आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सोचेजस्तो छैन अमेरिका

आइतबार, २० फागुन २०८०, १५ : ४९
आइतबार, २० फागुन २०८०

निश्चय नै विश्वमा अमेरिका सबभन्दा धनी र विकसित देश हो । त्यसैले अमेरिका कस्तो होला भन्ने जिज्ञासा सबैमा हुन सक्छ । विश्वका सबै मुलुकमा कुनै न कुनै किसिमले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अमेरिकाले आफ्नो प्रभाव पारिआएकै छ । मानव अधिकारको विषय होस्, प्रजातन्त्रको विषय होस्, विकास निर्माणको विषय होस् वा व्यापारको— अमेरिकाको चासो रहेकै हुन्छ । यसरी जुनसुकै मुलुकमा अमेरिकाको कुनै न कुनै प्रभाव पर्ने हुँदा कसैले पनि अमेरिकालाई चिढाउन सक्दा रहेनछन् ।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने केही समयअघि एमसीसीका बारेमा तीव्र आलोचना र समर्थनमा बहस चलेको थियो । अहिले पनि विभिन्न दल, समुदाय र व्यक्तिबिच फरक–फरक धारणा आइरहेकै छन् । अमेरिकी सरकारले नेपाललाई करिब ६० अर्ब रुपैयाँ सडक, विद्युत्जस्ता पूर्वाधारका विकासका लागि अनुदान दिएको हो । अनुदान भनेको यस्तो रकम हो, जसको साँवा–ब्याज फिर्ता गर्नुपर्दैन । यति धेरै रकम सित्तैँमा प्राप्त हुँदा पनि स्विकार्ने वा नस्विकार्ने विषयमा राजनीतिक दलहरूमा चर्को बहस चल्यो । एकथरीले सित्तैमा पाउने यति ठुलो रकम किन नलिने भनेका थिए भने अर्काथरीले यसबाट नेपालले ठूलो क्षति बेहोर्नुपर्छ भनेका थिए । कतिपयले नेपालको सार्वभौमिकतामा समेत प्रश्न निकालेका थिए । यसरी बहस हुनुलाई राम्रै मानिन्छ किनभने अमेरिकी सरकारले राखेका सर्त राष्ट्रिय हित अनुकूल नभएका स्वरहरू प्रशस्तै थिए । ती सर्त पालना नगरेका अवस्थामा नेपालले ६० अर्बको अनुदान पाउन सक्ने अवस्था हुँदैनथ्यो ।

कसैले कसैलाई केही दिन्छ भने उसले आफ्नो हात माथि पारेकै हुन्छ । अर्थात् दिनेले आफ्नो स्वार्थ लादेकै हुन्छ । अहिले धेरै मानिसको बुझाइ यही भएको पाइन्छ, यो केही हदसम्म यथार्थ पनि हो । यहाँ मैले जोड्न खोजेको विषय भनेको अमेरिका धनी र विकसित देश भए पनि अरुलाई गर्ने व्यवहार र हेर्ने दृष्टिकोणमा निस्वार्थता देखिँदैन । अमेरिकाभित्र रहेका विदेशी नागरिकलाई हेर्ने दृष्टिकोणमै फरक भएको पाइन्छ र केही न केही मात्रामा उसको स्वार्थ लुकेकै हुन्छ । त्यसैले यस्ता स्वार्थसँग जोडिएका मुुद्दामा आम चासो आउनुलाई राम्रै रूपमा ग्रहण गर्नुपर्छ ।

रोजगारीका बारेमा पनि त्यस्तै फरक हुँदो रहेछ । छिमेकी देश मेक्सिको लगायत अरु देशबाट यहाँ धेरै मानिसको प्रवाह हुँदो रहेछ । ती देशबाट आउने अधिकांश मानिस निम्न कोटिको काममा आबद्ध हुँदा रहेछन् । सानोतिनो भए पनि काम पाउने र त्यसबाट आउने आम्दानीले गुजारा चलाउन सजिलो हुनाले बाङ्गोटिङ्गो बाटो र जोखिम मोलेर भए पनि मानिसहरू अमेरिका प्रवेश गरेकै हुँदा रहेछन् । यो उनीहरूको आफ्नै बाध्यता पनि हुन सक्छ । अन्य कतिपय गरिब मुलुकहरूबाट मानिसहरूको ओइरो लाग्ने भएकाले अमेरिकाका लागि सस्तोमा श्रमशक्ति उपलब्ध हुन सक्दो रहेछ । अमेरिकाका लागि धनी बन्ने एउटा यो बाटो पनि रहेछ ।

अमेरिकाले गरेको विज्ञान र प्रविधिको अत्यधिक विकासले गर्दा सबैका लागि सपनाको मुलुक बन्न पुगेको छ । यो देश सबैका लागि कुतूहल बनेको पनि छ । जसरी भए पनि धेरै मानिस अमेरिका पुग्नै चाहेका हुन्छन्, सपनाको देश हेर्न । सोचे जस्तो भने छैन अमेरिका । मेसिनले नोट निकाल्ने जस्तो गरी नोट जम्मा गर्न सकिँदैन यहाँ । रुखबाट फल टिपेजस्तो गरी टिप्न पनि सकिँदैन । अमेरिका मात्र होइन, जहाँ गए पनि कडा परिश्रम गर्नैपर्छ, तर परिश्रम गरेर कमाउँछु भन्दैमा काम सजिलैसँग कहाँ पाइन्छ र ? काम पाइहाले पनि तपाईंको योग्यता र परिश्रम अनुसारको पारिश्रमिक पाउन सक्नुहुन्न । पाइहाले पनि करिब ४० प्रतिशतको हाराहारीमा कर बुझाउनैपर्दछ तपाईंले ।

प्रमाणपत्र नभए पनि कसैले कुनै क्षेत्रको सीप सिकेको छ भने उसले रोजगारी पाउन सक्छ । त्यस कारण अहिले कतिपय उच्च शिक्षाप्राप्त व्यक्तिले व्यावहारिक ज्ञान सिक्दा रहेछन्, जुन ज्ञानले उनीहरूलाई रोजगारी दिन सक्छ ।

यहाँ तपाईंले समाज पाउनुहुन्न । यहाँ त राज्यले विशेष सुविधा तथा हेरचाह गर्ने भएकाले होला सामाजिक जीवन त्यति फस्टाएको देखिँदैन र स्वभावैले मानिस व्यक्तिवादी हुँदा रहेछन् । खासै अरुबाट आस र सहयोगको वातावरण विकास भएको हुँदो रहेनछ । त्यसमा पनि विदेशीसँग सामीप्यता कसरी हुन्थ्यो र ? आफूले कमायो आफ्नै लागि खर्च गर्‍यो । अरुका बारेमा चासो र चिन्ता लिने कुरै हुँदो रहेनछ । आफ्नै सन्तान पनि १८ वर्ष पुगेपछि घर छाडेर जाने भएकाले पारिवारिक माया–ममता हराउँदै जाँदो रहेछ । संयुक्त परिवारमा बसेर जीवन निर्वाह गर्ने कुरा उनीहरूका लागि एकदमै नौलो लाग्दो रहेछ । यो एक किसिमको स्वावलम्बीपन भए पनि हामी नेपालीका लागि त्यति राम्रो लाग्दो रहेनछ । जे कुरा पनि आफूमा मात्र सीमित हुने र अरुको सहयोग नहुँदा विदेशीहरू अमेरिकी समाजमा घुलमिल हुन कठिन हुने रहेछ । जुन देशका मानिस जसरी अभ्यस्त भएका हुन्छन्, अरु मानिस त्यसरी अभ्यस्त हुन नसक्नु स्वाभाविकै हो, यद्यपि अमेरिकीहरू अरूप्रति सद्भाव नै राख्दा रहेछन् । बाटोमा हिँड्दा वा कतै भेट हुँदा मुस्कुराउँदै हाई–हेलो भन्दा भने अर्कै वातावरणको अनुभव हुँदो रहेछ । नौलो मानिससँग उनीहरूले बोलीवचनबाट गर्ने शिष्टताको सराहना गर्नैपर्छ । यतिले पनि मानिसको मनलाई अर्कै बनाउन सक्दछ । को, के, किन, कहाँ, कसरी भन्नेजस्ता खोजिनिती गर्ने र पारिवारिक विषयमा भने उनीहरूले वास्ता गर्दा रहेनछन् । यी प्रश्नवाचक र निजी कुरा नकोट्ट्याउनुलाई राम्रै मान्नुपर्छ, किनभने यस्ता विषय कुनै पनि व्यक्तिका निजी हुन सक्छन् ।

अमेरिका सपनाको देश हो, त्यहाँ जे पनि सहज हुन्छ भन्न सकिँदैन । तपाईंसँग पैसा छ भने सबै चिज सहज बन्ने वातावरण जुर्न सक्छ । अन्यथा बर्मा गए पनि कर्म सँगै, नेपाल गए पनि कपाल सँगै हुन्छ नै । तपाईं क्षमतावान् भए पनि तपाईंको क्षमताले त्यहाँ काम नगर्न सक्छ । विद्यावारिधि गरेका व्यक्तिले पनि त्यहाँ सामान्य काम नपाउन सक्छन् । प्रमाणपत्र हुँदैमा सक्षम बन्न सकिँदो रहेनछ । प्रमाणपत्र नभए पनि कसैले कुनै क्षेत्रको सीप सिकेको छ भने उसले रोजगारी पाउन सक्छ । त्यस कारण अहिले कतिपय उच्च शिक्षाप्राप्त व्यक्तिले व्यावहारिक ज्ञान सिक्दा रहेछन्, जुन ज्ञानले उनीहरूलाई रोजगारी दिन सक्छ ।

ठूलो परिश्रम, लामो समय र लगानी गरेर आर्जन गरेको प्रमाणपत्रले काम नगरेपछि जीवन चलाउन कतिपय मानिस तल्लो तहको काममा लागेका हुँदा रहेछन् । त्यसकारण त्यहाँ ट्याक्सी र उभर चलाउनु; रेस्टुरेन्ट, होटल, ग्यास स्टेसन, वालमार्टमा काम गर्नु सामान्य देखिन्छ । सामान्य विदेशी नागरिकले बलको काम गर्दा रहेछन्, किनभने यस्ता काम अमेरिकीले सकभर गर्दा रहेनछन् । सडकतिर हिँडडुल गर्दा सरसफाइ, निर्माण, मर्मतजस्ता काममा विदेशी नागरिकै देखिन्छन् । कठिन र जोखिमको काम कम मूल्यमा गराउन पाउँदा अमेरिकालाई फाइदा हुने भइहाल्यो । यस कारण  विदेशी नागरिकको आप्रवाहमा अमेरिकी नीति अलि खुकुलो भएको हुन सक्छ ।

तपाईंले बढी समय काम गर्छु र बढी आम्दानी गर्छु भन्न पनि त्यति सहज छैन किनभने कानुनले तोकेको अवधिभन्दा बढी समय काम गर्न पाइँदैन । अन्यत्र समय मिलाएर गर्ने अर्कै कुरो हो । अर्को कुरा, तपाईंसँग सामाजिक सुरक्षा नम्बर छैन भने काम गर्नै पाउनुहुन्न । यो नम्बर पाउनका लागि तपाईं कानुनले चिनेको व्यक्ति हुनुपर्छ । समस्या के हुँदो रहेछ भने बाहिरबाट आउने अधिकांश मानिस विद्यार्थी भिसामार्फत आउने भएकाले वर्किङ अनुमति हुँदो रहेनछ । उनीहरूलाई अध्ययन गर्ने अनुमति मात्र दिइएको हुन्छ । अध्ययन सकेकाहरूले कि अवैधानिक रूपमा बस्नुपर्‍यो कि त आफ्नै देश फर्कनुपर्‍यो । एउटा स्मरणलायक कुरो के रहेछ भने कोही व्यक्ति अवैधानिक रूपमा बसेको भए पनि उसले कुनै गैरकानुनी र आपराधिक काम गरेको छैन भने भिसा छैन भनेर गलहत्याएर फिर्ता पठाउने काम हुँदो रहेनछ । गैरकानुनी रूपमा बसेकाहरूले लुकिछिपी काम गर्ने हुनाले कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता हुँदो रहेछ र राज्यलाई कर पनि तिर्दा रहेनछन् । यो कुरा सरकारलाई जानकारी भयो भने कानुनको फन्दामा पर्नैपर्छ । 

हामी धेरैले अमेरिकालाई सपनाको देश भनी आएका छौँ, तर विपनामा अमेरिका बस्नका लागि त्यति सहज छैन । 

(लेखक नेपाल सरकारका पूर्वउपसचिव हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णमणि पराजुली
कृष्णमणि पराजुली
लेखकबाट थप