शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जन्तेढुङ्गा गाउँपालिकाका सामुदायिक स्वास्थ्य इकाइ बन्द हुँदै

शनिबार, १२ फागुन २०८०, १५ : ०८
शनिबार, १२ फागुन २०८०

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले तीन वर्षअघि गाउँगाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको थियो । विसं २०७४ मा स्थानीय सरकारले स्थापना गरेका ६ सामुदायिक स्वास्थ्य इकाइमध्ये चारवटा बन्द भएका छन् । 

स्वास्थ्य सेवा लिनका लागि घण्टौँ हिँड्न बाध्य नागरिकलाई मध्यनजर गर्दै स्वास्थ्यचौकी सरह सेवा दिनेगरी गाउँपालिकाले छ स्थानमा इकाइ स्थापना गरिएकामा अहिले जन्तेढुङ्गा–१ देविस्थानको सिक्किमटार र जन्तेढुङ्गा–२ बोपुङको डुम्रीकोटे सामुदायिक स्वास्थ्य इकाइमात्र सञ्चालनमा छन् । 

स्वास्थ्य इकाइको उचित व्यवस्थापनमा गाउँपालिका प्रशासनले बेवास्ता गर्दा वडा नं ४ डम्बर्खुशिवालयस्थित बाम्राङ र कात्तिके सामुदायिक स्वास्थ्य इकाइ, वडा नंं ५ चिसापानीको खुटा छिरुवाधारा र मातेपानी सामुदायिक स्वास्थ्य इकाइ बन्द भएका जन्तेढुङ्गा–४ का वडाध्यक्ष विदुरमान राईले जानकारी दिए । राजनीतिक स्वार्थका कारण इकाइ बन्द गरिएका उनले आरोप लगाए ।

खुटाछिरुवाधारामा विसं २०७७ कातिक २७ गते र कात्तिकेमा विसं २०७७ फागुन ५ गते विशेष समारोहका बीच स्वास्थ्य इकाइ स्थापना गरिएको थियो । उद्घाटन भएको केही समयसम्म सञ्चालन भएर बन्द गरिएका ती इकाइबाट अहिले गाउँघर क्लिनिक र खोप सेवामात्र सञ्चालन हुने गरेका स्थानीय बताउँछन् । 

खुटाछिरुवाधारामा इकाइ सञ्चालनका लागि गाउँपालिकाको लगानीमा भवनसमेत बनाइएको थियो । अघिल्लो स्थानीय सरकारले स्थापना गरेका इकाइमध्ये आवश्यकीय स्थानकालाई निरन्तर सञ्चालन गरिएको भन्दै अनावश्यक स्थानकालाई बन्द गरिएको गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले बताए । उनका अनुसार जनशक्ति राख्ने आन्तरिक श्रोत नभएकाले अनावश्यक ठाउँका सामुदायिक स्वास्थ्य इकाइ बन्द गरिएको हो ।

“अघिल्लो जनप्रतिनिधिले स्थापना गरेको भनेर इकाइ सञ्चालन नगरिएको होइन । जनशक्ति राख्ने आन्तरिक आयश्रोतको अभावमा बन्द गर्नुपरेको हो”, उपाध्यक्ष खड्काले भने, “निरन्तरता दिनका लागि जनशक्ति अभाव छ । कतिपय इकाइ कार्यालय सहयोगीको भरमा सञ्चालनमा रहेकाले बन्द गर्नुको विकल्प थिएन । अति आवश्यकीय ठाउँमा बाहेक अन्य बन्द गरिएको हो ।”

जनशक्ति तथा आवश्यक उपकरण, फर्निचरलगायत सामग्रीको व्यवस्थापन नगरी स्थापना गरिएका चार इकाइबाट हाल गाउँघर क्लिनिक र खोप कार्यक्रम सञ्चालन हुँदै आएको गाउँपालिकाले जनाएको छ ।  बामोल सामुदायिक स्वास्थ्य इकाइ भने स्थापना भए पनि उद्घाटन भएर सञ्चालन नै नभएको स्थानीय बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप