ४२ वर्षीय आशिष भन्ने केदारबहादुर खड्का, सिमरा १५ बाराका कौशिला मगर, माहात्या दुधकोशी ४, सोलुखुम्बुकी लक्ष्मी राई र कमलामाई ५, सिन्धुलीकी रिता दमाईविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।

प्रहरीको अनुसन्धानका क्रममा विभिन्न व्यक्तिहरुले संगठित समूह बनाई भिजिट भिसाका नाममा रकम लिएर मानव तस्करी गर्ने गरेको खुलेको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत नरवीर खड्काले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको भिडियो बयान तथा कागजमा आफूहरुले सामान्यत दैनिक २० जना र कहिलेकाहीँ १ सयदेखि १५० जनासम्मलाई सेटिङमा पठाउने गरेको बयान दिएका छन् । 

यसरी सेटिङमा पठाउँदा पुरुष भए प्रतिव्यक्ति १० देखि १५ हजार रुपैयाँ र महिला भए प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म कमिसन पाउने गरेको बयान दिएका छन् ।  भिजिट भिसामा सेटिङमार्फत् मान्छे पठाउनका लागि अध्यागमन कार्यालयमा अध्यागमन अधिकृतहरु रहेको सहजीकरण समिति रहेको र त्यही समितिले नै सेटिङमा पठाउने गरेको तथा समितिमा अध्यामन अधिकृतहरु कुशल बराल, शैलेन्द्र ढकाल, बिमल पौडेल, बिष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो लिम्बुसमेत रहने गरेको बयान दिएका थिए । 

प्रतिदिन औसत ४५ हजार कमाउथे अध्यागमन अधिकृतले
पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काले मौकामा बयान गर्दा आफूहरुले सरोज कुमार यादव, मनोज लामा, पदम लिम्बु लगायतका मानिसहरुसँग सेटिङ गरी भिजिट भिसामा पठाउन सहजीकरण गर्ने गरेको र त्यसो गर्दा आफूहरुले पाउने रकम अध्यागमन अधिकृतहरुलाई भाग लगाउने गरेको बयान दिएका छन् ।

त्यसरी भाग लगाउँदा प्रतिदिन एक अध्यागमन अधिकृतको भागमा ४० देखि ५० हजार पाउने गरेको समेत नरवीर खड्काको बयानमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप