सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

जितबाट उत्साही नेपाल र बदला लिने धुनमा रहेको क्यानडाबिच दोस्रो खेल आज

शनिबार, २७ माघ २०८०, ०८ : ०६
शनिबार, २७ माघ २०८०

काठमाडौँ । नेपालले शुक्रबार घरेलु मैदानमा क्यानडासँग दोस्रो प्रतियोगिता खेल्दै छ । नेपाल र क्यानडाबिच तीनवटा एकदिवसीय खेलको शृङ्खला आयोजना हुन लागेको हो । 

खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः१५ बजे सुरु हुनेछ । बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो । 

उक्त खेलमा पराजयको निकट पुगिसकेको नेपाली टोलीले उत्कृष्ट पुनरागमन गरेको थियो । टस जिती पहिले ब्याटिङको गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो । 

मध्यम विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली क्यानडाले भने ४७.५ ओभरमा अलआउट हुनुअघि दुई सय १७ रनमात्र बनाउन सकेको थियो । नेपालको जितमा कप्तान रोहित पौडेल नायक बनेका थिए । उनी एक्लैले चार विकेट लिए । जितको अत्यन्तै नजिक पुगिसकेको क्यानडाको अन्तिम विकेट पनि उनले नै लिएका थिए । 

रोहितले ८.५ ओभरमा दुई मेडन राख्दै केवल २२ रन खर्चिए । ललित राजवंशीले पनि दुई विकेट हात पारे । सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले पनि एक–एक विकेट लिएका थिए ।

ब्याटिङतर्फ नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रनको योगदान गरेका थिए । आरिफ शेखले पनि टोलीको खातामा ३८ रन थपे । कुशल मल्ल २० रन बनाउँदै पेभेलियन फर्किएका थिए । 

भीम सार्कीले १७ र पवन सर्राफले १५ रन बनाएका थिए । तल्लो क्रमका ब्याट्सम्यान सोमपाल कामीले पनि २७ रनको योगदान गरेका थिए । सूर्य तामाङ १० रन बनाउँदै अविजित रहेका थिए ।  

क्यानडाविरुद्धको पहिलो खेलमा नेपाली टोलीबाट दुई युवा ब्याट्सम्यान रिजन ढकाल र सूर्य तामाङले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । 

नेपालले सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि क्यानडासँग पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्न लागेको हो ।

क्याडनाविरुद्ध शुक्रबार खेलिने खेल नेपालका लागि ६१औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । सन् २०१८ यता नेपालले ६० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ । 

नेपालले आफूले खेलेका ६१ मध्ये ३१ खेलमा जित हात पारेको छ । २७ खेलमा भने नेपाली टोली पराजित भएको छ । एक खेल बराबरीमा सकिएको छ भने एक खेल रद्द भएको छ । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडा गतिलो इतिहास बोकेको टोली हो । क्यानडाले हालसम्म चारपटक आईसीसी एकदिवसीय विश्वकप पनि खेलिसकेको छ । 

क्यानडाले सन् १९७९ मा सम्पन्न विश्वकपको दोस्रो संस्करणमै सहभागिता जनाएको थियो । क्यानडाले त्यसपछि सन् २००३, सन् २००७ र सन् २०११ को एकदिवसीय विश्वकप पनि खेलेको थियो ।

यद्दपि, तीनैपटक क्यानडा आईसीसी एकदिवसीय विश्वकपको समूहगत चरणबाटै बाहिरिएको थियो । नेपालले भने हालसम्म एकपटक पनि आईसीसी एकदिवसीय विश्वकप खेल्ने अवसर पाएको छैन । 

क्यानडाले आईसीसीबाट एकदिवसीय मान्यता गुमाउने र पुनः प्राप्त गर्नेक्रम लामो समयदेखि चल्दै आएको देखिन्छ । बिहीबार खेलिएको पहिलो खेलमा पनि क्यानडाले राम्रो प्रदर्शन गरेको थियो ।

पुबुदु दासानायकेको प्रमुख प्रशिक्षकत्वमा रहेको क्यानडाको वर्तमान टोली पनि निकै सन्तुलित देखिन्छ । पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्वप्रशिक्षक पनि हुन् । 

नेपालविरुद्धको पहिलो खेलमा पनि क्यानडाका दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । क्यानडाका परगत सिंह ५० र निकोलस किर्तनले ६८ रन बनाएका थिए । हर्ष ठाकेरले ३२ रन बटुलेका थिए । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडा नेपालका लागि १३औँ प्रतिद्वन्द्वी हो । नेपालले यसअघि विभिन्न १२ वटा राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप