बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’ मै बुेहुला–बेहुलीको जन्ममिति अनिवार्य
त्रिवेणी । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ । वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको छ ।
आठबीसकोट–३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्यरूपमा बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको जानकारी दिए । उनले वडामा बालविवाहसँगै मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न पहल थालिएको बताए । विवाहका अवसरमा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग हुने भएकाले वडाले विवाह कार्डमै मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने/नगराउने प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था लागू गरेको उनले बताए ।
वडामा यस वर्ष १० जोडीले बालविवाह गरेको तथ्याङ्क रहेको छ । यसवर्ष उमेर नपुगेर विवाह गर्न लागेका एक जोडीको विवाहसमेत वडा कार्यालयले रोकेको जनाएको छ । सामाजिक तथा आर्थिकरूपमा पनि बालविवाहले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले वडामा बालपिववाह र मदिराजन्य पदार्थमा कडाइ गरिएको वडाध्यक्ष विकको भनाइ थियो ।
“विवाह कार्डमा जोडीको सही जन्ममिति उल्लेख गरे/नगरेको थाहा पाउन वडा कार्यालयमा जन्मदर्तालगायत अन्य विवरणको अभिलेख हुने भएकाले सजिलो छ । वडाभन्दा बाहिरबाट विवाह गर्नेको हकमा सम्बन्धित वडा कार्यालयसम्म समन्वय गर्नेगरी लागेका छौँ । बालविवाह रोक्न समुदायको पनि राम्रो साथ मिलेको छ”, वडाध्यक्ष विकले भने । वडाको नियम उल्लङ्घन गरेमा कानुनबमोजिम कारबाही गरिने समेत वडा कार्यालय जनाएको छ ।
मदिरा सेवनमा निषेध
सोही वडामा विगत पाँच वर्षदेखि मदिरा तथा सुर्तीजन्य पदार्थ पनि निषेध गरिएको छ । विंस २०७५ मङ्सिर १५ गतेदेखि वडामा मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाएको वडाध्यक्ष विकले जानकारी दिए । उनका अनुसार हाल वडाभित्र मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरण र सेवन हुन छाडेको छ । वडाले मदिरा निषेध गरेपछि वडामा मदिरा सेवन गर्ने पाँचजना र बिक्री वितरण गर्ने छ व्यक्तिलाई वडाले कारबाहीसमेत गरेको उनले बताए ।
वडाले मदिरा सेवन गरेका पाँच जनालाई रु पाँच हजारका दरले जरिवाना गराएको र मदिरा बिक्रीवितरण गर्ने एक जनालाई रु २० हजार जरिवाना गराएको छ । वडाभन्दा बाहिर गएर मदिरा सेवन गर्ने व्यक्तिलाई पनि सूचना प्राप्त भएसम्म मदिरा सेवन नर्गन वडाले सेचत गराउँदै आएको छ । वडालाई विकास निर्माणलगायत सामाजिक, आर्थिक तथा सांस्कृतिक हिसाबले नमूना बनाउन वडा कार्यालय लागिरहेको वडा कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा शाहले निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने
-
राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने
-
कुन देशमा कति बजे छ विजयादशमीको साइत ?
-
यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा
-
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुई दिनपछि उद्धार
-
चेन्नईनजिक यात्रुवाहक रेल मालगाडीसँग ठोक्कियो