बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
लेखा समिति बैठक

अख्तियारसँग सांसदहरुका गुनासै गुनासा– ललिता निवास प्रकरणमा मन्त्री, प्रधानमन्त्री किन परेनन् ?’

मङ्गलबार, १५ फागुन २०८०, २२ : १७
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा विभिन्न दलका सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र सचिव समक्ष विभिन्न खाले गुनासो र सुझाव प्रस्तुत गरेका छन् । 

मंगलबार सिंहदरबारस्थित समितिको हलमा लेखा समितिले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई र सचिव रामेश्वर दंगाललाई छलफलका लागि बोलाएको थियो । 

सो क्रममा दलका सांसदहरुले अख्तियारले गरिरहेको कामप्रति आफ्ना टिप्पणीहरु राखे । एमाले सांसद दामोदर भण्डारीले अख्तियारको निष्पक्षतामाथि प्रश्न नभएपनि राजनीतिक विषय जोडिएका मुद्दालाई अघि बढाउन ढिलाइ भइरहेको बताए । उनले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणमा बयान दिएका मन्त्री झण्डा हल्लाएर हिँडिरहेको भन्दै निष्पक्ष अनुसन्धान हुनेमा शंका व्यक्त गरे । 

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले उजुरीको प्रकृति कस्तो छ त्यसको आधारमा उजुरी लिन आग्रह गरे । अख्तियारले बेनामे उजुरी लिन नहुने बताउँदै उजुरीकर्ताको नाम भएको उजुरी विश्वसनीय हुने बताए । उनले अख्तियार लगायतका निकायमा राजनीतिक नियुक्ति हुन नहुने बताए । उनले भने,‘संवैधानिक आयोगमा राजनीतिक नियुक्ति नगरी स्वतन्त्र प्रतिस्पर्धाबाट हुनुपर्छ । यसो गर्दा स्वतन्त्र ढंगले काम गर्न सक्ने अवस्था हुन्छ, अन्यथा राजनीतिक नियुक्तिबाट संवैधानिक निकायका पदाधिकारीहरु हातखुट्टा बाँधिएको अवस्थामा छन् ।’

राजनीतिक नियुक्ति भएका कारण अख्तियारमा मन नलागी नलागी पनि कतिपय मुद्दा तामेलीमा राख्नुपर्ने अवस्था रहेको टिप्पणी गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले देश छोड्ने मध्ये ५० प्रतिशत युवाहरुले यो देशमा भ्रष्टाचार धेरै भएकाले देश  छाड्न लागेको बताउने गरेको उल्लेख गरे । मधेस प्रदेशमा पर्सनल कमिसन नदिई कुनै काम नहुने अवस्था रहेको र मधेस प्रदेशका कतिपय मेयरविरुद्ध भ्रष्टाचारका दर्जनौँ उजुरी परेपनि केश अघि नबढाएको भन्दै गुनासो व्यक्त गरे । 

नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले यो देश सेटिङ र सिन्डिकेटले चलिरहेको छ भन्ने भाष्य निर्माण भएको बताए ।  उनले अख्तियारलाई काम गर्न कहाँ अप्ठ्यारो भएको छ, त्यसलाई समाधान गर्न सरकार र संसद् तयार रहेको बताए । 

राप्रपा सांसद राजेन्द्र कुमार लिङ्देनले अख्तियारले राजनीतिक नेतृत्वमाथि अनुसन्धान पनि नगर्ने र जोगाउने गरेको भन्दै काम गर्न कहाँ समस्या छ भन्दै प्रश्न गरे । 

उनले भने,‘ललिता निवास प्रकरणमा टिप्पणी उठाउनेहरूले प्रधानमन्त्रीको कार्यकक्षमा पटक पटकको छलफल भएको भनेर लेखेको छ तर प्रधानमन्त्रीलाई अख्तियारले अनुसन्धानको रूपमा किन लिँदैन । के कुराले अख्तियारलाई, विशेष अदालतलाई यसले प्रभाव पार्छ ?’ 

उनले टेरामक्स ल्याउने प्रक्रियामा त्यो प्रविधि हुनुअघि अरबौँ भ्रष्टाचार हुने गरेको बताउँदै टेलिकम, एनसेल जस्ता निकायले बढी पैसा काटेर लिएको हुनसक्ने भन्दै त्यसलाई नियमन गर्ने कुरामा ध्यान दिनुपर्ने बताए । 

लिङ्देनले अख्तियार राजनीतिज्ञलाई चोख्याउने र कर्मचारीलाई थुन्ने काममा सीमित भएको बताउँदै नेताहरू भनेको चोरै हुन भन्ने भाष्य हट्न नसकेको बताए । 

नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले अख्तियारका लागि छुट्टै कर्मचारी समूह बनाउन आवश्यक रहेकोमा जोड दिए । उनले अख्तियारमा कांग्रेस, एमाले, माओवादी लगायतका दलहरुबाट भागवण्डामा आयुक्त नियुक्त हुन्छन् भने उनीहरुले कसरी निष्पक्ष भएर काम गर्न सक्छन् भन्दै प्रश्न गरे । 

नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले जनतालाई अँध्यारोमा राखेर व्यापारीलाई डेढिकेटेट र ट्रङ्क लाईन दिइएको तर उनीहरुले अरबौं बक्यौता नतिरेको बताए । सोबारे संसद्को अघिल्लो कार्यकालमा लेखा समितिले डा.मिनेन्द्र रिजाल संयोजक रहेको उपसमितिले १० अर्ब बक्यौता तिर्नुपर्ने प्रतिवेदन दिएको थियो र त्यो प्रतिवेदन अख्तियारमा पठाएपनि मुद्दा प्रक्रिया अझै अघि नबढेको प्रति गुनासो व्यक्त गरे । 

उनले पशुपति क्षेत्र विकास कोषको ५३५ रोपनी जग्गा मध्ये  ३१ रोपनी जग्गा कब्जामा रहेको प्रति ध्यानाकर्षण गराए । प्राइभेट कम्पनीलाई सरकारी जग्गामा हेलिप्याड बनाउन दिने प्रावधान छैन तर कानुन विपरीत दिने गरिएका प्रति पनि उनले अख्तियारको ध्यानाकर्षण गराए । 

माओवादी केन्द्रका सांसद जनार्दन शर्माले भ्रष्टाचार रोक्न आम जनताको चेतनास्तर बढाउनुपर्नेमा जोड दिए । अख्तियारले आफ्नो संयन्त्रमाथि पनि आँखा लगाइरहनुपर्नेमा जोड दिँदै उनले शक्ति समूहबाट तर्सिएर मुद्दा प्रक्रिया अगाडि नबढाउने समस्याप्रति ध्यानाकर्षण गराए । 

सांसदहरुको भनाइपछि प्रमुख आयुक्त राईले अख्तियारले हाल गरिरहेका कामहरु तथा समस्याहरुका बारेमा व्याख्या गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप