बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
स्थानीय तह

कृषि उद्यमशीलता विकासमा बकैया गाउँपालिकाको जोड, प्रदर्शनी केन्द्र र आधुनिक गाई फर्म सञ्चालन

पशुपालन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य
आइतबार, २८ माघ २०८०, ०६ : २१
आइतबार, २८ माघ २०८०

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले कृषि क्षेत्रमा उद्यमशीलताको विकास जाड दिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको विकास र कृषकहरूको जीविकोपार्जनमा सघाउने लक्ष्य अनुसार कृषि उद्यमशीलताका लागि विभिन्न कार्यक्रमहरू कार्यान्वयन गर्दै अघि बढेको हो ।

४६० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सो गाउँपालिका अन्तर्गत १२ वटा वडाहरू रहेका छन् । साबिकका धियाल, छतिवन, शिखरपुर, मन्धली र ठिंगन गरी ५ वटा गाविस मिलेर बनेको सो गाउँपालिकामा ८ हजार ९१३ परिवारका कुल जनसङ्ख्या ४० हजार ९०७ रहेको छ ।

पूर्वमा मकवानपुरको बागमती गाउँपालिका, पश्चिम–हेटौडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिका, उत्तरमा मकवानपुरको भिमफेदी गाउँपालिका र ललितपुर बागमती गाउँपालिका, दक्षिणमा रौतहट र बारा जिल्लासँग सिमाना जोडिएको छ । पछिल्लो समय बकैयाले पूर्वाधार विकाससँगै शिक्षा स्वास्थ्य र कृषि क्षेत्रलाई महत्वका साथ बजेट तथा कार्यक्रममा समावेश गरेको छ ।

गाउँपालिकालाई पशुपालन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य अनुसार व्यवसायीक खेतीका लागि प्रोत्साहन गर्ने कार्यक्रम कार्यान्वयन गरेको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए । उनका अनुसार पालिकाका नागरिकलाई कृषि उद्यमशीलतामा आबद्ध गराएर जनजीविका सहज बनाउने योजना बनाएको छ । नागरिकहरूको जीविकोपार्जन सँगै आर्थिक समृद्धिका लागि गाउँपालिकाले स्थानीय स्तरमा नै कृषि उत्पादन गर्ने, प्रशोधन तथा बजारीकरणका काम गर्ने गरी अघि बढेको उनले बताए ।

नागरिकहरूलाई आर्थिक सहायता प्रदान गरी उत्पादन  र उत्पादकत्व बढाउने तथा उत्पादित पशुजन्य पदार्थ तथा दूधबाट विभिन्न परिकार बनाउन उद्योग स्थापना गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने योजना रहेको उनको भनाई छ । कृषकहरूको सहायताका लागि घर गोठ तथा खेतबारीमा नै प्राविधिकहरूको सेवा पु¥याउने गरी काम अघि बढाएको उनले बताए ।

लागुपदार्थ मुक्त गाउँपालिका घोषणा गरी निरोधात्मक तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिरहेको बकैयाले जनशक्तिको अभाव, बजेटमा कमजोर आन्तरिक स्रोतको हिस्सा, भौगोलिक विकटता, छरिएको बस्तीका चुनौतीका बिच काम गरिरहेको उनले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठका अनुसार कृषि क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा विभिन्न कार्यक्रम अन्तर्गत ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने सङ्घीय र प्रदेश सरकारबाट समपूरक र विशेष अनुदान मार्फत करिब २ करोड रुपैयाँको थप बजेट कार्यान्वयनको चरणमा रहेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा नदी उकास जमिनलाई संरक्षण गरी औद्योगिक ग्राम निर्माणको चरणमा अघि बढेको छ । श्रेष्ठका अनुसार गाउँपालिकाले ७ नम्बर वडा स्थिति हात्तिखोलाको नदी उकास क्षेत्रको जमिनलाई संरक्षण गरी कृषि औद्योगिक ग्रामको रूपमा विकास गरिरहेको छ । कृषिकहरुलाई सहुलियतमा साइलेज र दाना वितरण गर्ने र पशुपालनमा प्रोत्साहन गर्ने गरी सो क्षेत्रमा साइलेज र दाना उद्योगका लागि भौतिक संरचना निर्माण गरिएको उनले बताए ।

20240208_105338

७ विगाह क्षेत्रफलको उक्त जमिनमा २०७६ मा नै पालिकाबाट निर्णय गरेको भएपनि काम अघि बढ्न सकेको थिएन । गत २०७९ को निर्वाचन पछि वर्तमान नेतृत्वले उक्त कार्यलाई अघि बढाएको थियो । वर्तमान नेतृत्वले गत आर्थिक वर्ष २०७९÷०८० मा से क्षेत्रमा भौतिक संरचना निर्माणका लागि ठेक्का लगाएको थियो । औद्योगिक ग्रामको घेराबारसहित २ वटा उद्योगको भौतिक संरचना निर्माणका लागि हालसम्म ५ करोड रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।

गत आर्थिक वर्षमा २ वटा उद्योगको भौतिक संरचना निर्माणका लागि ३ करोड रुपैयाँको ठेक्का आह्वान गरी काम गरिएको थियो । हाल सो क्षेत्रमा साइलेज र दाना उद्योग गरी २ वटा उद्योगका लागि भौतिक संरचना सहित प्रशासनिक भना खडा गरिएको छ । चालु आर्थिक वर्षमा भने सो उद्योगका लागि आवश्यक मेसिनरी औजारहरु खरिदका लागि ३ करोड रुपैयाँ विनियोजन गरेकोमा १ करोड ५० लाख रुपैयाँको ठेक्का सम्झौताको अन्तिम चरणमा रहेको उनले बताए । पालिकाले निकट भविष्यमा सो औद्योगिक ग्राममा कृषि औजार सामग्री उद्योग, प्राङ्गारिक मल उत्पादन उद्योग र नर्सरी स्थापना गर्ने रणनीति रहेको उनको भनाई छ ।

कृषि प्रदर्शनी केन्द्र र आधुनिक गाई फर्म सञ्चालन

बकैया गाउँपालिका भवन नजिक बकैया कृषि प्रदर्शनी केन्द्रको स्थापना गरी सञ्चालन गरिएको छ । १ विगाह क्षेत्रफलको जग्गा भाडामा लिएर गाउँपालिकाले नमुनाको रूपमा कृषि प्रदर्शनी केन्द्र सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । प्रति कट्ठा ४ हजार रुपैयाँमा भाडा तिर्ने गरी वार्षिक १ लाख रुपैयाँ खर्च गरेर कृषि प्रदर्शनी केन्द्र सञ्चालन गरिएको उनले बताए ।

कृषकहरूलाई उन्नत जातको बिरुवा उत्पादन गरी वितरण गर्ने, प्रयोगात्मक सिप सिकाउने, नयाँ प्रविधि देखाउने उद्देश्य अनुसार पालिकाले १५ लाख रुपैयाँ खर्च गरेर कृषि प्रदर्शनी केन्द्र सञ्चालनमा ल्याएको उनले बताए । ३ वटा टनेलमा विभिन्न प्रकारका कृषि उपजहरू उत्पादन गरिने उनले बताए ।

20240208_102445

गाउँपालिकाले लागत साझेदारीमा आधुनिक गाई फर्म सञ्चालनका लागि २ वटा वडामा नयाँ प्रविधिका गाई फर्म सञ्चालनमा रहेको छ । बकैया–७ र ११ मा ५०÷५० प्रतिशत लागत साझेदारीमा गाई फर्म सञ्चालन भइरहेको उनले बताए ।

गाउँपालिकाको आर्थिक सहायतामा वडा नम्बर–११ मा नयाँ संरचना र प्रविधिसहितको २५ वटा गाई पाल्ने गरी फर्म सञ्चालन गरिएको उनको भनाई छ । पालिकाबाट उक्त फर्मका लागि संरचना निर्माण अन्तर्गत ५ लाख रुपैयाँ र गाई खरिदका लागि १५ लाख रुपैयाँ अनुदानको रूपमा उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।

उनका अनुसार वडा नम्बर–७ मा विदेशबाट फर्किएको व्यक्तिहरूलाई लक्षित गरी २४ लाख रुपैयाँ लागत साझेदारीमा उपलब्ध गराइएको छ । १२ जना विदेशबाट फर्किएका युवाहरू निर्माण गरेको कम्पनीसँग ३० वटा गाई खरिद गर्ने गरी काम भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप