शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय
अध्ययन

‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट

बिहीबार, २५ वैशाख २०८२, ०७ : १२
बिहीबार, २५ वैशाख २०८२

पोखरा । विश्वमा पन्छी अवलोकनकर्ता र अनुसन्धानकर्ताका माझ पिपर सेन्चुरी अथवा पिपर रिजर्भका रूपमा परिचित छ तर, यो वर्ष पिपर क्षेत्रमा एउटा पनि फोक्रास भेटिएन । 

जैविक विविधता संरक्षण समाज नेपाल र वर्ल्ड फेजन्ट एशोसिएशनले वैशाख ४ देखि १८ गतेसम्म गणना गर्दा फोक्रास प्रजातिका चराको आवाज सुनिएन । यो चरा सोही ठाउँमा सन् २०२२ मा ५ वटा गणना भएको थियो । 

चोरी सिकारी, जलवायु परिवर्तन र डढेलोजस्ता प्रकोपका कारण फोक्रास लोप हुने अवस्थामा पुगेको अनुसन्धानकर्ताहरूको तर्क छ । सन् १९९७ मा यो चरा ३० वटासम्म भेटिएको रेकर्ड छ । ‘दुःखको कुरा, यो वर्ष फोक्रासको आवाज सुन्न सकिएन,’ सन् २००४ देखि अध्ययनमा खटिएका नेपाल पंक्षीविद् संघका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौडेलले भने, ‘सन् २०११ मा पनि सुनिएको थिएन तर, त्यसपछिका वर्षहरूमा सुनिए । सरसर्ती हेर्दा केही वर्ष यता पासो थाप्ने र सिकार गर्ने क्रम बढ्दो पाइयो ।’

सन् १९७९ देखि हालसम्म १५ पटक अध्ययन गरिएको छ । पिपर र आसपासको क्षेत्र स्थापित ‘वर्ड सेन्चुरी जोन’ हो, विशेषगरी कालिजका लागि । सोही समूहले सन् २००१ देखि सन्तेल क्षेत्रमा पनि अध्ययन सुरु गर्‍यो । कालिजजस्तै मुनाल पनि विभिन्न समयको गणनामा घटबढ भइरहेको छ । सन् २०१९ मा सबैभन्दा कम ६ वटामात्रै भेटिएको थियो भने सन् १९९३ मा सबैभन्दा धेरै ३१ वटा गणना गरिएको थियो । अहिलेको गणनामा २० वटा मुनाल रेकर्ड गरिएको छ । 

पहिलो पटक गणना गर्दा सन १०७६ मा यो क्षेत्र डाँफे, मुनाल, कालिज र प्यूरोका लागि प्रख्यात हो । ‘अन्नपूर्ण संरक्षण क्षेत्र कार्यान्वयन हुनुअघि नै यहाँ फेजन्ट सेन्चुरी स्थापना भएको हो । फेजन्टहरूको राम्रो ह्याविट्याट भनेर विश्वमै यो क्षेत्र प्रख्यात छ,’ पौडेलले भने, ‘पछिल्लो समय अध्ययन गरिएका चराको संख्या घट्दो क्रममा छ । सङ्कटकाल र कोभिडपछि जङ्गल छिर्ने र मास्ने क्रम बढेको छ ।’

ब्रिटिश नागरिक कर्णेल जिमी रोबर्टको टीमले हिमाल चढ्ने क्रममा कालिज प्रजातिको चराको आवतजावत राम्रो देखेपछि त्यसलाई फेजन्ट सेन्चुरी घोषणा गरेका हुन् । सोही वर्षदेखि युकेमा स्थापना भएको वर्ल्ड फेजन्ट एशोसियशनले यहाँको चरा गणना थालेको थियो । गणनाका क्रममा हालसम्म मयूर र चीर भने भेटिएको तथ्याङ्क छैन । 

bird

अहिलेसम्मको अध्ययनमा यहाँ ३१४ प्रजातिका चरा भेटिएको तथ्याङ्क छ । कालिज प्रजाति घरपालुवा कुखुराको नजिकको वंशाणु जात हो । कुखुराको मासु खानेहरूले जङ्गली टेष्टका लागि यसको सिकार गर्ने गरेका छन् । ‘यसको सिकार कि धेरै धनीले गर्छन्, कि अत्यन्त गरिबले गर्छन्,’ पौडेल भन्छन्, ‘धनाढ्यलाई जङ्गली टेष्टको सोख हुन्छ । गरिबहरूलाई खर्कमा जडीबुटी टिप्न जाने र भेडाच्याङ्ग्रा चराउन जाँदा गुजारा टार्ने माध्यम बन्छ ।’

समूहले बेचविखनको अध्ययनचाहिँ गरेको छैन । तैपनि स्थानीयसँगको कुराकानीका आधारमा सिकार गरिएका पन्छीहरू पोखरा र काठमाडौँका बजारमा विक्री हुने गरेको अनुमान गरिएको छ । पोखरा, काठमाडौँबाट डाँफे र मुनालको बढी माग आउँछ । गाउँलेले सप्लाइ गर्छन् । ‘जिउँदो र मरेको दुवै चरा विक्री भएको छ भन्ने सुनियो,’ पौडेलले थपे, ‘पछिल्लो वर्षहरूमा एक्यापले पनि निकै चासो देखाएर गस्ती बढाएको छ । निकासीचाहिँ केही कम भएको होला ।’ 

जानकारहरू डाँफे र मुनालको प्रतिकिलो १५ सयदेखि ३५ सयसम्ममा विक्री हुने गरेको बताउँछन् । स्थानीयस्तरमा १५ सय र पोखरा क्षेत्रमा ३५ सयका दरले विक्री गरिएको उनीहरूले बताए ।

अहिलेको गणनामा दुई समूह बनाइएको थियो । घरगाउँमा बिहान कुखुरा बासेजस्तो यी चरा पनि सूर्याेदय अघि बास्छन् । त्यही आवाज सुनेर सङ्ख्या निर्धारण गरिएको अध्ययन समूहले जनाएको छ । ‘कहिले घट्ने, कहिले बढ्ने भइराखेको छ । विशेषगरी दुई वटा प्रजातीको निरन्तर अध्ययन गरिएको छ,’ पन्छी समाज पोखराका अध्यक्ष मनशान्त घिमिरे भन्छन्, ‘सबैभन्दा ठुलो समस्या सिकार हो ।’ 

त्यसमा पनि गाउँकै मान्छे बढी संलग्न हुन्छन् । गाउँकै मान्छेले पासो थापेका हुन् । त्यो क्षेत्रका धेरै मान्छे सिकारमा संलग्न छन् । करुवा, कपुचेमा यो समस्या छ ।’

घिमिरेका अनुसार गाउँले सचेत भए भने अब संरक्षण गरे पनि सङ्ख्या बढाउन सकिन्छ । खासगरी प्वाँख र मासुका लागि यसलाई सिकारीहरूले पासोमा पार्ने गरेको उनको तर्क छ ।

कस्तो छ तथ्याङ्क ?

यस वर्ष माछापुच्छ्रे गाउँपालिकाका पिपरबाहेक अन्यत्र ठुलो क्षेत्रमा गणना गरिएको थियो । खुमै, कोर्चाङ, पिलिचो, लुर्बुचा, चिचिम्ले, डाँफे चौर, हिले, ओदाने लगायत क्षेत्रमा गणना गरिएको जैविक विविधता संरक्षण समाजका निर्देशक पारसविक्रम सिंहले जानकारी दिए । 

‘अहिलेको गणनालाई विश्लेषण गर्दा निराश नै हुनुपर्ने अवस्था त छैन । तर उत्साही हुने संख्या पनि होइन,’ उनी भन्छन्, ‘पासोलाई शून्य बनायौँ भने हाम्रो हिमालमा डाँफे, मुनाल बढाउन सकिन्छ । वर्ड टुरिज्मबाट पनि आम्दानी गर्न सकिन्छ भनेर स्थानीयलाई सिकाउन खोजेका छौँ ।’

bird3

वडा कार्यालयदेखि गाउँपालिका र एक्यापसँग मिलेर सामूहिक काम गरिरहेको उनले सुनाए । सेतीखोला उपत्यका (पिपर र सन्तेल) मा ३३८ वटा चराहरूको रेकर्ड गरिएको समाजले जनाएको छ । अघिल्लो अध्ययनका क्रममा २ सय वटासम्म पासो भेटिएकोमा अहिले भने लगभग नयाँ पासो नभएको गणकहरूले रिपोर्टिङ गरेका छन् ।

‘पहिला भन्दा त पासो कम छन् तर, अहिले पनि कतैकतै भेटियो,’ उनले भने, ‘जहाँ–जहाँ पानीको स्रोत छ, त्यहाँ पासो थाप्ने रहेछन् । मुख्य थ्रेट भनेको सिकार नै हो ।’ 

उनीहरूले क्यामेरा राखेर पनि अध्ययन गरेका छन् । अध्ययनका क्रममा केही व्यक्ति बन्दुकसहित जङ्गल छिरेको भिडियो रेकर्ड गरिएको सिंहले जानकारी दिए । पासो रोक्न अनुसन्धानकर्ताहरूले स्मार्ट पेट्रोलिङ सुरु गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप