बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चोरिएको हेलिकप्टर ह्वाइट हाउसको आँगनमा ल्यान्ड

मङ्गलबार, ०८ फागुन २०८०, १५ : ५९
मङ्गलबार, ०८ फागुन २०८०

वाशिङटन डीसी । तपाईँले अहिलेसम्म साइकल, मोटरसाइकल वा कार चोरीका घटनाहरुबारे त सुन्नु भएको होला । तर आज हामी तपाईँलाई अनौठो चोरीको घटनाबारे बताउन गइरहेका छौँ ।

५० वर्ष अघिको यो घटनाले सारा अमेरिकालाई हल्लाएको थियो । सेनाको हवाई फिल्ड टिप्टन एयरफिल्डमा राखिएको हेलिकप्टर चोरी भएपछि पूरै सहरमा हंगामा मच्चियो । यो घटनाबाट खुफिया एजेन्सीहरू समेत छक्क परे । यो घटनामा शत्रु देशको संलग्नता रहेको आशंका गर्न थालिएको थियो । वास्तविकता अत्यन्तै अकल्पनीय थियो ।

घटना १९७४ को फेब्रुअरी १७ को हो । मानिसहरू मध्यरातपछि वाशिङटन डीसीको सडकमा आउजाउ गरिरहेका थिए । ठिक यति बेला सेनाको एउटा हेलिकप्ट मानिसहरूको टाउकै माथि डरलाग्दो गरी उडिरहेको थियो । विमान लिंकन मेमोरियल र वाशिंगटन स्मारक वरपरको क्षेत्रमा घुमिरहेको थियो । यो देखेपछि प्रहरी टोली र सिक्रेट सर्भिसले हेलिकप्टरको पिछा गर्न थाले । सुरुमा त सबैले यो घटनाका पछाडि शत्रु देशको हात हुनसक्ने अनुमान गरेका थिए । घटनामा संलग्न व्यक्ति २० वर्षीय अमेरिकी नागरिक रोबर्ट के प्रेस्टन थिए । उनी असन्तुष्ट अमेरिकी सेना थिए ।

सन् १९७२ मा फ्लोरिडा निवासी रोबर्टलाई सेनामा भर्ती गरिएको थियो । भियतनामको युद्धको समयमा आफूलाई पाइलट बनाइने सपना उनले देखेका थिए । घाइते सिपाहीहरूलाई युद्धभूमिबाट टाढा लैजाने टोलीको सदस्य बनाइने आशा उनको थियो । तर त्यस्तो केही भएन । प्राविधिक तालिममा असफल भएपछि उनको सपनामा पानी फेरियो । पछि उनलाई मेरील्याण्डको फोर्ट मीड पठाइयो । यहाँ उनी हेलिकप्टर मेकानिकको रूपमा काम गर्थे ।

असफल प्रेम अनि सेनामा अनिश्चित भविष्यका कारण दुखित रोबर्टको मनमा सेनाप्रति आक्रोश पलाउँदै थियो । ठिक यति नै बेला प्रेमिकाले पनि उनलाई छोडेर गइन् । उनी चिन्तामा डुब्न थाले । रोबर्टलाई हवाईजहाज उडाउँदा जत्तिको खुसी केहीबाट पनि मिल्दैनथ्यो । उनीसँग जम्मा १५७ घण्टा विमान उडाएको अनुभव थियो । यस्तो उनले एउटा अप्रत्याशित निर्णय गरे । सेनाको एयरफिल्डबाट हेलिकप्टर उडाउने । विमान लिएर उनी राष्ट्रपति कार्यालय आसपासको क्षेत्रमा आए । लिंकन स्मारक र क्यापिटोल भवनबिचमा विना उडाउन थाले । यस क्षेत्रमा विमान उडान प्रतिबन्ध थियो ।

खुफिया सेवा एजेन्सीले बन्दुक र स्वचालित हतियारबाट हेलिकप्टरमाथि करिब ३०० ओटा गोली हानेको थियो । यीमध्ये पाँच गोली प्रिस्टनको खुट्टामा समेत लाग्यो । गोली लाग्दा लाग्दै पनि उनले विमानलाई भवनको दक्षिणी भागबाट करिब १०० गज टाढा अवतरण गराए । ढोका खोलेर हेलिकप्टर मुनि ओर्ले । त्यसपछि उनलाई सोधपुछका लागि ह्वाइट हाउस लगियो । उपचार पछि सुरुमा प्रिस्टनमाथि राष्ट्रपतिको हत्या प्रयासको आरोप लगाइयो ।

तर पछि भने शान्ति भंग गरेको आरोपमा उनलाई ६ महिनाको जेल सजाय र सय डलर जरिवाना तिराइयो । यो घटनापछि सिक्रेट सर्भिसले ह्वाइट हाउस आसपास प्रतिबन्धित हवाई क्षेत्रको दायरा बढाइदियो । गोली लागेर विमानमा प्वालै प्वाल परेको भएपनि विमान उडानका लागि सक्षम थियो । मर्मत गरेर पनि विमानलाई पुनः सेवामा फर्काइयो । ५५ वर्षको उमेरमा सन् २००९ मा प्रिस्टनको क्यान्सरका कारण निधन भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप