आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पिपल्स च्वाइस अवार्ड सिक्का सुवाल श्रेष्ठलाई

आइतबार, २८ माघ २०८०, १८ : ३४
आइतबार, २८ माघ २०८०

काठमाडौँ । यस वर्षको पिपल्स च्वाइस अवार्ड टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले पाएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणमा उनले पिपल्स च्वाइस अवार्ड जितेकी हुन् । उनले अनन्त तामाङ (फुटबल), विप्लवलाल श्रेष्ठ (कराँते), निरुता ठगुन्ना (भलिबल) र  रजनी श्रेष्ठ (शारीरिक सुगठन) लाई पछि पार्दै उपाधि हात पारेकी हुन् । विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिने छ । 

टेबलटेनिसकी सिक्का सुवालडबल्स स्पर्धाको राष्ट्रिय च्याम्पियन खेलाडी हुन् । उनी राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला एकल स्पर्धामा तेस्रो भएकी थिइन् । उनले राष्ट्रिय खेलकुद प्रतियोगिताको टिम स्पर्धामा रजत पदक जितेकी थिइन् । 

यसैगरी सिक्का विश्व महिला टेबलटेनिस वरीयताको ५१० स्थानमा सम्म पुग्न सफल खेलाडी हुन् । उनी स्ट्याग ग्लोबल च्याम्पियन्स लिग–२०८० विजेता खेलाडी पनि हुन् । उनले चीनमा आयोजित १९औँ एसियाली खेलकुदमा पनि सहभागिता जनाएकी थिइन् । उनी दक्षिण कोरियामा सम्पन्न एसियन च्याम्पियन्सिपमा पनि सहभागी भएकी थिइन् ।

यस्तै फुटबलका अनन्त तामाङले आफ्नो ‘डेब्यू’ सिजनमै चर्च ब्वाइज युनाइटेड क्लबलाई सहिद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनाएका थिए ।उनी सहिद स्मारक ‘ए’ डिभिजन लिगको ‘मोस्ट भ्यालुएबल प्लेअर’ पनि घोषित भएका थिए ।

ललितपुर सिटी एफसी नेपाल सुपर लिग फुटबल–२०२३ को च्याम्पियन बन्दा उनी टोलीका कप्तान थिए । उनी नेपाल सुपर लिग–२०२३ मा पनि ‘मोस्ट भ्यालुएबल प्लेअर’ घोषित भएका थिए । उनी प्राइम मिनिस्टर कप थ्री नेसन्स फुटबल प्रतियोगिताको उपाधि विजेता टोलीका सदस्य पनि हुन् । 

यसैगरी प्राइम मिनिस्टर कप थ्री नेसन्स फुटबलबमा पनि उनले एक गोलका थिए । लाओसविरुद्धको खेलमा पनि उनले देशका लागि एक गोल गरेका थिए । उक्त खेलमा नेपाल २–० गोलले विजयी भएको थियो । इन्डियन सुपर लिग–२०२२खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन् । उनी भारतमा सम्पन्न साफ च्याम्पियनसिप–२०२३ खेल्ने टोलीका सदस्य पनि हुन् । 

यस्तै कराँतेका विप्लवलाल श्रेष्ठले इन्डोनेसियाको जाकर्तामा भएको विश्व सितोरियो कराँते च्याम्पियनसिपमा रजत पदक जितेका थिए । उनले त्यसलगत्तै चीनमा भएको १९ औँ एसियाली खेलकुद प्रतियोगितामा दुई वाउट जित्न सफल भएका थिए ।

यसैगरी गत वर्ष गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले कुमितेको खुला तौलतर्फ स्वर्ण पदक जितेका थिए । उनी पहिलो एनआरएनए राष्ट्रिय कराँते च्याम्पियनसिप र दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते च्याम्पियनसिपका स्वर्ण पदक विजेता पनि हुन् ।

यस्तै भलिबलकी निरुता ठगुन्ना नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने टोलीकी प्रभावशाली सदस्य हुन् । उनीकेएनपी नेरोल्याक छैटौँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उत्कृष्ट स्पाइकर घोषित भएकी थिइन् ।

उनले चीनमा आयोजना भएको १९औँ एसियाली खेलकुदमा सहभागिता जनाएकी थिइन् भने काभा महिला भलिबल च्यालेन्ज कपमा आफ्नो टोलीलाई कांस्य पदक जिताएकी थिइन् । उनी सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट खेल्छिन् । उनले टोलीलाई केशवलाल स्मृति महिला भलिबल प्रतियोगिताको  उपाधि पनि दिलाएकी थिइन् । उनी केशललाल स्मृति महिला भलिबलमा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।

यस्तै रजनी श्रेष्ठ शारीरिक सुगठन खेल पुरुष खेलाडीका लागि मात्र होइन भन्ने मान्यतालाई चिर्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल खेलाडी हुन् । उनले सन् २०२३ मा इन्डोनेसियामा सम्पन्न एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । 

उनले सन् २०२३ मा नेपालमा सम्पन्न भएको ५३औँ एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा पनि रजत र कांस्य पदक जितेकी थिइन् । उनले एसियन बडी बिल्डिङ–२०२३ मा ५५ केजीभन्दामाथिको तौल समूहमा स्वर्ण पदक चुमेकी थिइन् । उनी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कांस्य पदक जित्ने खेलाडी पनि हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप