शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
भ्रष्टाचार

के हामी सबै भ्रष्टाचारी हौँ ?

१६ बुँदामा आफूलाई खोज्नुस् त !
मङ्गलबार, १५ फागुन २०८०, १० : १०
मङ्गलबार, १५ फागुन २०८०

विभिन्न प्रकारका भ्रष्टाचारका समाचार हाम्रा लागि नौला होइनन् । भुटानी शरणार्थी, सरकारी जग्गा हडप्ने वा आफ्नो नाममा बनाउने, अवैध सुन भित्र्याउने, सहकारी ठगी, कर छली, घुस खाने, मिलेमतोमा बजेट पचाउने आदि प्रकरणका समाचार पछिल्लो समय सञ्चारमाध्यममा छ्यापछ्याप्ती देखिए र देखिँदै छन् । 

यसमा केही सञ्चारगृहले गरेका अनुसन्धानको धेरै योगदान छ, साथसाथै सरकारले भ्रष्टाचारविरुद्ध चालेका कदम पनि प्रशंसनीय छन् । दिनहुँ आउने यस्ता समाचारले हामी धेरैको मनमा प्रश्न उब्जेला, यो देशमा चोखो को छ ? मेरो बुझाइमा सायद धेरै कम नै छन् होला । किनकि जनताजस्ता छन् नेता, कर्मचारी, पेसाकर्मी त्यस्तै हुन्छन् भन्नेमा म विश्वास गर्छु । के हामी जनता सबै इमानदार छौँ ? एकचोटि आफैँलाई प्रश्न गरौँ । 

किनकि भ्रष्टाचार गर्ने वा नगर्ने भन्ने हाम्रो (हामी हरेक जनताको) आचरण र नैतिकताले निर्णय गर्छ । हामी जनता नै कुनै दलको नेता, कर्मचारी, कुनै न कुनै पेसाकर्मी छौँ, तसर्थ राज्य संयन्त्रमा हुने भ्रष्टाचारमा कतै न कतै र कुनै न कुनै किसिमले हामी पनि जिम्मेवार हुन सक्छौँ । बृहत् शब्दकोश अनुसार, भ्रष्टाचार शब्दले ‘पतित आचरण, दूषित मर्यादा । नियम वा कानुनविरुद्ध नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम । भ्रष्ट मनसाय वा घुसखोरीको काम’लाई अर्थ्याउँछ । यस्तो आचरण वा कतिपय कार्य हाम्रो समाजमा सामान्यजस्तै छन्, ठुल्ठुला समाचार बनेका घटनालाई मात्रै हामीले भ्रष्टाचार भन्छौँ । समाजमा हुने स–साना भ्रष्टाचारमा न हामी आत्मालोचना गर्छौँ, न कुरा गर्छौँ, न यसो गर्न छाड्छौँ, खालि अन्यको जिउमा जुम्रा खोज्छौँ तर आफ्नो जिउको भैँसी चस्मा लगाएर पनि देख्दैनौँ । नियमित रूपमा गरिने स–साना भ्रष्टाचारले भ्रष्टाचारी जन्माउँछ र यसको सामान्यकरण हुँदै जाँदा ठुल्ठुला भ्रष्टाचार उर्वर हुँदै जान्छ । भ्रष्टाचारको सामान्यकरणले गर्दा जान–अन्जानमै अधिकांशले भ्रष्टाचार गरिरहेका हुन्छन्, केहीलाई छाडेर । केही उदाहरण हेरौँ, यी तलका बुँदाबाट हामी अछुतो छौँ ? आफैँले मनन पनि गरौँ— कतै तपाईं हामी पनि भ्रष्टाचारी त होइनौँ ?

१) चिट चोरेर परीक्षा पास गर्ने, नक्कली प्रमाणपत्र प्रयोग गरेर जागिर खाने, अर्काको लेख चोर्ने ।

२) टिकट नकाटी पब्लिक बस चढ्ने, महिला वा वृद्धका सिटमा बस्ने र नछाड्ने । जहाँ पायो त्यहाँ यातायातका साधन रोक्ने वा रोकाउने । बस, प्लेन आदिका सिटमा फोहोर गर्ने वा बिगार्ने । यातायातको कुरा गर्दा चाडपर्वका बेला वा अप्ठेरो परेको बेला बढी शुल्क लिने । 

३) आफ्नो बैठक सफा राख्ने, तर घरको फोहोर फुत्त गेटबाहिर फाल्ने वा फोहोरलाई आगो लगाउने । बाटोमा पिसाब फेर्ने, थुक्ने र पानपराग वा चाउचाउका खोल वा चुरोटका ठुटा जताततै फाल्ने । घरका कुकुरलाई बाटोमा वा पार्कमा शौच गराउने तर सफा नगर्ने ।

४) घरका र बाहिरका महिला र अन्य समुदायलाई भेदभाव गर्ने, बलात्कारीको समर्थन गर्ने वा गराउने, यौनशोषण गर्ने वा गराउने । 

५) कार्यालयको उपकरणहरू र स्रोत निजी काममा प्रयोग गर्ने, गराउने वा बेच्ने ।

६) कार्यालयमा हाजिर गरेर टाप कस्ने । चियापान वा घाम तापेर कार्यालयको समय बिताउने । कार्यालयको स्रोत प्रयोग गरेर अन्य काम गर्ने र लाभ लिने । 

७) सेवाग्राहीको काम गर्न कमिसन वा घुस खोज्ने । सेवाग्राहीलाई दुःख दिने, अनावश्यक लाइनमा राख्ने, अनावश्यक रूपमा यता र उता कुदाउने ।

८) कर छल्ने वा नतिर्ने । नक्कली बिल, टिकट वा कागजात कार्यालयमा बुझाएर रकम असुल्ने । 

९) आफ्नो काम गराउन कमिसन खुवाउने वा भनसुन गराउने । हाकिमलाई गिफ्ट दिने वा चाकडी बजाउने र चुक्ली लाउने ।

१०) आफ्ना कारिन्दा, कार्यकर्ता वा कर्मचारीको शोषण वा भेदभाव गर्ने वा गराउने । अर्काले गरेको कामको जस लिने ।

११) सरकारी कागजपत्र, जस्तै : राहदानी, नागरिकता आदिको दुरुपयोग गर्ने, झुटो बोल्ने । 

१२) पालो वा लाइन मिच्ने । परीक्षा पास नगरी सवारी–चालकको अनुमतिपत्र लिने वा दिने । चालकले ट्राफिक नियम पालना नगर्ने वा नगराउने ।

१३) जग्गा मिच्ने चाहे त्यो २० रोपनी होस् वा २० सेन्टिमिटर होस् । नक्कली लालपुर्जा बनाउने वा त्यस्ता जग्गा बेच्ने ।

१४) सामानहरूको गुणस्तर कमी गरेर जनताबाट बढी रकम लिने । जस्तै : खानेकुरामा मिसावट गर्ने, नापतौलमा ठग्ने, नाफा हुँदै गएपछि आम्दानी बढाउन गुणस्तर घटाउने ।

१५) पेसाकर्मीले कमिसनका लागि अनावश्यक खर्च गराउने । डाक्टरले अनावश्यक जाँच गराउने, इन्जिनियरले अनावश्यक सामान किनाउने, शिक्षकले स्कुलमा ध्यान नदिएर ट्युसनमा ध्यान दिने, पत्रकारले पत्रकारिताबाट ब्ल्याकमेल गर्ने ।

१६) ठेकेदारले जसरी पनि सेवाग्राहीलाई लुटिरहने । जस्तै : निर्माण सामग्री कमसल राख्ने, कमिसन खाने वा खुवाउने, महँगो उपकरणहरू किनाउने आदि ।

यस्ता उदाहरण धेरै छन् । यहाँ धेरै उदाहरण छुटेका छन् । विशेषगरी मिडियाले प्राथमिकतामा राख्ने खालका भ्रष्टाचारहरू । तर यो लेखको उद्देश्य भ्रष्टाचारको लिस्ट तयार पार्नु वा कुन भ्रष्टाचार सानो वा ठुलो हो भनी छुट्ट्याउनु होइन, स–सानो ठानेर हामीले कसरी भ्रष्टाचार गरिरहेका छौँ भनी देखाउनु हो । यसरी भ्रष्टाचारलाई सामान्यकरण गर्दा वा भइरहँदा ठुल्ठुला भ्रष्टाचार पनि सामान्य लाग्न थाल्छन् । यस्तो व्यवहार गर्दै जाँदा ‘सबैले अनियमितता गर्छन्, चोर्छन् वा ठग्छन्, तसर्थ मैले पनि अनियमितता गर्नु, चोर्नु वा ठग्नु सामान्य हो’ भन्ने सोच हाबी हुँदै जान्छ र एक दिन व्यक्ति ठुलो भ्रष्टाचारी बन्न सक्छ । यस्तो अवस्था सिर्जना हुनुमा सरकार र व्यवस्थाको मात्र हात हुँदैन; हाम्रो संस्कार, आचरण, शिक्षा, व्यवहार र अभ्यास पनि जिम्मेवार हुन्छन् । ठुल्ठुला भ्रष्टाचार स–सानाबाट सुरु हुँदै भयानक हुने हो । माथि उल्लिखित उदाहरणमध्ये धेरै नै हामी प्रायःले देखेका छौँ र यस्तालाई सामान्य मान्न पनि थालेका छौँ । तसर्थ हामी नेता वा ठुल्ठुला भ्रष्टाचारीलाई मात्र भ्रष्ट देख्छौँ, दिनहुँ आफूले वा आफ्नाले गरेका अनियमितता देख्दैनौँ वा प्रश्न गर्दैनौँ । 

भ्रष्टाचार नियन्त्रण गर्न जति सरकार र व्यवस्थाको जिम्मेवारी हुन्छ, त्यति नै जिम्मेवारी हरेक नागरिकको पनि हुन्छ । सरकारले स–साना भ्रष्टाचारको नियमन गरिरहन सक्दैन, तसर्थ हरेक नागरिक इमानदार हुन आवश्यक हुन्छ । आफूले पनि कुनै अनियमितता नगर्ने र आफूले देखेका अनियमितताको खबरदारी गर्ने हो भने भ्रष्टाचार न्यूनीकरण हुँदै जान्छ । माथि उल्लिखित उदाहरणजस्ता भ्रष्टाचार वा अनियमितता हामीबाट भएका छन् भने आजैबाट छाडौँ । आफूले त्यसो गर्न सक्दैनौँ भने सरकार वा कुनै भ्रष्टाचारी नेता, कर्मचारी तथा पेसाकर्मीलाई गाली गर्न हाम्रो नैतिकताले दिँदैन । 

(डा. कँडेल जेनेभा, स्विट्जरल्यान्डमा कार्यरत मेडिकल इपिडेमियोलोजिस्ट र मानवशास्त्री हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. निर्मल कँडेल
डा. निर्मल कँडेल
लेखकबाट थप