शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
मानवअधिकार आयोगको विज्ञप्ति प्रकरण

आयोगको विज्ञप्तिले उपेन्द्र यादव दङ्ग, प्रभु साह दुःखी

शनिबार, २० माघ २०८०, १६ : ५६
शनिबार, २० माघ २०८०

काठमाडौँ । यतिखेर सामाजिक सञ्जालमा राष्ट्रिय मानवअधिकार आयोगको एउटा विज्ञप्ति भाइरल भइरहेको छ ।  सो विज्ञप्तिका कारण उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका नेताहरू खुसीयाली मनाइरहेका छन् भने प्रभु साह नेतृत्वको आम जनता पार्टीका नेताहरू दुःख व्यक्त गरिरहेका छन् । 

आयोगले मानवअधिकार उल्लङ्घनका दोषीहरूलाई कारबाहीका लागि सिफारिस गरेको छ । आयोगले ३२ जना नेपाल प्रहरीलाई कारबाहीका लागि सिफारिस गरेको छ भने राष्ट्रिय अनुसन्धान, नेपाली सेना र सशस्त्र प्रहरीका एक–एक जना, निजामती कर्मचारीका १२ जना, तत्कालीन नेकपा माओवादीका १० जनालाई कारबाहीका लागि सिफारिस गरेको छ । 

Aayog

कारबाहीका लागि सिफारिस भएका तत्कालीन माओवादी नेताको नामावलीमा प्रभु साहको नाम पनि रहेको छ । उनले अहिले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन् ।  गौर घटनाका मुख्य दोषीको रूपमा आयोगले कारबाहीका लागि प्रभु साहको नाम सिफारिस गरेको हो भन्ने बुझाई जसपा नेपालको रहेको छ । उक्त पार्टीका नेताहरूले सो विज्ञप्तिलाई सामाजिक सञ्जालमा सेयर गर्दै प्रभु साहलाई कारबाहीको माग समेत गरिरहेका छन् । 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले प्रभु साहलाई अविलम्ब पक्राउ गरी जेल हाल्न आग्रह गरेको छ । अध्यक्ष यादवको सचिवालयले शुक्रवार एक प्रेस नोट सार्वजनिक गर्दै सो आग्रह गरेको हो  ।  गौर घटनाका मुख्य दोषी उपेन्द्र यादव भएको र उनलाई कारबाही हुनुपर्छ भन्दै गरिएको आन्दोलनमा साहले सहयोग गरेका थिए । त्यसलगत्तै आन्दोलनकारी र सरकारबिच भएको सम्झौतामा गौर घटनाको फाइलमाथि छानबिन गर्ने सहमति भएको थियो । 

सो घटनामा यादव दोषी भएको र कारबाही हुनुपर्ने माग गर्दै आएका प्रभु साहलाई मानवअधिकार आयोगले कारबाहीका लागि सिफारिस गरेपछि जसपाका नेताहरू खुसी देखिन्छन् । 

यादवको सचिवालयले भनेको छ, ‘राष्ट्रिय मानव अधिकार आयोगको विज्ञप्तिले प्रस्ट भइसक्यो, गौर घटनाको मुख्य अभियुक्त को हो । प्रभु साह अपराधी हुन् । आयोगले नामै तोकेर गौर घटनाको मुख्य अपराधी किटान गरिसकेका साहलाई सरकारले तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन ढिलाइ गर्न हुन्न ।’

सचिवालयको विज्ञप्तमा भनिएको छ :  ‘गौर हत्याकाण्ड मच्चाएका यी तिनै साह हुन्, जसले आफ्नो अपराध कर्म ढाकछोप गर्न जसपाका निर्दोष नेता कार्यकर्तालाई फसाउन कुनै हत्कन्डा बाँकी राखेनन् । सूर्यलाई हल्केलाले छेक्न असम्भव भए जस्तै समय लाग्न सक्छ तर भ्रम छर्दैमा यथार्थ एक दिन बाहिर आउँछ नै ।’

upendra Aayog

आयोगले विज्ञप्ति मार्फत नै गौर घटनाको सत्यता र अभियुक्तहरू प्रस्ट पारिसकेकोले साहले कुनै पनि हालतमा उन्मुक्ति पाउने नहुने सचिवालयको विज्ञप्तिमा उल्लेख छ । साहलाई अविलम्ब पक्राउ गरी जेल हाल्न समेत सचिवालयले आग्रह गरेको छ । 

यता, आजपाका अध्यक्ष प्रभु साहले दोषी पुष्टि गर्न मानवअधिकार आयोगलाई चुनौती दिएका छन् । उनले भनेका छन्, ‘मैले कुन घट्नामा कहिले र कसको मानवअधिकार उल्लङ्घन गरेको छु ? घट्नाको सत्य, तथ्य सार्वजनिक गर ।’

बिना आधार कसैको चरित्र हत्या गर्नु आफैँमा मानवअधिकारको उल्लङ्घन रहेको भन्दै उनले मानव अधिकारजस्तो सम्मानित संस्थाको पदमा बसेर पूर्वाग्रह साध्ने, कुण्ठा पोख्ने र जनतालाई भ्रमित पार्ने कार्य आफैँमा आपराधिक कार्य रहेको उल्लेख गरेका छन् ।  यस कार्यमा संलग्न आयोगका पदाधिकारीहरूले आफ्नो कमजोरी तत्काल नसच्याए आयोगउपर कानुनी लडाइँ लड्न बाध्य हुने चेतावनी समेत साहले दिएका छन् । 

sah

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप