सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जहाँ मकैको बिहे गरिन्छ

मङ्गलबार, १५ फागुन २०८०, १६ : ३८
मङ्गलबार, १५ फागुन २०८०

पोखरा । गाउँभरीका मान्छे ठुलो आँगनमा भेला भए । मादल, ढ्याङ्ग्रो र झ्याली बजाउँदै केही व्यक्ति अघि लागे । पछि पछि डोली सहितको जन्तीको लस्कर निस्कियो । 

यो दृश्य हो-मकैको बिहेको । गोरखाको लाप्राकमा शनिबार धुमधामका साथ मकैको विवाह गरिएको हो । लाप्राकीहरुले अन्नबाली राम्रो होस् भन्ने विश्वासले वर्षौँदेखि मकै विवाह गर्दै आएका छन् । ‘मकै बिहे पुस्तौँपुस्तादेखि चलेको हो । जिजु बाजेले गर्दै आएको परम्परा हामीले धानिरहेका छौँ,’ स्थानीय राज गुरुङले भने, ‘हाम्रोमा यसलाई प्राकृतिक पूजा पनि भन्छन् । धर्तीको पूजा गरेपछि मात्रै मकै राम्रो फल्ने जनविश्वास छ ।’

उनका अनुसार मकैको विवाह बर्सेनि माघ १५ देखि फागुन १५ सम्मको अवधिमा पर्छ । ‘तिथि कहिले माघमा पर्छ, कहिले फागुनमा पर्छ । पूर्णिमाको शुभ साइत हेरेर विवाह गर्ने चलन छ,’ उनले अघि भने, ‘सबैतिरको लक्षिन आफ्नै ठाउँमा आओस् । असिना पानीले बाली सखाप नहोस् । हिउँ धेरै नपरोस् र गाउँलाई रक्षा गरोस् भनेर कामना गर्छन् ।’ मकै विवाह गरेपछि उत्पादन राम्रो हुने र गाउँमा खान लाउन समस्या नहोस् भन्ने विश्वास लाप्राकीसँग छ ।

बिहेको अघिल्लो दिन सबैको घरमा एक घोगा मकै जमिनमा गाडेर राखिन्छ । विवाहका दिन एक जना बालकलाई सिँगारेर डोलीमा राखेर बेहुलीको घरतिर लगिन्छ । झुप्रोमा कन्या पहिले नै राखिएको हुन्छ । जन्तीले बेहुला बेहुली सहित बाजागाजासहित लाप्राक गाउँको परिक्रमा गर्छन् । बेहुलीकै घरमा मकै थुपारिन्छ । सबैको एक एक घोगा मकैलाई एक ठाउँमा थुप्रो बनाइन्छ । थुप्रो लगाइएको मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ । यही मकैलाई अरू बिउमा मिसाएर गाउँका सबै किसानले बारीमा रोप्छन् ।

‘पूजापाठ गरेर साइत निकाल्छौँ । साइतमा विवाह सकेपछि मकै जम्मा गरेर चोख्याउँछौँ,’ पुरोहित सुकबहादुर गुरुङले भने, ‘त्यो मकैसँग मिसाएर रोपेको मकै मात्रै राम्रो उब्जनी हुन्छ भन्ने विश्वास छ ।’ उनले सदियौँदेखि यो चलन लाप्राक लगायत गाउँहरूमा रहेको सुनाए । जैसी र झाँक्रीहरूले एक साताअघि नै मकै बिहेको साइत जुराएका थिए । मकैको विवाहमा भोज पनि भुटेको मकै खाइन्छ । बिहे नगरी मकै रोप्दा अशुभ हुने मान्यता स्थानीयमा छ । बिहेपछि रोपेको मकै किराबाट जोगिने उनीहरू बताउँछन् ।

‘बिहे नगरे किराले सिद्ध्याउँछ । रोग लाग्छ । पानी र असिनाले भित्र्याउन दिँदैन,’ स्थानीय चिरानी गुरुङले भनिन् । मकै छर्नु अघि सबै अन्नको पूजा गर्ने चलन भए पनि मकै मुख्य बाली भएकाले यसको बिहे गर्ने गरेको उनले बताइन् । गुरुङ बाहुल्य क्षेत्र धार्चेका लाप्राक सहित गुम्दा, सिङ्ला, उहिया, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँ, लापु लगायत दर्जन गाउँमा मकै बिहे गर्ने गरिन्छ । मकै बिहेको भोज समेत मकैकै परिकार हुन्छ । भुटेको मकै खाँदै घाटु नाचेपछि विवाह सकिन्छ ।

मकै विवाह पुस्तौँदेखिको चलन भएकोले यसलाई जोगाउन र पर्यटनसँग जोड्न पालिकाले पनि पहल थालेको छ । यस क्षेत्रमा सबैभन्दा बढी मकै र आलुको उत्पादन हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप