आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

मकैको उत्पादन बढ्यो तर रोकिएन आयात

सोमबार, ०७ फागुन २०८०, १३ : ३८
सोमबार, ०७ फागुन २०८०

काठमाडौँ । नेपालमा पछिल्लो समय मकैको उत्पादन बढेको छ । उत्पादन बढे पनि आन्तरिक मागलाई धान्न नसक्दा मकै आयात रोकिएको छैन । चालु आर्थिक वर्षमा मात्रै ७ अर्ब रुपैयाँको मकै आयात भएको छ । व्यावसायिक रूपमा मकै खेती प्रवर्द्धन हुँदै जानु, बर्णशंकर जातको प्रयोग लगायतका कारणले मकैको उत्पादन बढ्दै गएको हो ।

बसन्ते मकै, हिउँदे मकै लगाउने चलन बढेकाले मकै खेती गर्ने क्षेत्रफलसँगै उत्पादन पनि बढेको कृषि वैज्ञानिक डा. घनश्याम भण्डारीले बताए । ‘पहिला स्थानीय जात लगाउने चलन थियो, बिस्तारै जमिनमा आधुनिकीकरण गर्दै जाँदा किसानमा जागरण आयो,’ उनले भने, ‘बर्णशंकर जातको प्रयोग बढ्दै गयो, यो जातको मकै खेती गर्दा उत्पादन दर स्थानीयभन्दा झण्डै दोब्बर छ ।’

पछिल्लो समय पोषकतत्त्व बुझेर मकैको उपभोगकर्ता समेत बढेको डा. भण्डारीले बताए । ‘मकैको माग बढ्दो छ,’ उनले भने, ‘दुई कारणले मकैको माग बढेको देखिन्छ, एउटा खाद्यान्नका कारणले देखिन्छ भने अर्को कुखुरा पालन व्यवसायका लागि मकैको माग बढ्दो छ, पशुपालनको क्षेत्र बढ्दै जाँदा मकैको माग बढ्दो छ ।’

करिब १ क्विन्टल दाना बनाउनका लागि ५० देखि ५५ किलो मकै आवश्यक पर्ने भएकाले माग बढ्दो अवस्थामा रहेको उनले बताए ।

सरकारी निकायले मकै बालीलाई प्राथमिकतामा राखेको छ । भारी मात्रमा मकै प्रयोग हुने पोल्ट्री व्यवसायमा मकैको खपत हुँदै आएको छ । नेपाल पोल्ट्री क्षेत्रमा आत्मनिर्भर भए पनि दाना विदेशबाट ल्याउने भएकाले मकै उत्पादनलाई प्राथमिकतामा राखेको कृषि तथा पशुपन्छी मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सवनम शिवाकोटी अर्यालले बताइन् ।

‘मकैसँग सम्बन्धित पोल्ट्री क्षेत्रको मासुमा हामी आत्मनिर्भर भएका छौँ, तर दानाको अधिकांश हिस्सा विशेष गरी मकै र पिना बाहिरबाट आयात गरिरहेका छौँ,’ उनले भनिन्, ‘त्यसले गर्दा औद्योगिक क्षेत्रलाई पुग्ने गरी मकै उत्पादनको कार्यक्रम ल्याएका छौँ ।’ बाली विकास तथा जैविक विविधता केन्द्रबाट स्थानीय सशर्तको रूपमा पनि स्थानीय निकायमा मकैका लागि कार्यक्रम गएको उनले बताइन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमबाट पनि मकैको विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।

  • स्वदेशमा उत्पादन भएको मकैले तीन महिना मात्रै धान्छ

नेपालमा उत्पादन भएको मकैले स्थानीय मागलाई करिब तीन महिना मात्रै धान्ने गरेको छ । बाँकी ९ महिनाका लागि बाहिरबाट मकै आयात हुने गरेको छ ।

‘वार्षिक रूपमा नेपालभरि उत्पादन भएको मकैले जम्मा तीन महिना मात्रै पुग्ने गरेको छ, बाँकी आयात नै गरिन्छ,’ कृषि वैज्ञानिक डा. भण्डारीले भने, ‘पहाडी क्षेत्रमा उत्पादन भएका मकै खाद्यान्नमा प्रयोग हुन्छ, तराईको उत्पादन मात्रै पोल्ट्री क्षेत्रमा प्रयोग भएको छ ।’

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १६ करोड ४७ लाख किलो मकै आयात गरिएको छ । ६ महिनाको अवधिमा मकै आयातका लागि ७ अर्ब ९ करोड रुपैयाँ खर्च भएको छ । यस्तै, आर्थिक वर्ष २०७९/२०८० मा ४५ करोड १७ लाख किलो मकै आयात भएको थियो, जसमा १८ अर्ब रुपैयाँ बाहिरिएको थियो ।

  • कति हुन्छ नेपालमा मकै उत्पादन ?

सरकारी तथ्याङ्क अनुसार नेपालमा वार्षिक रूपमा ९ लाख हेक्टर क्षेत्रफलमा २९ लाख मेट्रिक टन मकै उत्पादन हुँदै आएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ९ लाख ५७ हजार हेक्टर क्षेत्रफलबाट २८ लाख ३५ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा ९ लाख ७९ हजार  हेक्टर क्षेत्रफलमा २९ लाख ९९ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७८/२०७९ मा ९ लाख ८५ हजार हेक्टर क्षेत्रफलमा ३१ लाख ६ हजार मेट्रिक टन मकै उत्पादन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू
लेखकबाट थप