सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मदारबाबा मेलाबाट फर्कने क्रममा एक जनाको मृत्यु

शनिबार, १९ फागुन २०८०, २२ : ३४
शनिबार, १९ फागुन २०८०

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जारी मदारबाबा मेला गएर फर्कँदै गरेका एक भारतीय नागरिकको मृत्यु भएको छ । विनय त्रिवेणी गाउँपालिका–६ मा रहेको मदारथान पुगेर फर्कँदै गरेका भारत उत्तर प्रदेशका ३८ वर्षीय पङ्कजकुमार कुशहवा खैरेनी जङ्गलमा अचेत भई ढलेकामा उपचारका क्रममा आज साँझ मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार मदारबाबा पूजा गरी फर्कने क्रममा भिरबाट लडेका कुशहवालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा लगिएको थियो । त्यहाँ उपचारका क्रमम उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

यही फागुन १७ गतेदेखि सुरु भएको मेला २७ गतेसम्म सञ्चालन हुने छ । हिन्दू र मुस्लिम समुदायको आस्थाको केन्द्रको रूपमा रहेको मदारथान मेलामा भक्तजनको घुइँचो लागेको छ ।

बाक्लो भिडका कारण मदारथानसम्म जान उकालो पहाड चढ्नुपर्छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को सुस्ता महलबारीबाट बाबाको मुख्य मजारसम्म पुग्न नौ किलोमिटर पैदल हिँड्नुपर्छ । यस वर्ष करिब १० लाख भक्तजन मेलामा आउने कुतबुल मदार बगाह दरगाह कमिटीले जनाएको छ । 

मदारबाबा मुस्लिम समुदायका गुरु रहे पनि सबैका प्रतिष्ठानको रूपमा रहेको धार्मिक विश्वास छ । मेलामा भारत र नेपालका लाखाँै हिन्दूहरूले वर्षौँदेखि पूजा गर्दै आएका छन् । त्यसैले यसलाई हिन्दू र मुस्लिमको साझा आस्थाको केन्द्रको रूपमा लिने गरिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप