शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मानव अधिकार आयोगलाई प्रभु साहको चुनौती : कानुनी लडाइँ लड्न बाध्य हुने चेतावनी

शनिबार, २० माघ २०८०, ०६ : ००
शनिबार, २० माघ २०८०

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले राष्ट्रिय मानवअधिकार आयोगलाई चुनौती दिएका छन् । आयोगले साहको नाम समेत मानव अधिकार उल्लङ्घनकर्ताको रूपमा समेटेपछि त्यसप्रति आपत्ति जनाउँदै घटनाको सत्य तथ्य सार्वजनिक गर्न माग गरेका हुन् । 
 आयोगका पदाधिकारीहरूले आफ्नो कमजोरी तत्काल नसच्याए  कानुनी लडाइँ लड्न बाध्य हुने चेतावनी पनि साहले दिएका छन् । 

'मैले कुन घटनामा कहिले र कसको मानवअधिकार उल्लङ्घन गरेको छु ? घटनाको सत्य,तथ्य सार्वजनिक होस् । बिनाआधार कसैको चरित्र हत्या गर्नु आफैमा मानवअधिकारको उल्लङ्घन हो । मानव अधिकारजस्तो सम्मानित संस्थाको पदमा बसेर पूर्वाग्रह साँध्ने, कुण्ठा पोख्ने र जनतालाई भ्रमित पार्ने कार्य आँफैंमा आपराधिक कार्य हो । यस कार्यमा संलग्न आयोगका पदाधिकारीहरूले आफ्नो कमजोरी तत्काल नसच्याए आयोगउपर कानुनी लडाइँ लड्न बाध्य हुने चेतावनी दिन चाहन्छु', उनको भनाइ छ । 
यस्तै सो पार्टीका प्रवक्ता चन्द्रभुषण साहले पनि एक विज्ञप्ति जारी गर्दै साहको  नाम  उल्लेख भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले यसबारे स्वयं पार्टी अध्यक्षले असन्तुष्टि एवं आक्रोशका साथ कुन घटनामा कहिले र कसको मानव अधिकार हनन भएको हो ? भनि सत्य, तथ्य सार्वजनिक गरी अपराध प्रमाणित गर्न आयोगका पदाधिकारीहरूलाई खुला चुनौती समेत दिइसकेको सन्दर्भमा आयोग अव मौन बस्न नमिल्ने बताएका छन् । 

'अध्यादेशको चोर बाटो र भागबन्डाको राजनीतिमा केवल निगाह र कृपादृष्टिको भरमा महत्त्वपूर्ण एवं संवेदनशील संवैधानिक आयोगमा नियुक्ति लिने र कुनै अमुक व्यक्ति वा पार्टीको लंगोट बनि सम्मानित संस्थाको समेत मानमर्दन हुनेगरी हुर्मत लिने तथा समाजको एउटा प्रतिष्ठित व्यक्ति एवं पटक पटक जन अनुमोदित प्रतिनिधिको चरित्र हत्याको दुष्प्रयास गर्ने छुट आजको २१औं शताब्दीमा कसैलाई पनि छैन । यस किसिमको  हर्कत गर्नु आफैंमा दुखद, निन्दनीय कार्य समेत हुने भएकोले यसप्रति सम्बन्धित पक्ष समयमै गम्भीर जिम्मेवार एवं जवाबदेही बन्न जरुरी छ', विज्ञप्तिमा भनिएको छ । 

पार्टी अध्यक्षको चरित्र हत्या एवं मानमर्दन हुने किसिमले  निराधार सम्प्रेषण गरिएको दाबी गर्दै उनले आयोग वा यसमा संलग्न पदाधिकारीले यथाशीघ्र सच्चाई सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । अन्यथा पार्टी कानुनी उपचार सहित चरणबद्ध सङ्घर्ष गर्न बाध्य हुने विज्ञप्तिमा स्पष्ट गरिएको छ । आयोगले हालै एक विज्ञप्तिमार्फत कारबाहीका लागि सिफारिस भएका मानवअधिकार उलङ्घनका दोषीका रूपमा साहको पनि नाम समेटेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप