मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
नियात्रा

हङकङ सहर घुमेर हेर्दा...

शनिबार, १२ फागुन २०८०, १० : २०
शनिबार, १२ फागुन २०८०

बिहानको झिसमिसेमा होँचा डाँडाका टाकुराबाट छरिएका राताम्मे घामका किरणले मेरा अनिदा आँखालाई अचानक चनाखो बनाइदिए । ४ घन्टा ३० मिनेट लामो क्याथे प्यासिफिक एयरलाइन्सको रात्रि उडान बिहानको ६ बजेतिर अवतरण हुन लाग्दै गरेको समय थियो त्यो । विमानको झ्यालबाट निकै नौला र रमाइला भूदृश्य देखिँदै थिए । चारैतिर समुद्र र वरिपरि गगनचुम्बी भवनहरूको रहरलाग्दो समूह । हामीलाई बोकेर उडिरहेको विमान मन्द गतिमा बिस्तारै तलतल ओर्लिरहेको थियो । किनारातिर छचल्किँदै आइरहेका समुद्रका मनमोहक लहरहरूले समग्र परिवेशलाई जीवन्त तुल्याइरहेको प्रतीत हुन्थ्यो । समुद्रसँगै टाँसिएको थियो, चारैतिर फैलिएको अत्यन्तै फराकिलो विमानस्थल । समुद्रको छातीलाई नै छोए छोएजस्तो गर्दै विमानस्थलको रन–वेमा जहाज अवतरण भइरहँदाको क्षण मेरा निम्ति निकै रोमाञ्चक र कुतूहलपूर्ण थियो । म पहिलोपल्ट हङकङको यात्रा गर्दै थिएँ । 

हङकङमा पाइला टेकिरहँदा त्यहाँ नेपाली समुदायको उल्लेख्य उपस्थिति हुनुको कारणबारे पनि सोच्दै थिएँ म । पुराना स्मृतिहरू अनायासै मनमा खेल्न थाले । हामीले युवावस्थादेखि नै सुनिरहेको नाम हो हङकङ । अहिलेको मलेसियालाई त्यो बेला मलाया भनिन्थ्यो । मलाया र हङकङ हाम्रा गाउँघरतिर सन् ६० को दशकतिरै चर्चामा आउन थालेका सपनाका सहर थिए । चिल्लो अनुहार, फुर्तिलो शरीर, नाडीमा सिको घडी, प्यानासोनिक रेडियो, राम्रो ज्याकेट र काइदाको जुत्ता लगाएका लक्का जवान जब गाउँघरमा देखापर्थे, तिनलाई मानिसहरू झुम्मिएर हेर्न थाल्थे । तिनै लाहुरेले नेपालका कतिपय सहर र गाउँघरमा मलाया र हङकङको तिलस्मी कथा र सपना भित्र्याएका हुन् । समय क्रममा मलायाबाट गोर्खा ब्रिगेड हङकङ सरेपछि मलायाको सट्टा हङकङको चर्चा बाक्लिन थाल्यो । लाहुरे भएर हङकङ जाने सपना बोकेका नेपाली लक्का जवानहरू वर्षभरि शरीर खँदिलो बनाउने अनेक अभ्यासमा तल्लीन भएर ‘गल्ला खुल्ने’ समयको प्रतीक्षामा बस्न थाले । अहिले आएर त्यो परम्परा पूर्णरूपले व्यावसायिक भएर देशका विभिन्न भागमा व्यापक रूपमा फैलिँदो छ । 

पूर्वी नेपालका राई, लिम्बु र पश्चिम पहाडका गुरुङ, मगर समुदायका युवाको पहिलो रोजाइ हुन्थ्यो हङकङ । नेपाल र हङकङबिचको सम्बन्धको सेतु बनेका तिनै लाहुरेका कारण नेपालका धरान, पोखरा, बुटवलजस्ता ठाउँहरूले हलक्क बढ्ने मौका पाएका थिए । शिक्षाको महत्त्व बुझेर फर्केका लाहुरेहरू आफ्नो भावी सन्ततिको शिक्षादीक्षाका निम्ति गाउँबाट सहरमा स्थानान्तरण हुँदा यस्तो परिवर्तन देखापरेको थियो । ग्रामीण समाजमा हङकङे लाहुरेहरूको मानमनितो बेग्लै हुन्थ्यो । उनीहरूसँग माया–पिरती र वैवाहिक सम्बन्ध गाँस्न युवतीहरू लालायित हुन्थे । लाहुरेका पनि प्रेम वियोगका आफ्नै कथा हुन्थे । कवि सरुभक्तको ‘हङकङ–पोखरा निर्मोेही आफ्नो को छ र’ भन्ने चर्चित गीत त्यही सामाजिक मनोविज्ञानको परावर्तन थियो । 

आफ्नो औपनिवेशिक स्वार्थ पूर्तिका लागि नेपाली युवा शक्तिलाई उपयोग गर्ने रणनीति बनाएर गोर्खा भर्तीको परम्परा सुरु गरेका थिए अंग्रेजहरूले । उनीहरूले शत्रु पक्षको मनोबल गिराउन गोर्खा सिपाहीका अनेक राम्रा–नराम्रा विम्ब सिर्जना गर्न पनि बाँकी राखेनन् । फकल्यान्डको युद्घमा खटिएका गोर्खा फौजका बारेमा अंग्रेजहरूले फैलाएको अनेकौँ त्यस्ता अतिरञ्जित विम्बहरू यसका प्रमाण हुन् ।

FB_IMG_1708239072957

हङकङमा जन्मिएका गोर्खा फौजका सन्तान, दरसन्तानहरूले कानुनतः हङकङमै बस्ने अनुमति पाएपछि त्यहाँ नेपालीको उपस्थिति बाक्लिन थालेको हो । एक समय यस्तो थियो, हङकङमा व्यापारिक प्रयोजनका निम्ति नेपालीलाई प्रवेशाज्ञा खुला थियो । व्यापारीको भरिया भएर धेरै नेपालीले त्यस बेला निर्बाध रूपमा हङकङ भ्रमण गर्ने अवसर पाए । त्यस बेलाका अनेकौँ कथा र काण्डहरू निकै चर्चित छन् ।

अंग्रेजहरूको ९९ वर्ष लामो आधिपत्यपछि सन् १९९७ मा हङकङ चीनकै काखमा फर्कियो । त्यसपछि हङकङमा विदेशीले निर्बाध प्रवेशको अनुमति पाउन सम्भव भएन । हङकङको ‘पीआर’ पाएर त्यहाँ काम गरिरहेका छोराछोरीको जिम्मेवारीमा उनीहरूका बाआमाले मात्र हङकङमा पारिवारिक भेटघाट र भ्रमणका निम्ति अल्पकालीन प्रवेशाज्ञा पाउने व्यवस्था लागू भइसकेको थियो । यसका निम्ति पनि धेरै कुराहरूको परीक्षण र चित्तबुझ्दो लिखित प्रतिबद्घतापछि मात्र हङकङ भ्रमणको भिसा सम्भव थियो । 

‘हङकङ रेजिडेन्स ?’ पासपोर्ट र भिसाका डकुमेन्टस् हेरेपछि इमिग्रेसनमा मलाई सोधिएको पहिलो प्रश्न थियो यो । स्वीकारोक्तिमा मैले मुन्टो हल्लाएपछि ‘भिजिटर पर्मिटेड रिमेन’को एउटा सानो स्लिप हातमा थमाएर मलाई अगाडि बढ्ने अनुमति दिइयो । अध्यागमनमा कुनै लामो सोधखोज र झमेला भएन । यसो हेर्दा त्यो सानो स्लिप हङकङ बसुन्जेल आफ्नै साथमा बोकेर हिँड्नुपर्ने महत्त्वपूर्ण डकुमेन्टस् रहेछ । त्यसलाई सुरक्षित राखेँ ।

विमानस्थलको टर्मिनल भवन अत्याधुनिक एस्केलेटरहरूले सुसज्जित थियो । यात्रुले धेरै हिँड्नै नपर्ने । ब्यागेज क्यारोसेलमा यात्रु पुग्दानपुग्दै त्यहाँ लगेज आइसकेका थिए । लगेजका निम्ति एक क्षण पनि कुर्नुपरेन । सबै कुरा तीव्र गतिको प्रणालीमा स्वचालित भइरहेको रमाइलो दृश्य देखिरहेको थिएँ म । 

टर्मिनलबाट बाहिर निस्कँदै गर्दा मेरो प्रतीक्षामा उभिइरहेका निरब र उर्मिलासँग आँखा जुधिहाले मेरा । उनीहरूसँग लामो अन्तरालपछिको त्यो भेटघाट केही विशेष लागिरहेको थियो मलाई । शरीरमा अर्कै तरंग उत्पन्न भएको अनुभव गरेँ मैले ।

‘ट्याक्सीमा जाउँ कि मेट्रोमा ?’ उर्मिलाको सोधाइ थियो त्यो । कुन सहज र चाँडो हुन्छ, त्यसको ज्ञान थिएन मलाई । उनीहरूले नै ट्याक्सीमा जाने निर्णय गरे र छेउमै क्युमा बसिरहेको रातो रङको ट्याक्सीमा चढेर ड्राइभरलाई हामी जाने ठाउँको जानकारी दिए । हङकङमै हुर्किएकी उर्मिलालाई स्थानीय क्यान्टोनिज भाषामा कुराकानी गर्न कुनै समस्या थिएन । ट्याक्सीले गति लियो । त्यसपछि क्रमशः देखिन थाले हङकङ वरिपरिका नयाँ नौला परिदृश्य । टापुको फेदी र समुद्रको किनार हुँदै गुडिरहेको ट्याक्सी करिब आधा घन्टापछि सहरभित्र प्रवेश गर्‍यो । समुद्र देख्न नपाइने देशमा जन्मेका कारण होला, समुद्री किनारका सहरको यात्रा गर्दा नजिकै गएर समुद्रका छालहरू हेर्ने उत्सुकता जाग्छ मलाई जहाँ पनि । पृथ्वीको तीर्खा मेट्न हरदम उपँ्रmदै आइरहेजस्ता समुद्रका छाल र लहर हेर्दा त्यसले एउटा विचित्रको सम्मोहन उत्पन्न गराउँछ मेरो मनमा । 

हङकङको अपेक्षाकृत शान्त समुद्रको किनारमा डुल्दै त्यो साँझ बितायौँ हामीले । गगनचुम्बी असंख्य भवन मेरा आँखाअगाडि उभिएका थिए । यहाँ ठूलो भूकम्पको सम्भावना एकदमै कम रहेछ । जापान, ताइवान र फिलिपिन्सजस्ता सक्रिय भूकम्पको केन्द्रबिन्दु भन्दा ६०० किलोमिटर टाढा पर्छ  यो सहर । त्यसैले होला, यहाँ हावामा कावा खाँदै आकाशतिर उड्न तम्तयार भएजस्ता भवन बनाउने होडबाजी चलेको । संसारकै सर्वाधिक अग्ला भवनमध्येका केही भवन हङकङमा अवलोकन गर्ने काम बाँकी नै थियो । 

received_317360110657467

हङकङमा मेरो अवलोकन यात्रा लानताउ टापुबाट सुरु भयो । त्यो टापु संसारकै ठूलामध्ये एक मानिएको बुद्घको कांस्य मूर्तिका निम्ति प्रख्यात रहेछ । ‘बिग बुद्घ’ त्यहाँको मुख्य आकर्षण । त्यहाँ जानका निम्ति मेट्रो रेल चढ्यौँ हामीले । हङकङको हरेक ठाउँलाई जोड्ने, रातको १ बजेसम्म चलिरहने तीव्र गतिको यो रेलको अनुभव मेरा निम्ति पहिलो थियो । अफिस टाइममा यात्रुको बढी भिडभाड हुने रहेछ यो रेलमा । अरू बेला सिटमै बसेर यात्रा गर्न पाइने । एउटा छुटे पनि अर्को तुरुन्तै आइहाल्ने । स्क्रिनमा कुन स्टेसनबाट रेल कता गइरहेको छ, त्यो देखिने र स्टेसन आइपुग्नुअघि सूचना दिने प्रणालीले गर्दा रेलको यात्रा धेरै सहज रहेछ हङकङमा । मेट्रोमा उभिएका र बसेका प्रायः सबै यात्रुका आँखा र औँलाहरू स्मार्टफोनमा सक्रिय भइरहेको देख्दा भने म अचम्भित भएँ । मानौँ, स्मार्टफोन उनीहरूको मुटुको धड्कन हो, त्यो नभए एक सेकेन्ड पनि जिन्दगी चल्दैन । सायद व्यस्त व्यापारिक केन्द्रको एउटा विशेषता होला यो, यस्तै कल्पना गरेँ मैले ।  

मेट्रोबाट ओर्लिएपछि लानताउको टुप्पामा पुग्न अझै २५ मिनेटको केबलकार चढ्नुपर्ने रहेछ । केबलकारले हामीलाई जतिजति उचाइमा लग्दै गयो, उतिउति हङकङका नयाँ नौला परिदृश्य प्रकट हुँदै गए । समुद्रमाथि र मुनि बनाइएको संसारकै सर्वाधिक लामो पुल देखियो केबलकारबाट । मकाउ र चीनको अर्को एउटा प्रान्तलाई जोड्ने रहेछ त्यस पुलले । त्यो पुलको निर्माण गर्दा समुद्रमुनिको टनेलभित्रको जोखिमपूर्ण काममा नेपालीको संलग्नता बारे रोमाञ्चक अनुभव सुनाएका थिए निरबले । 

माथि पुगेर केबलकारबाट ओर्लेपछि हाम्रो फोटो हातमा लिएर एकजना मानिस हाम्रोअगाडि प्रकट भए । केबलकार चढ्ने बेला बाहिर उभिएका एक फोटोग्राफरले हामीतिर क्यामेरा सोझ्याएका थिए । उनले खिचेको फोटो किन्नैपर्छ भन्ने थिएन । यात्रा स्मृतिका निम्ति प्रायः सबैले महँगै भए पनि त्यस्तो फोटो किन्दा रहेछन् । थ्री डाइमेन्सल फ्रेममा सजाइएको त्यो फोटो हामीले पनि किन्यौँ । व्यापारमा हङकङ अरूभन्दा एक कदम अगाडि रहेको कुराको एउटा सानो उदाहरण थियो त्यो ।  

बौद्घ स्थल सफासुग्घर र व्यवस्थित थियो । पहाडको शीर्ष स्थानमा रहेको अभय मुद्राको बुद्घको विशाल स्थानक मूर्तिले त्यहाँको समग्र परिवेश नै उज्यालिएको अनुभव हुन्थ्यो । हाम्रो स्वयम्भूमा जस्तै त्यहाँ पुग्न निकै सिँढीहरू चढ्नुपर्ने । मनमा शान्ति र प्रशन्नता उत्पन्न गराउने वरिपरिको वातावरण । ध्यानमग्न भएर त्यहीँ बसिरहूँ जस्तो लाग्ने चुम्बकीय आकर्षण । त्यहाँ घुमिरहँदा सिद्घार्थ गौतमको गृहत्याग सम्बन्धमा भर्खरै पढेर थाहा पाएको एउटा फरक ढंगको व्याख्या अनायास सम्झिएँ मैले । 

Messenger_creation_a51b6209-4c49-47be-ace3-afc1bfd7edb2

रोग, जरा र मरण देखेर वैरागिएपछि सिद्घार्थ गौतमले गृहत्याग गरेको भन्ने तिलश्मी कथा सुनेर हुर्किएका हौँ हामी । वास्तवमा त्यो सत्य थिएन । कपिलवस्तु र कोलिय दुवै राज्यले सीमानदी रोहिणीको पानी खेतीपातीका निम्ति प्रयोग गर्थे । यस नदीको पानीको प्रयोग गर्ने विषयमा दुवै राज्यबिच विवाद हुँदै आएको थियो । सिद्घार्थ गौतम २८ वर्ष टेक्दै थिए, त्यही वर्ष पानीसम्बन्धी विवादले उग्र रूप लियो । युद्घबाटै सधैँका निम्ति त्यो विवादको अन्त्य गर्ने भनेर दुवै पक्ष मुर्मुरिन थाले । सिद्घार्थ युद्घको पक्षमा थिएनन् । सभामा युद्घ पक्षधरहरूको बहुमत देखियो । सिद्घार्थका सामु तीन सर्त राखिए— १) युद्घको समर्थन गर्दै त्यसमा सहभागी हुने । २) मृत्युदण्ड वा निर्वासनका निम्ति तयार हुने । ३) परिवारको सामाजिक बहिष्कार र सारा सम्पत्ति जफत स्वीकार गर्ने । 

तीमध्ये एउटा स्विकार्नुपर्ने भनिएको थियो । पहिलो र तेस्रो विकल्प सिद्घार्थका निम्ति अकल्पनीय थिए । दोस्रो विकल्प रोज्दै राज्यबाट निर्वासन र सन्न्यासी भएर गृहत्याग गर्ने उनले निर्णय लिएका थिए । बुद्घ स्थलमा यो नयाँ सत्य अरूलाई सुनाउन पाउँदा मलाई खुसी लागिरहेको थियो ।

‘मौसम सफा भयो भने भोलि हामी हङकङ पिक जानेछौँ,’ निरब भन्दै थियो । हङकङको सबैभन्दा अग्लो ठाउँ । पर्यटकका निम्ति अर्को आकर्षणको केन्द्र । त्यहाँ जान एसियाकै पहिलो ट्राम रेल्वेमा चढ्दै थियौँ हामी । सन् १८८८ मा सुरु भएर आधुनिक प्रविधिमा रूपान्तरण हुँदै अविछिन्न रूपमा चलिरहेको थियो त्यो ट्राम । त्यो मात्र एक यस्तो ट्राम थियो, जो संसारकै सबैभन्दा ठाडो भिरालोमा चल्ने गथ्र्यो ।

छिनछिनमा बदलिरहने हङकङको मौसम त्यस दिन बिहान राम्रै थियो तर माथि पुग्दानपुग्दै अचानक बदलिन थाल्यो । हुस्सु छरिँदै गए पनि हङकङ टापुको परपरसम्म फैलिएका विहंगम परिदृश्यहरूको अवलोकनमा त्यसले त्यति बाधा पुर्‍याएन । समग्र हङकङको छेउकुना देख्न सकिने त्यस बिन्दुमा उभिएर आँखा डुलाउनुको मजा बेग्लै थियो । पर्यटकलाई मनोरञ्जन गराउने त्यहाँ एउटा अर्को आकर्षण पनि रहेछ – ‘वाक्स म्युजियम’ अर्थात् मैनका मूर्तिहरूको संग्रहालय, मेडम तुसादको नामले परिचित । मैनबाट बनेका संसारका चर्चित व्यक्तिहरूको जीवन्त मूर्तिहरू त्यहाँ हेर्नलायक थिए । त्यहाँ राखिएका केही मूर्ति भने विवादास्पद व्यक्तिका पनि थिए । बोल्नै र हिँड्नै लागेका जस्ता मूर्ति बनाउने सीप र कौशल तारिफयोग्य थियो । एसियाकै पहिलो मैनको संग्रहालय रहेछ त्यो । करिब डेढ घन्टाको समय त्यही संग्रहालयभित्र सजिलै बित्ने रहेछ । संग्रहालयबाट बाहिर निस्कँदा रेस्टुरेन्टहरूमा ग्राहकहरूको भीड थामिनसक्नु देखियो । पर्यटक स्थल आकर्षक र गुल्जार बनाएर अरू व्यवसाय चम्काउने यो काइदा सिक्न लायक थियो ।  

एक दिन बिहान आफू बसेको स्थान नजिकैको पार्कमा घुम्न निस्किएँ म । त्यहाँ उमेर ढल्दै गएका मानिसहरूको एउटा समूह ताइची (चिनियाँ शैलीको योगाभ्यास)मा मग्न भइरहेको देख्दा म तरंगित भएँ । मलाई पनि उनीहरूसँगै मिसिएर ताईची गर्न मन लाग्यो । किनभने म पनि वर्षौंदेखि ताइची गरिरहेको थिएँ, यसले शरीरलाई स्वस्थ र फूर्तिलो बनाइराख्छ । 

हङकङका धेरै ठाउँमा सार्वजनिक खुला पार्क देखिन्थे । बिहानैदेखि पार्कको रेखदेख, सरसफाइ र बिरुवाहरूको हेरचाहमा कामदार सक्रिय थिए । सहरभित्र सडकहरूको सञ्जाल यति व्यापक थियो, गुगलकै सहारामा पनि तिनलाई पहिल्याउन असम्भव थियो । सडकहरूमा ट्राफिकको चाप अत्यधिक देखिन्थ्यो । तर, पैदलयात्रीका निम्ति सडक पार गर्ने स्थानहरू पर्याप्त । ट्राफिक संकेत सरल र सहज थियो । त्यो संकेत उल्लंघन गर्नेले निकै चर्को जरिवाना  भर्नुपर्ने । 

आखिर हङकङमा हेर्ने भनेकै अग्ला–अग्ला भवनहरूको चमत्कार न हो । एक दिन हामी संसारकै सर्वाधिक अग्ला भवनमध्ये एक हङकङको अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आईसीसी) को लिफ्टमा चढ्दै थियौँ । ४८४ मिटर अग्लो १०८ तलाको यो भवनमा १०० तलामा रहेको ‘अब्जर्भेसन डेक’मा उक्लेका थियौँ हामी ६० सेकेन्डमा । ६० सेकेन्डमा १०० तला पुर्‍याउने अत्यधिक तीव्र रफ्तारको लिफ्ट चढ्ने अवसर जुरेको थियो । सहर, समुद्र, परपरका टापुहरू र सूर्यास्तका रमणीय दृश्यको अवलोकन गर्न मानिस भेला हुने रहेछन् त्यहाँ । त्यहाँबाट तल सडकमा दौडिरहेका गाडी र हिँडिरहेका मानिस हेर्दा शरीरमा बेग्लै तरंग उत्पन्न भएथ्यो । अरूलाई हरेक कुरामा उछिन्ने होडबाजीमा आज संसारमा अनेकौँ चमत्कारपूर्ण आविष्कार भइरहेका छन् । यो गगनचुम्बी भवन पनि त्यसैको उपज हो । मैले आफ्नै मुलुकको धरहरा सम्झन पुगेँ । आजभन्दा १९२ वर्षअगाडि नेपालमा पनि धरहरा जस्तो अग्लो बुर्जा निर्माण गर्ने प्रविधि रहेको कुराले म मनमनै पुलकित भइरहेको थिएँ ।

Messenger_creation_d63cb159-f00f-4c21-a253-6cc727bca821

हङकङको सर्वाधिक अग्लो भवनबाट ओर्लेर साँझतिर हामी टहलिँदै भिक्टोरिया हार्बरतिर लाग्यौँ । हार्बर घुम्न लाग्दा क्यान्टोनिज भाषामा हङकङको अर्थ ‘फ्रागे्रन्ट हार्बर’ अर्थात् मगमगाउँदो बन्दरगाहको सन्दर्भ सम्झिएँ मैले । उहिल्यै कोउलुन बन्दरगाहको तटीय क्षेत्रमा अगरबत्तीको कारखाना सञ्चालन हुँदा त्यो बन्दरगाह नै सुगन्धित हुन्थ्यो रे । त्यसैबाट प्रभावित भएर यो ठाउँको नाम नै पछि हङकङ रहन गएछ । त्यता गइरहँदा बाटोमा हाम्रै घन्टाघर जस्तो संरचना ठिङ्ग उभिरहेको देखेँ मैले । त्यो उहिले कोउलुन–क्यान्टनमा चल्ने रेल्वे सुरु हुँदा सन् १९१५ मा बनेको ‘रेल्वे क्लक टावर’ रहेछ । समयका हिसाबले हङकङको त्यो घण्टाघर हाम्रोभन्दा केही वर्ष अघि बनेको भए पनि ती दुईको वास्तुशैलीमा देखिएको समानताले मेरो मनमा कुतूहलता उत्पन्न गराए । 

हङकङको प्रख्यात भिक्टोरिया हार्बरमा बिस्तारै मानिसको चहलपहल बाक्लिँदै गइरहेको थियो । साना ठूला जहाजहरू त्यहाँ ओहोरदोहोर गरिरहेका थिए । बोट क्रुजमा बसेर मानिसहरू समुद्री यात्राको आनन्द लिइरहेका देखिन्थे । हामीले पनि क्रुजमा बसेर एक चक्कर लगाउने विचार गर्‍यौँ । बन्दरगाहमा साँझपखको चिसो हावा तीव्र वेगमा चलिरहेको थियो । वल्लो किनाराबाट सुरु भएको हाम्रो क्रुज पल्लो किनारालाई छुँदै बिस्तारै वरिपरिका परिदृश्यहरू अवलोकन गराउँदै आफ्नै स्थानमा फर्कियो । साँझ झमक्कै हुन लागिरहेको समयमा हार्बरको प्यारापिटमा मानिसहरू टनाटन भरिइसकेका थिए । रातको ठिक ८ बजे भिक्टोरिया हार्बरका गगनचुम्बी भवनहरूबाट अनेक रङ र आकार प्रकारका विद्युतीय प्रकाशहरू एउटा निश्चित लयमा क्रमशः चारैतिर छरिन थाले । पृष्ठभूमिमा गुञ्जिरहेको संगीतको धुनले समग्र वातावरणमा अर्कै मादकता थपिरहेको थियो । मानिसहरू आँखा झिमिक्क नगरी आकाशै उज्यालो पार्ने त्यो रङ्गीन प्रकाशहरूको ‘सिम्फोनी’ हेर्न मग्न थिए । १० मिनेट लामो त्यो इन्द्रेणी उत्सव निकै मनमोहक थियो, जो हररात त्यहाँ आयोजना गरिन्थ्यो । 

‘हङकङका मूल निवासीहरू चिनियाँलाई ‘पारिका’ भनेर अर्कै आँखाले हेर्छन् ।’  

  • ‘कारण के हो ?’

एक दिन हाम्रो वार्तालापमा यस्तो प्रसङ्ग पनि उठ्यो । झन्डै एक शताब्दीसम्म फरक आर्थिक र राजनीतिक प्रणालीको साँचोमा ढालिएको यहाँको समाजको रहनसहन र जीवनशैली अरू चिनियाँको भन्दा बेग्लै हुनुु कुनै नौलो कुरा थिएन । विविधताले भरिएको देश र समाजमा मानवीय चिन्तन र व्यवहारमा भिन्नता पाइनु स्वाभाविकै थियो । त्यही कारण यहाँको विशिष्ट अवस्थाका निम्ति ‘एक देश दुई प्रणाली’को सिद्घान्त लागू गरिएको कुरा बुझ्न सकिन्थ्यो । अरूभन्दा आफूलाई श्रेष्ठ ठान्ने प्रवृत्ति भने सौहार्द्र सामाजिक सम्बन्धका निम्ति बाधक बन्न सक्ने भएकाले समाजशास्त्रीले यसमा विचार पुर्‍याउन आवश्यक थियो । 

हङकङको ‘ओसन पार्क’ चर्चामा आउने गरेको अर्को नाम हो । भव्य र कलात्मक एकोरियमभित्र जलचर प्राणीहरूको अभूतपूर्व प्रदर्शन र संरक्षणमा यो निकै चर्चित थियो । मुटु सिरिङ्ग पार्ने ‘थ्रिल राइड’का निम्ति पनि प्रख्यात रहेछ यो ठाउँ । हङकङ सेन्ट्रलबाट मेट्रो चढेर १०–१५ मिनेटमै हामी ओसन पार्क पुग्यौँ । त्यहाँका धेरै रोमाञ्चक खेलहरूमा सहभागी हुन र त्यसको अवलोकन गर्न माथि समिटमा जानुपर्ने रहेछ । केबलकार चढेर वरिपरिका पहाड, जंगल र समुद्रका सुन्दर दृश्यहरू हेर्दै हामी समिटमा पुग्यौँ । त्यहाँ थुप्रै मानिसहरू तीव्र गतिमा दौडने ‘थ्रिल राइड’मा बसेर जिन्दगीकै दुर्लभ अनुभव बटुलिरहेका थिए । त्यस्ता धेरै खेलमा सामेल हुन उर्मिला उत्सुक थिइन् । निरब भने त्यति ईच्छुक नहुँदानहुँदै पनि आखिर दुवैले ‘थ्रिल राइड’मा भाग लिए । केही विशेष स्वास्थ्य स्थिति भएका मानिसलाई त्यस्ता खेलमा भाग लिन निषेध गरिएको हुँदा मैले त्यहाँ सक्रिय दर्शकको भूमिका मात्र निर्वाह गरेँ । ओसन पार्कको नामलाई चरितार्थ गर्ने त्यहाँको समुद्री संरचना र अनेकौँ जलचर प्राणीहरूको जीवन्त गतिविधि निकै आश्चर्यलाग्दो थियो । पेन्गुइन र वालरसजस्ता पोलर प्राणीहरू आफ्नै प्राकृतिक वासस्थानमा झैँ उन्मुक्त भएर खेलिरहेका देखिन्थे । दर्शकलाई निकै अचम्भित र रोमाञ्चित पार्ने दृश्य थिए ती । 

पाइला पाइलामा काइदा काइदाको रेस्टुरेन्ट, सपिङ मल, होटेल र एपार्टमेन्ट अनि गगनचुम्बी भवनहरू एकअर्काको प्रतिस्पर्धामा तल्लीनझैँ देखिन्थे हङकङमा । बिहानदेखि नै ग्राहकले भरिभराउ र जीवन्त देखिन्थे रेस्टुरेन्टहरू । झन्डै ७५ लाख जनसंख्या भएको यो महानगरमा सबैभन्दा चम्केको व्यवसाय नै रेस्टुरेन्ट हो झैँ लागिरहेथ्यो मलाई । काममा जाने हतारो र गोजीमा दाम भएकाहरूलाई ब्रेकफास्ट, लन्च र डिनरको झमेलाबाट मुक्त गराउने सजिलो माध्यम यिनै रेस्टुरेन्टहरू थिए । 

FB_IMG_1705925061176

बाटोमा अलमलिएका मानिसले सोधेको कुराको जवाफ दिने फुर्सद त्यहाँ कसैलाई थिएन । स्थानीय मानिस प्रायः क्यान्टोनिज भाषा मात्र बोल्ने भएकाले अन्य भाषीसँग बोल्न असहज भएको होला भन्ने अनुमान गरेँ मैले । पसलमा किनमेल गरेर नोट गन्न थाल्यो भने पसलेले असहज मानेझैँ देखिन्थ्यो, मानौँ पैसामा व्यवहार गर्दा समयको नाश भइरहेको छ । नगदै दिन परे पनि काउन्टरको एटीएम मेसिनमा छिराउनुपर्ने र फिर्ता आएको रकम लिएर चुपचाप हिँड्नुपर्ने । ग्राहकसँग मोलतोल र बोलचाल गरेर कसले समय र शक्ति खेर फालोस् । डिजिटल भुक्तानीका निम्ति अक्टोपस कार्ड छैन भने हङकङमा एक पाइला सार्न पनि नसकिने रहेछ । रेल्वे प्लेटफर्म, डब्बल डेक र अन्य टिकट काटेर प्रवेश गर्ने ठाउँहरूले अक्टोपसलाई मात्र चिन्छ, मानिसलाई चिन्दैन । केबल दुई ठाउँमा मात्र काठमाडौँको जस्तो हङकङ बजार देखिए त्यहाँ । त्यसबाहेक अन्यत्र कतै पनि सामान किन्दा मोलमोलाइको गुन्जायस थिएन । संसारकै व्यापारमा सबैलाई उछिन्ने प्रतिस्पर्धामा होमिएको वर्तमान चीनको सानो झलक मैले हङकङमा देखिरहेको थिएँ । 

हङकङमा आफ्ना आफन्तसँगको पहिलो भेटघाट र चिनजानका क्षण पनि अविस्मरणीय रहे । लामो समयदेखि हङकङको बसाइ, जिन्दगीका उतार–चढाव, आफ्नै अध्ययन र प्रयत्नमा भइरहेका केही प्राज्ञिक कामको चर्चामा बिते केही सार्थक साँझहरू । स्थानीय क्यान्टोनिज लगायत बहुभाषाका शब्द, तिनको अर्थ र तिनलाई बोलीचालीमा प्रयोग गर्ने सजिलो तरिकाका बारेमा भाषाविद् हरिशंकर विष्टबाट भएका लेखन, प्रकाशनको काम र विचार अन्तक्र्रिया सम्झनलायक थिए ।

यात्राको अन्त्यतिर हामी हङकङको एउटा शान्त समुद्री तट ‘लिडो बिच’मा पुगेका थियौँ । हामीतिर आउँदै फर्कंदै गरिरहेका समुद्रका छाल र लहरहरू हेर्दाहेर्दै शरीरमा ताजगी भरिँदै गएको अनुभव गरेँ मैेले । समुद्रका छालहरूमा पाइताला भिजाउँदै तटका खस्रा बालुवामा ओहोरदोहोर गर्दाको आनन्द बेग्लै थियो । निकै वर्षपहिले भारतको गोवामा यात्रारत रहँदा मेरिन ड्राइभमा त्यहाँका अत्यन्तै सुन्दर समुद्री तटहरू घुमेको अचानक सम्झना भयो मलाई । गोधूलि साँझका बेला रातो सूर्य समुद्रमा ओर्लिएर त्यसैमा विलीन हुन लागिरहेको गोवाको त्यो मनमोहक दृश्य त्यस बेला म र मेरो जीवनसङ्गिनीले सँगै उभिएर हेरेका थियौँ, अहिले भने नितान्त भिन्न परिस्थितिमा म हङकङको समुद्री छाल र लहरहरूलाई टोलाउँदै हेरिरहेको थिएँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरि श्रेष्ठ
हरि श्रेष्ठ
लेखकबाट थप