शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

त्रिभुवन विश्वविद्यालयमा सीएसआईटीबारे किन बढ्यो विवाद ?

विद्यार्थी तथा प्राध्यापक आन्दोलनमा
बुधबार, २४ माघ २०८०, १८ : ५१
बुधबार, २४ माघ २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका बीएससी सीएसआईटी र एमएससी सीएसआईटीका विद्यार्थी तथा प्राध्यापकहरू आन्दोलनमा छन् । उक्त शैक्षिक कार्यक्रमलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले आन्तरिक स्रोतबाट सञ्चालन गर्नुपर्ने विशेष शैक्षिक कार्यक्रममा राखेको भन्दै विद्यार्थी तथा प्राध्यापक आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले उक्त शैक्षिक कार्यक्रमलाई यसअघिकै जसरी नियमित कार्यक्रममा यथावत् राखिनुपर्ने माग गर्दै आएका छन् ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को गत मंसिर १६ मा बसेको बैठकले उक्त शैक्षिक कार्यक्रमलाई आन्तरिक स्रोतबाट सञ्चालन गर्नुपर्ने विशेष शैक्षिक कार्यक्रम (सेल्फ सस्टेण्ड) भनी निर्णय गरेको थियो । त्यसको विरोधमा विद्यार्थी तथा शिक्षकहरूले आन्दोलन गर्दै आएका हुन् ।  

केन्द्रीय विभाग नै खडा गरेर १० जना प्राध्यापक, ३ जना सहप्राध्यापकले यो विषय अध्यापन गराउँदै आएका छन् । त्रिभुवन विश्वविद्यालय सेवा आयोगबाट स्थायी दरबन्दीका शिक्षकहरू छन् । देशभरका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा यो विषय पठनपाठन हुँदै आएको छ ।

बीएससी सीएसआईटी विगत १४ वर्षदेखि र एमससी सीएसआईटी विगत २२ वर्षदेखि विभिन्न आंगिक तथा केन्द्रीय विभागमार्फत पठनपाठन भइरहेको छ । सीएसआईटी कार्यक्रममा देशभर करिब १८ हजार विद्यार्थी अध्ययनरत छन् । उक्त कार्यक्रमहरुमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगमार्फत छनोट भई विभिन्न आंगिक क्याम्पसहरुमा स्थायी सह–प्राध्यापक र उप–प्राध्यापकहरु त्रिभुवन विश्वविद्यालयबाटै आर्थिक व्ययभार हुने गरी काम गर्दै आएका छन् ।

यसरी विभाग नै खडा गरेर सञ्चालन भइरहेको, स्थायी दरबन्दीका शिक्षकहरूले पठनपाठन गराउँदै आएको कार्यक्रमलाई परिषद्ले विशेष शैक्षिक कार्यक्रममा राखेको हो ।

त्रिभुवन विश्वविद्यालयले शुल्क बढी लिने गरेको भन्दै विशेष शैक्षिक कार्यक्रमको सूचीमा राखेको तर्क गरेको छ । विद्यार्थीहरूको आकर्षण बढ्दै गएको तथा नियमित विद्यार्थीहरू पठनपाठन गर्दै आएको उक्त कार्यक्रमलाई आन्तरिक स्रोतबाट सञ्चालन गर्नुपर्ने भन्दै त्रिभुवन विश्वविद्यालयले गरेको निर्णय गलत भएको आन्दोलनरत कम्प्युटर साइन्स अल्मुनाईका अध्यक्ष रमेश सिंह साउदले रातोपाटीलाई बताए ।

विद्यार्थी र प्राध्यापनरत शिक्षकहरूले विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयमा तालाबन्दी समेत गरेका थिए । पछि डीनको कार्यालयले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्लाई कार्यविधि संशोधन गरिदिन अनुरोध गर्दै पत्र पठाएपछि विद्यार्थीहरूले तालाबन्दी खोलेका थिए । विद्यार्थीहरूको आन्दोलन त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद् केन्द्रित भएको अध्यक्ष साउदले बताए ।

निर्णय सच्याउन भन्दै विभागकै पत्र

CSIT notice

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को उक्त निर्णयका विरुद्धमा विद्यार्थी र अध्यापनरत प्राध्यापकहरू छन् भने कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागले समेत उक्त निर्णय सच्याउन माग गर्दै परिषद्लाई पत्र लेखेको छ । विभागीय प्रमुख उपप्राध्यापक सर्बिन सायमीले डीन कार्यालय मार्फत परिषद्लाई पत्र पठाउँदै निर्णय सच्याउन भनेका हुन् ।

उक्त कार्यक्रमलाई विशेष शैक्षिक कार्यक्रम भनी गरिएको उक्त निर्णय कार्यक्रमहरुको मर्म बमोजिम नभएको हुँदा उक्त कार्यक्रमहरुलाई नियमित  कार्यक्रम भनी निर्णय गराउनका लागि आवश्यक पहल गरिदिन भन्दै उनले पत्र पठाएका थिए ।

‘सेल्फ सस्टेण्ड’ भनेपछि त्रिभुवन विश्वविद्यालयबाट दरबन्दी नहुने, रिसर्चका कार्यका लागि आवश्यक बजेट नपाउने जस्ता समस्या हुन्छन् । त्यसका लागि कलेजहरूले विद्यार्थीबाटै शुल्क उठाउनुपर्ने हुन्छ ।

आन्तरिक स्रोतबाट सञ्चालन गर्नुपर्ने कार्यक्रममा राज्य र विश्वविद्यालयबाट सेवा सुविधा नपाउने र विद्यार्थीहरूबाटै आर्थिक भार बेहोर्ने खालका हुने अध्यक्ष विष्टको भनाइ छ । जसले गर्दा गरिबका छोराछोरी प्रविधिमैत्री शिक्षाको पहुँचबाट टाढा हुने उनले बताए ।

‘अहिले सीएसआईटी सरकारीमा २ देखि ३ लाखको हाराहारीमा पढ्न पाइरहेका छन् । निजीमा भने १० देखि १८ लाख रूपैयाँसम्म तिरिरहेका छन्,’ अध्यक्ष विष्टले भने, ‘आंगिक क्याम्पसहरूमा चलिरहेका कार्यक्रमलाई सेल्फ सस्टेण्ड भनेपछि यो शुल्क बढेर ८/१० लाख पुग्छ । यसको मारमा विद्यार्थी पर्छन् । त्यसैले यसलाई सेल्फ सस्टेण्डबाट हटाएर नियमितमा राख्नुपर्छ ।’

त्रिभुवन विश्वविद्यालयले नियमित कार्यक्रमको शुल्क कम हुन्छ भन्ने तर्क गर्दै आएको छ । तर, त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ, मेडिकल लगायतका विषयमा निकै महँगो शुल्क लिँदा पनि नियमित नै भइरहेको भन्दै अध्यक्ष विष्टले प्रश्न गरे ।

‘पुल्चोकमा इन्जिनियरिङको पढाइ शुल्क हाम्रोभन्दा बढी छ । तर, त्यो कार्यक्रम नियमित नै छ । त्यस्तै मेडिकल शिक्षाको ४० लाखभन्दा बढी तिर्नुपर्छ,’ अध्यक्ष विष्टले भने, ‘त्यो पनि नियमित नै राखिएको छ । शुल्कको आधारमा नियमित र आन्तरिक स्रोतबाट सञ्चालन गर्नुपर्ने विशेष शैक्षिक कार्यक्रम भनिराख्नु हुँदैन ।’

अहिलेको त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरूको आकर्षण यही विषय रहेको भन्दै यसलाई नियमित कार्यक्रममा राख्नुपर्ने उनको भनाइ छ । 

425671388_726681149553025_7034584759990337402_n

मिस्टेकले परेको हो, सच्याउँछौँ : उपकुलपति

त्रिभुवन विश्वविद्यालयले भने उक्त निर्णयबारे बुझाइ गलत भएको जनाएको छ । उपकुलपति प्राडा शिवलाल भुसालले उक्त शैक्षिक कार्यक्रमलाई आन्तरिक स्रोतबाट सञ्चालन गर्नुपर्ने भनी नराखिएको बताए । निर्णय अर्कै भए पनि उक्त विषय मिस्टेकले परेको भन्दै त्यसलाई सच्याउन लागिएको उनको भनाइ छ ।

‘नियमित कार्यक्रमलाई आन्तरिक स्रोतबाट चनाउने भनेर निर्णय भएको होइन । कोअर्डिनेटर राख्ने विषयमा निर्णय भएको हो । एमएससी सीएसआईटीको हकमा मिस्टेकले सेल्फ सस्टेण्ड कार्यक्रममा परेको रहेछ । त्यसलाई हामी सच्याउँदैछौँ,’ उपकुलपति भुसालले भने । 

त्रिभुवन विश्वविद्यालयका दुई थरीका कार्यक्रम छन् । एकथरी नियमित कार्यक्रम (रेगुलर प्रोग्राम) । तिनीहरू विश्वविद्यालयको सहयोगमा न्यूनतम शुल्कमा चलिरहेका छन् । तर, त्रिभुवन विश्वविद्यालयले धान्न नसकिने खालका केही कार्यक्रम विद्यार्थीको शुल्कबाटै चल्दै आएको उनले बताए ।

‘त्यसमा सीएसआईटी पनि पर्छ । ती कार्यक्रमहरू क्याम्पस÷विद्यार्थीले सम्झौता गरेर हामी यति शुल्कमा पढ्न पढाउन तयार छौँ भनेर चलिरहेका हुन्,’ उपकुलपति भुसालले भने, ‘ती कार्यक्रमहरू बाहिर प्राइभेटभन्दा सस्ता । रेगुलर भन्दा महँगा छन् ।’

यस्ता खालका कार्यक्रमको कार्यक्रम संयोजक (प्रोग्राम कोर्डिनेटर) धेरै नराखौँ, खर्चिलो बढी भयो भनेर विश्वविद्यालयले निर्णय गरेको उनको भनाइ छ ।

‘विश्वविद्यालयलाई किफायती बनाऔँ । एउटा लेबलको फेकल्टीको एउटा कोर्डिनेटर बनाऔँ । २/३ वटा कार्यक्रम छन् भने छुट्टाछुट्टै डेब्युटी राखौँ भनेर निर्णय गरेको हो,’ उपकुलपति भुसालले भने, ‘त्यसमा कहीँ आन्तरिक स्रोतबाट सञ्चालित भन्ने शब्द परेको छ । त्यसले कसैलाई केही समस्या गर्दैन । जे छ, त्यसमै अन्यथा निर्णय भएको होइन, कोअर्डिनेटर बनाउने विषयमा मात्रै निर्णय भएको हो ।’

आन्तरिक स्रोत भनेपछि त्रिभुवन विश्वविद्यालयले विज्ञापन नै नमाग्ने हो कि भन्ने खालको भ्रम परेको भन्दै उनले क्याम्पसलाई व्यवस्थित गर्ने क्रममा मिलाएर जानुपर्छ भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप