बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
विधान अधिवेशन

पदाधिकारीसहितको प्रत्यक्ष निर्वाचन प्रणाली माओवादीको विधान अधिवेशनबाट अस्वीकृत

बिहीबार, ०३ फागुन २०८०, १७ : ५६
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विधान अधिवेशनबाट पदाधिकारीसहितको प्रत्यक्ष निर्वाचन प्रणाली अस्वीकृत भएको छ । स्थानीय, प्रदेश र केन्द्रीय कमिटी प्रत्यक्ष निर्वाचित प्रणालीमार्फत चयन गर्ने निर्णय गरेपनि पदाधिकारीको हकमा भने तत्काल यो प्रणाली अवलम्बन नगर्ने निर्णय भएको हो । 

माओवादीको विधान अधिवेशनले प्रत्यक्ष प्रणालीबाट निर्वाचित कमिटीले पदाधिकारी चयन गर्ने निर्णय गरेको हो । अधिवेशन हलमा कैयन प्रतिनिधिले पदाधिकारीसहितको प्रत्यक्ष निर्वाचन प्रणाली हुनुपर्ने धारणा राखेपनि त्यस्तो प्रस्ताव अस्वीकृत भएको हो । यसको पक्षमा उपमहासचिव जनार्दन शर्माले पूरक प्रस्ताव नै ल्याएका थिए । 

प्रतिनिधिहरुले उठाएको सवालमाथि जवाफ दिने क्रममा प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री प्रचण्डले सबै सवालमाथि पार्टी र नेतृत्वको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए । 

उनले आजको आजनै पदाधिकारीसहितको प्रत्यक्ष निर्वाचन प्रणाली सम्भव नभएको स्पष्ट पारे । यसबारे निरन्तर छलफल चल्दै जाने र आवश्यकताअनुसार पछि निर्णय गर्न सकिने प्रचण्डको धारणा छ ।  ‘प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने भन्ने नै अहिलेको लागि ठूलो कदम हो’, प्रचण्डले भने, ‘प्रत्यक्ष निर्वाचन प्रणालीमा गयो भन्ने नै ऐतिहासिक निर्णय हो  । यसबाट नै पार्टीलाई गति दिन सकिन्छ ।’

उनले अहिले आफू अध्यक्षमात्र नभएर देशको प्रधानमन्त्रीको हैसियतमा समेत रहेको उल्लेख गर्दै भने, ‘म अध्यक्ष मात्रै होइन प्रम पनि हो । धेरै कुरा त मैले पनि विचार गरेको छु नि । प्रत्यक्ष निर्वाचित पदाधिकारीको विषयमा महाधिवेशनबाट बहस हुँदै जान्छ । जनवादी केन्द्रीयताको बारेमा पनि विचार गर्नुपर्छ । अहिललाई हामीले नयाँ निर्णय गरिसक्छौँ ।’

प्रचण्डले प्रत्यक्ष निर्वाचित प्रणालीमा जाँदा समावेशी समानुपातिकको प्रावधानलाई पनि विशेष प्राथमिकता दिइने बताए । उनले भने, ‘यसबारेमा योभन्दा बढी अहिलेलाई छलफल गर्नु आवश्यक छैन ।’

प्रचण्डले विधान अधिवेशनमा २० वटा समूहबाट टोली नेताले आफ्नो सुझाव पेस गरेपछि संश्लेषणसहितको सम्बोधन गरेसँगै प्रतिनिधिहरुले पूरक प्रश्न राखेका थिए । सो क्रममा नेता सरल सहयात्रीले प्रत्यक्ष निर्वाचित प्रणालीको विषय स्पष्ट ढंगले पारित गरिनुपर्नेमा जोड दिएका थिए । ‘अस्पष्ट ढंगले अर्को बैठकले भनेर हुँदैन । कम्तीमा अहिलेको विधानको प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ’, उनको भनाइ थियो । उनको मात्रै होइन बोल्ने अन्य प्रतिनिधिले पनि सोही आवाज उठाएपनि अहिलेलाई पदाधिकारीसम्म पुग्ने अवस्था नरहेको स्पष्ट गरे । 

यस्तै बैठकमा प्रचण्डले चैत र वैशाखमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने निर्णय पनि सुनाए ।  जसअनुसार आगामी चैत १ देखि १५ गतेसम्म तराई मधेस जनजागरण अभियान चलाइने भएको छ । जसमा हुलाकी राजमार्गलाई केन्द्र बनाएर पूर्वदेखि–पश्चिमसम्मको अभियान चलाइने छ । त्यहाँबाट संठन निर्माण गर्ने पहल गर्ने भन्दै प्रचण्डले साथमा केन्द्रीय नेताहरु र सांस्कृतिक टिम समेत रहने बताए । यस्तै केन्द्रीय समिति १९९ सदस्यीय बनाउने, तत्काल पार्टीको नाम र चुनाव चिह्न परिवर्तन नगर्नेलगायतका निर्णय पनि सुनाएका छन् । प्रचण्डको सम्बोधन सँगै सोहीअनुसारको निर्णय बैठकले पारित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप